• २०७९ श्रावण ३१ मंगलबार
  • Tuesday, 16 August, 2022

कोदोको उत्पादन र बजारीकरणमा जोड

काठमाडौँ ।  “कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान” मूलनाराका साथ आज दोस्रो कोदो दिवस सम्पन्न भएको छ । रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि यो दिवस मनाउन थालिएको हो । यो दिवस २०२३ देखि अन्तराष्ट्रिय रुपमा मनाउने घोषणा पनि भइसकेको छ । 

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा गएर यो दोस्रो कोदो दिवस मनाएको महासंघका अध्यक्ष नवराज वस्नेतले बताए  । २०७६ सालदेखि महासंघ र अनाजले कोदोको बारेमा बहस चलाउँदै आइरहेको थियो । २०७७ सालदेखि दिवसकै रुपमा मनाउन थालिएको हो । 

छवेलीको एक किसान तथा खेतमा सम्पन्न दोस्रो कोदो दिवस कार्यक्रममा सहभागीहरुले कोदो खाद्यान्न बालीको मुख्यबाली मात्र होइन, औषधी गुणसम्पन्न तथा पोषिलोयुक्त खाद्यान्न भएकाले यसको जगेर्नाका साथै उत्पादन तथा उपभोगमा जोड दिनुपर्ने बताए । कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनु भएको समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिँदै किसानलाई उत्पादन गर्नुको साथै त्यसको उपभोगमा पनि ध्यान दिन आग्रह गरे । उनले भने, यो उत्पादन मात्र होइन, यसलाई सेवन पनि गर्नुस्, अब यसलाई लुकाएर होइन, सबैलाई देखाएर खानुस् ।’ 

खाद्यान्नमा कोदो सबभन्दा बढी पोषिलो रहेकाले यसबाट किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने बताउँदै उनले लोप हुन लागेको कोदोसलाई जोगाउन आवश्यक रहेको बताए ।। कोदोबाट थुप्रै परिकारहरु बनाउन सकिने बताउँदै उनले यसको वजारको समस्या छैन तर नेपालमा यसको उत्पादन नरहेको बताए । किसान आयोगका सदस्य एवं प्रवक्ता जिवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न हो तर यो लोसप हुने अवस्थामा पुगेको बताउनुभयो । यसलाई साँस्कृतिक खाना रुपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउनका लागि सबै पक्षबाट पहल हुनुपर्ने कुरामा जोड दिए । कोदो एउटा खाद्यान्न बाली होइन, यो एक औषधी पनि हो, यसमा सबै प्रकारको पोषणयुक्त वस्तुहरु पाउने भएकाले यसको उत्पादनमा जोड दिनुको साथै वजारीकरणमा पनि ध्यान दिनुपर्ने बताए । उनले किसानहरुलाई भन्नुभयो, तपार्ईहरु कोदो उत्पादन गर्नुस् हामी वजारको व्यवस्था गछौं ।’

महासंघका अध्यक्ष नवराज वस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदोलाई मुख्यबालीको रुपमा विकास गर्नुपर्ने बताए  । कोदो हेपहा बालीको रुपमा चिनिने भएको हुनाले त्यसलाई अब मुख्यबाली रुपमा विकास गर्दै यसलाई सबै तप्काका उपभोक्ताले उपभोग गर्नुपर्ने कुरामा उनले जोड दिनुभयो । कोदो बाली नेपालको मुख्यबाली हो भने कुरा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने कुरामा जोड दिँदै उहाँले पोषिलोको हिसाबले कोदो अन्य बाली भन्दा १० गुणा पोषिलो रहेको बताए । कार्यक्रममा कोदो विज्ञ छवी पौडेलले कोदो एउटा बाली नभएर यो औषधी हो, यसलाई नियमित सेवन गर्न सुझाव दिए । उनले यो उत्पादन गर्न निकै सजिलो छ, अन्य बाली जस्तौ गाह्रो नरहेको बताउँदै उहाँले यसको उत्पादनमा जोड दिइ बजारसम्म पहुँच पुर्याउन सुझाव दिए । कार्यक्रममा छबेली कृषक समूहकी उपाध्यक्ष दिलकुमारी लामा, महासंघका उपाध्यक्ष पञ्चकाजी महर्जन, मकवानपुर गढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, अनाजका सदस्य सुरेशकुमार यादवलगायतले कोदोको बारेमा आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सहभागी हुन गएका प्रतिनिधिहरुले बाजागाजासहित किसानको खेतमा कोदो रोपेर सो कार्यक्रम मनाएको हो । कार्यक्रममा कोदोका विभिन्न परिकार पनि सेवन गराइएएको थियो ।
जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरुको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरिएको छ । नेपालमा गत वर्ष २०७७ देखि साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन सुरु गरिएको हो । कार्यक्रममा सहभागी हुन छवेली पुग्नु भएका प्रमुख अतिथि तथा अतिथीहरुले त्यहाँका खेतमा कोदो रोपेर सो दिवस बनाएको हो । 
कोदोको महत्व 
कोदो पोष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । यो थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठूलो योगदान गर्दछ । रेसा र शरिरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनोएसिड लगायतका खाद्य पदार्थ पाईने हुनाले  मधुमेह, एनिमिया, हड्डि बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय बस्तुको रुपमा प्रयोग भएको पाईन्छ । 

यसले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउछ । जाडो याममा कोदो खानाले चिसोबाट बचाउन र सर्दि हटाउन यो उपयोगी हुन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्बेाउत्तम खाना)को रुपमा चिनिन्छ ।  नेपालका आदिवासी जनजाती समुदायहरुमा चाडपर्व तथा पुजा आजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशु बस्तुको लागि समेत यो महत्वपूर्ण आहार हो ।

भाते संस्कृतिलाई न्यूनिकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ । पौष्टिकता र औषधीयपन तथा मानव  स्वास्थमा पुर्याउने टेवाबारे ज्ञानको प्रसार गरि यसको प्रवद्र्धन गराउन सकिन्छ । शिशु खाद्य, बृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ । 

अनुसन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई बृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्राण्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ । 

सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन  र आयातले आन्तरिक उत्पादन विस्थापन गरायो । फलस्वरुप गत वर्ष सात करोड १५ लाख २७ हजार रुपियाँ बराबरको कोदो आयात भएको पाईन्छ भने आर्थिक वर्ष २०७७÷७८ मा सात करोड २२ लाख रुपियाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ । पाखो खोस्रेर दाना फाल्दा पनि उम्रेर फल्ने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक देखिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर