• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पूर्व सभामुखकाे सुझावः 'ग्रमिण महिलाका घरेलु उत्पादन स्वदेशमै अनिवार्य उपभोग गर्ने व्यवस्था गरौं' (भिडियाे)

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले संघीय संसदको संयुक्त बैठक समक्ष पेश गर्नुभएको नीति तथा कार्यक्रम माथि केही दिन यता प्रतिनिधि सभामा लगातार छलफल चलिरहेको छ । 

सैद्धान्तिक दृष्टिकोणबाट भन्दा संसद भनेको आम नागरिकहरुको अभिमत प्रकट गर्ने थलो हो । संसदमा नागरिकको सार्वभौम सत्ताको उच्चतम प्रयोग आफ्ना प्रतिनिधि मार्फत अभिव्यक्त हुने गर्दछ । तर केही दिन यता संसदमा भईरहेको नीति तथा कार्यक्रमा माथिको छलफलको रुझान हेर्दा एकातिर कुण्ठा र आक्रोष अभिव्यक्त भईरहेको छ भने अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रबृति देखिएको छ । 

कतिपय अवस्थामा माननीय सदस्यहरुले मेहनतपूर्वक दिनुभएको सकारात्मक सुझावसमेत नसमेटिने परम्परागत सोच हावी हुने गरेको छ । यसले गर्दा न त साँचो अर्थमा सार्वभौम सत्ताको प्रयोग भएको छ न त विषय केन्द्रीत छलफल अघि बढ्ने गरेको छ । त्यसैले म यो सम्मानीत सदनलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आफ्ना सम्माननीय सभामुखज्यू मार्फत केही सुझाव अघि सार्न चाहान्छु । 

सरकारले यो सम्मानीत सदन समक्ष अघि सारेको यो नीति कार्यक्रम आधारभूत रुपम सही विषय समेटेको देखिन्छ । कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्ने, पछिल्लो समयमा देखा परेको शोधनान्तर घाटालाई न्यूनिकरण गर्ने र मुल्य बृद्धि नियान्त्रण गर्ने कार्यलाई कृषि, उद्योग र ऊर्जा क्षेत्रमा उत्पादन बृद्धि गरी पर्यटन प्रवर्दन मार्फत समाधान गर्ने उदेश्य नीति तथा कार्यक्रममा समेटिएको छ ।  

 
सरकारको नीति तथा कार्यक्रममाथि पूर्व सभामुख ओनसरी घर्तीले राखेको टिप्पणी

सरकारको नीति तथा कार्यक्रममाथि पूर्व सभामुख ओनसरी घर्तीले राखेको टिप्पणी

Posted by SamacharDainik.com on Friday, May 27, 2022

नीति तथा कार्यक्रममा गरिबी निवारण र रोजगारीको बृद्धिका लागि ठोष कार्यक्रहरु समेटिनु, शिक्षा तथा स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा थप नयाँ कार्यक्रमहरु घोषणा हुनु सकारात्मक पक्ष हुन् । कृषि क्षेत्रमा राज्यले धेरै लगानी गरेको भएतापनि त्यसबाट अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन । ३० वर्षमा कूल ग्राहास्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घट्दो छ । सरकारको आर्थिक सर्वेक्षण अनुसार सन् १९९०/९१ मा कृषि क्षेत्रको जिडीपीमा योगदान ४७.६८ प्रतिशत थियो । 

सन् २०१५/१६ मा त्यो घटेर ३१.६१ प्रतिशत रहयो । गत आर्थिक वर्षमा कृषि क्षेत्रको जिडीपीमा योगदान २५.०८ प्रतिशत थियो । यसले के देखाउँछ भने, कृषि क्षेत्रमा राज्यका तर्फबाट गरिएको लगानी र प्राप्त भएको प्रतिफलका बीचमा ठूलो खाडल रहेको छ । 

यो अवस्थाको सुधारका लागि कृषिको विकासलाई नै प्रस्थान बिन्दु बनाउनु पर्ने हुन्छ । प्रस्तुत नीति तथा कार्यक्रमले पनि यता तर्फ संकेत गरेको छ । कतिपय अनुसन्धनहरुले देखाएको रिपोर्ट अनुसार देशको करिब ३० लाख हेक्टर जमिनमा खेती भएको मध्ये अहिले ३० प्रतिशत जमिन बाँझो वा नाम मात्रैको खेती भएको अनुमान छ । 

हामीसँग खेतीयोग्य जमिनको मात्रा घट्दै गईरहेको छ । कृषि श्रमिकहरुको संख्या र कृषिको उत्पादनसमेत घटिरहेको छ । यस सन्दर्भमा उत्पादनको मुख्य श्रोत कृषि क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने हाम्रो अर्थतन्त्रको मुख्य चुनौती हो । 

कृषि क्षेत्रको व्यवशायिकिकरणबाट कृषि उत्पादनमा बृद्धि, कृषकहरुको आम्दानी बृद्धि र ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिन्छ । यस क्षेत्रको उत्पादकत्व र उत्पादन  बढाउन नीति तथा कार्यक्रमले केही दिशानिर्देश गरेपनि ठोष कार्ययोजनाको जरुरी देखिएको छ । 

कृषि क्षेत्रमा यस अघि प्रयोग गरिएका असफल अभ्यासहरुलाई खारेज गरेर समाजवाद उन्मुख कार्यक्रम लागू गर्नु पर्दछ । यस सन्दर्भमा कृषि उत्पादनमा समूहिकतामा आधारित कृषि उत्पादन इकाईहरु निर्माण, सामूहिक खेती प्रणाली लागु गर्न सकियो भने यसबाट दिर्घकालिन र बहुआयामिक लाभ हाँसिल गर्न सकिन्छ । देशलाई औद्योगिकिकरण गर्न नसकेकाले बेरोजगारी समस्या तीब्र रुपमा बढिरहेको छ । विदेशमा युवा पलायन, व्यापार घाटा र त्यसले समाजमा पारेको नकारात्मक प्रभाव औद्योगिकिकरण हुन नसक्नुका नकारात्मक परिणाम हुन् ।

देशमा औद्योगिकिकरण गर्ने कार्यको ठोष योजना, नीति तथा कार्यक्रम र बजेटले समेट्नु पर्ने आवस्यकता छ । साना तथा घरेलु उद्योग, मझौला तथा कृषि प्रशोधन उद्योग र निर्यातजन्य उद्योगहरुको बर्गिकरण गरी त्यस्ता उद्योगको विस्तारमा ठोष पहलकदमी लिन आवस्यक छ । जिडीपीमा औद्योगिक क्षेत्रको योगदान पनि पछिल्लो तीन दशकमा बढ्न सकेको छैन ।

हाम्रो देशको जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाको रहेको छ । त्यसमा पनि पुरुष जनसंख्याको ठूलो अंश वैदेशिक रोजगारीमा रहेकाले अधिकाँश घरपरिवार महिलाले धानिरहेका छन् । महिलाले पनि धेरै क्षेत्रमा पुरुष समान र कुनै क्षेत्रमा पुरुषले भन्दा अझ राम्रो योगदान गर्नसक्ने तथ्य बारम्बार प्रमाणित भएता पनि महिलाप्रतिको विभेद अझै कायमै छ । 

जिडीपीमा समेत गृहिणी महिलाहरुको योगदानको गणना गर्न सुरु गरिएको छैन । विश्वका थुप्रै विकसित देशहरुमा गृहिणी महिलाहरुको योगदानको गणना गरिएको छ । यस विषयमा सरकारले विषेश ध्यान दिन जरुरी छ । 

लैंगिक समानता कायम गर्ने, महिला हिंसा अन्त्य गर्ने र महिलाहरुलाई अवसरमा समान पहुँच प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्दछ ।  

महिला उद्यामशिलता विकास गर्न लैङ्गीक मैत्री बजेट बनाउँदै महिलाहरुलाई विना धितो सहुलियत कर्जामा ऋण प्रवाह गर्नु पर्दछ । तालिम देखि तालिमसम्मको परम्पराको अन्त्य गर्दै तालिम सकेका महिलाहरुलाई बिऊ पुंजी उपलव्ध गराई व्यवसायी बनाउन जोड दिनुपर्दछ ।

कृषि र घरेलु उद्यामशिलतामा संलग्न महिलाको व्यवसायको निःशुल्क वीमा गरिनुपर्दछ । महिला उद्यमीद्धारा उत्पादिन समानको बजारीकरणका लागि विषेश संयन्त्र निर्माण गर्न आवश्यक छ । 

अहिले पनि ग्रामिण क्षेत्रमा रहेका महिलाहरुले लाखौंका संख्यामा हस्तकलाका सामाग्री उत्पादन गरिरहेका छन् । ती सामाग्रीहरुलाई बजारीकरण गर्न सहयोग गर्दै राज्यका निकायमा अनिवार्य प्रयोग गर्ने नीति अवलम्बन गर्नुपर्दछ । 

देशमा पछिल्लो समय सार्वजनिक भएका महिला हिंसाका घटनाहरुलाई मात्रै आधार मान्ने हो भने पनि छोरीहरु सुरक्षित हुने वातावरण देखिँदैन । छोरीहरुको शारीरिक तथा मानसिक सवलीकरण गरी उनीहरुले समानताको जीवन निर्वाह गर्न राज्यले उचित नीति तथा कार्यक्रम बनाउनु आवस्यक छ ।

सन् १९९३ देखि २०२० सम्मको २७ वर्षमा हाम्रो देशको जिडीपीको औशत बृद्धिदर केवल ४.०३ प्रतिशत मात्रै रहेको देखिन्छ । यो अवधिमा सवैभन्दा धेरै आर्थिक बृद्धिदर भएको वर्ष ८.६ प्रतिशतले बृद्धि भएको देखिन्छ भने सवैभन्दा कम अघिल्लो सरकारको पालमा माइनस २.१ प्रतिशत रहेको देखिन्छ । 

हाम्रो अर्थतन्त्रको तिब्र विकासका लागि आर्थिक बृद्धिदर बढाउनु पर्ने, उत्पादनका क्षेत्रहरुको विस्तारमा जोड दिनुपर्ने, रोजगारी सृजना गर्नुपर्ने, व्यापार घाटा न्यूनिकरण गर्नुपर्ने र समन्यायीक आर्थिक विकास हाँसिल गर्ने चुनौति रहेका छन् । सामान्य सुधारले अर्थतन्त्रमा अपेक्षित नतिजा ल्याउन कठिन छ । 

तसर्थ उपरोक्त सुझावहरुलाई मध्यनजर गरी सरकारले नीति कार्यक्रममा आवस्यक सुधार र परिमार्जन गर्दै बजेट बनाउनेछ भन्ने विश्वास लिएको छु । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सत्ता पक्ष र विपक्ष दुवैले हातेमालो गरेर अघि बढ्ने संस्कारको विकास गरौं । 
‘देश हाम्रै पालामा बन्छ र बनाउन सकिन्छ ।’
                                       
(सरकारको नीति तथा कार्यक्रममाथि पूर्व सभामुख ओनसरी घर्तीले राखेको टिप्पणीको सम्बोधनको अंश ः)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर