• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

परिवर्तन गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजानिक

रोल्पा । जिल्लाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले गाउँपालिकाको बहुउद्देश्यीय सभा हलमा प्रस्तावित विषयगत नीति तथा कार्यक्रम पस्तुत गरेका हुन् । 

यस्ता छन् अध्यक्ष बुढाले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरु :

पूर्वाधार विकास तर्फ – सडक आवास तथा भवन निर्माण गर्ने र परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर वरिपरिको सडक कालोपत्रे तथा वृक्षरोपण सहितको वातावरणमैत्री सडक निर्माणका लागि डि.पी.आर गर्ने, जनयुद्धको क्रममा शाहदत प्राप्त गर्ने सम्पूर्ण शहिदहरुको धामाचौरमा स्मारक निर्माण गर्ने । 

शिक्षा तर्फ – विद्यालयहरुको नियमित अनुगमन र नियमलाई थप प्रभावकारी बनाई ‘स्कुल – स्कुलमा परिवर्तन’ भन्ने मान्यतालाई स्थापित गर्ने, ‘हाम्रा विद्यार्थी,हाम्रा गौरव’ भन्ने भनाइलाई अवलम्बन गर्दै विद्यालयमा विद्यार्थीको सिकाई उपलब्धि वृद्धि गर्न प्रोत्साहन गर्ने । 

युवा तथा खेलकुद तर्फ – गाउँपालिका स्तरीय धामाचौर खेलकुद मैदानलाई थप व्यवस्थित गर्ने, ‘एक वडा एक खेलकुद’ कार्यक्रमको नीति अघि सार्ने र युवा आकर्षण तथा सशक्तीकरण सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्ने । स्वास्थ्य सेवा तर्फ स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्न जनस्तरमा आवश्यक कार्यक्रम संचालन गर्ने, ‘निरोगी र स्वस्थ परिवर्तन गाउँपालिका’ अभियान कार्यक्रम संचालन गर्ने ।

कला तथा संस्कृति तर्फ – कला, साहित्य, भाषा, संस्कृतिको संरक्षण गर्ने, धार्मिक, सांस्कृतिक सहिष्णुतालाई आत्मसात गर्ने । 

सामाजिक सुरक्षा – लैगिंक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण तर्फ ‘हाम्रा बालबालिका, हाम्रो भविष्य’ भन्ने मान्यता अनुसार बालमैत्री स्थानीय वडा निर्माण गर्ने, महिला विरुद्ध हुने सबै किसिमका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गर्ने । 

न्यायीक समिति तथा मेलमिलाप तर्फ – न्यायीक समिति र मेलमिलाप कर्ताको क्षमता विकासमा जोड दिने र वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरि स्थानीय जनतालाई कानुनी पहुँचमा सरलता प्रदान गर्ने ।

कृषि तथा पशु विकास तर्फ – ‘एक पालिका–एक विषेश उत्पादन’ भन्ने कार्यक्रम अन्तर्गत ओखर खेतीका लागि विषेश व्यवस्था गर्ने र पशु विकास र किसानका लागि घाँस खेतीलाई विषेश प्राथमिकता दिईने । 

पर्यटन तर्फ – परिवर्तन गाउँपालिकामा पर्यटकीय पूर्वाधारहरु विकास गर्ने र गाउँपालिका क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा जोड दिईने।

खानेपानी तथा सिँचाइ तर्फ – गाउँपालिका बासीलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न एक घर एक धाराको नीति अवलम्बन गर्ने र सिँचाइ प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्ने । 

सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ – सहकारी संघ, संस्थालाई घरेलु तथा साना उद्यमको प्रवर्द्धन, कृषि उत्पादन, भण्डारण तथा प्रशोधन एवं गरिबी निवारण सम्बन्धि कार्यक्रममा प्रोत्साहन गर्ने र सहकारी क्षेत्रको प्रवर्द्धन गरि स्थानीय उत्पादन बढाउन जोड दिने । 

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ – न्युनतम रोजगार, नागरिकको अधिकार, स्थानीय सरकार रोजगारीको आधार, समान काम समान ज्याला, ‘सीप सिकौं रोजगार बनौं’ भन्ने मुल भनाइलाई आत्मसात गर्दै आन्तरिक रोजगार प्रवर्द्धन कार्यका लागि श्रमको सम्मान गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रूपमा संचालन गर्न गाउँपालिकाको तर्फबाट समपूरक कोषको व्यवस्था गर्ने । 

राजश्व प्रशासन तर्फ – राजश्व तथा कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर संकलन हुने वातावरण निर्माण गर्ने र आन्तरिक राजश्वको अवस्था सुधारका लागि आ।व। २०७९/०८० मा राजश्व सुधार योजना निर्माण गर्ने ।

सुशासन तथा संस्थागत क्षमता विकास तर्फ –  कर्मचारी प्रशासन, जनशक्ति विकास, सुशासन र सार्वजनिक सेवा प्रवाह तर्फको ‘गाउँपालिका बासीसँग अध्यक्ष सम्वाद कार्यक्रम’ मार्फत मासिक रूपमा गाउँपालिका बासीहरुको पत्यक्ष गुनासो सुनुवाइ हुने व्यवस्था गर्ने र तालीम, अध्ययन, भ्रमण, अभिमुखिकरण, ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्ने र सफल अभ्यास बाट सिक्ने परिपाटीको विकास गर्ने । 

सूचना,प्रविधि तथा संचार तर्फ – सूचना प्रविधिमैत्री गाउँपालिका बनाउन योजनाबद्ध विकास गर्ने र गाउँपालिकाका हरेक गतिविधिलाई मिडियामा प्रकाशन, प्रशारण गर्न उल्लेखनीय भूमिका खेल्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानको व्यवस्था गर्ने ।

वन,वातावरण तथा विपद व्यवस्थापन तर्फ – हाम्रो ‘परिवर्तन राम्रो परिवर्तन’ भन्ने नारालाई अवलम्बन गरि आम गाउँपालिका बासीहरुले महशुस गर्ने गरि सार्वजनिक निजी साझेदारीमा फोहोर मैला व्यवस्थापनलाई प्रभावकारी बनाउने र विपद जोखिम न्यूनीकरण र व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समितिहरुलाई सक्रिय बनाउने रहेका छन् ।

यस्तै १० गते बजेट विनियोजनमा वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्व र वडाको चालू आर्थिक वर्षको कार्य सम्पदानलाई आधार बनाएर वडागत बजेट निर्धारण हुने अध्यक्ष बुढाले बताए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर