• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विप्लव नेतृत्वको नेकपामा पहिरो, चारजना प्रभावशाली नेताले गरे पार्टी परित्यागको घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुले पार्टी परित्यागको घोषण गरेका छन् । सुदुरपश्चिमका प्रभावशाली नेताहरु ओम प्रकाश पुन ‘निर्माण’, शंकर बहादुर खड्का ‘सिकन्दर’, दलबहादुर धामी ‘अग्नी’ रमेश परियार ‘जीवन’ले एक विज्ञप्ति सार्वजानीक गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरुले एक विज्ञप्ति सार्वजानीक गर्दै ‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल बिभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र धुर्विकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरुप हामीले आजकै मिति देखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ भनेका छन् । 

विज्ञप्तिमा टुट, फुट र बिभाजनमा नभएर एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणमा लाग्नकालागि सबैलाई अनुरोध समेत गरेका छन् । ‘टुट, फुट र बिभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि सबै इमानदार कम्युनिस्ट क्रान्तिकारीहरुलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमरेड किरण देखि कमरेड विप्लवका नेतृत्वमा पार्टी निर्माण तथा पुननिर्माणमा संगसंगै यहाँसम्म आएको कुरा सर्वविदितै रहेको भन्दै पार्टीको सहि निति र निर्णयमा पार्टीले दिएको जिम्मेवारीमा कटिबद्ध भएर नै आएको बताउँदै उनीहरुले अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनितिलाई मध्यनजर गरि अबको राजनीतिक धार र बाटो बदल्ने निर्णयमा पुगेको बताएका छन् ।

यसरी पार्टी परित्याग गर्ने ओम प्रकाश पुन पूर्व पालिट ब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज, हाल नवौं महाधिवेशन आयोजक कमिटी सदस्य , किसान र सुकुम्बासी संगठनको अध्यक्ष रहेका छन् भने शंकर बहादुर खड्का ‘सिकन्दर’ संविधानसभा सभासद, पूर्व केन्द्रीय सदस्य तथा सेती व्युरो इन्चार्ज र हाल पार्टीको केन्द्रीय सल्लाहकार सदस्य  रहेका छन् ।

यसै गरी दलबहादुर धामी ‘अग्नी’ नवा महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज र रमेश परियार ‘जीवन’ पुर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज हाल विशेष कमिटी सदस्य रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर