• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प–प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन्।

गणतन्त्र दिवसमा आज शुभकामना दिँदै प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश प्रवृतिलाई पनि आफूहरूले संर्घषकै बलमा पराजित गरेको उल्लेख गरेका छन्।

‘देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो,’ उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएका हुन्।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ सम्पन्न स्थानीय निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पनि बताए।

‘निर्वाचनमा जित–हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं। गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेका छन्।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर