धान रोप्ने बेलामा रासायनिक मलको अभाव

दमक । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि  धानखेतीका लागि पनि मल अभाव भएको हो ।

धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ ।  रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान ख्याम आचार्यले बताउनुभयो । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ ।

कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जनाएका छन् । 

तर सहकारी संस्थाले मागको तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताउनुभयो । उनले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जनाएका छन् । 
–––

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर