मन्त्रालयको निर्णय चौथो पटक उल्टाएर निजगढ फर्कदै उपसचिव कार्की

बारा । मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टाउदै उपसचिव सुमनकुमार कार्की पुनः निजगढ नगरपालिका फर्कन लागेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उनको सरुवा गरेको भए पनि उक्त निर्णय उल्टाएर कार्की निजगढ फर्कन लागेका हुन् ।

कार्कीलाई सरुवा गर्दै मन्त्रालयले उनको स्थानमा मकवानपुरस्थित थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पठाएको थियो । मन्त्रालयले सरुवा गरेपछि पुरी साउन १३ गते निजगढमा हाजिर हुँदै काम थालेका थिए । पुरीले काम थालेको तीन दिन नवित्दै मन्त्रालयले पुनः कार्कीलाई निजगढ फर्काएको हो ।

पचरौतामा सरुवा गर्ने निर्णयप्रति असन्तुष्टी जनाउदै आएका कार्कीले मन्त्रालय पुगेर सचिवस्तरीय निर्णय उल्टाएका हुन् । कार्कीले आफ्नो सरुवाको निर्णय स्थगन गर्न मन्त्रालय पुगेर राजनीतिक दवाव दिएको बुझिएको छ । सचिवस्तरीय निर्णयको पत्र नगरपालिकामा आएलगत्तै कार्की काठमाण्डौ पुगेका थिए । उनले राजनीतिक शक्ति प्रयोग गरेर सरुवाको निर्णय स्थगन गर्न लगाएको मन्त्रालय स्रोतको दाबी छ ।

‘उनी (कार्की)लाई निजगढबाट पचरौता सरुवा गरिएको थियो । तर थेग्नै नसक्ने दवाव आएपछि तत्कालका लागि स्थगन गर्न बाध्य भयौ’ मन्त्रालय स्रोतले भन्यो । कार्कीलाई अन्यत्र सरुवा गरेर पचरौता पठाउने निर्णय स्थगन गरिएपछि निजगढ आएका पुरीलाई भने मन्त्रालय तानिएको छ । मन्त्रालय स्रोतका अनुसार कार्कीलाई अन्यत्र सरुवा गर्ने निर्णय तत्काल स्थगन गर्न कर्मचारीलाई राजनीतिक दवाव बढी आएको थियो । दवावकै कारण उनको यो चौथो पटक सरुवा स्थगित भएको हो ।

झण्डै दुई वर्षदेखि निजगढमा कार्यरत कार्कीको यसअघि तीन पटकसम्म सरुवाको निर्णय स्थगन भईसकेको छ । दुईपटक सिन्धुलीको स्थानीय तह र एक पटक मन्त्रालयमा सरुवा भएका कार्कीले आफ्नो सरुवा रोक्दै आएका छन् । मन्त्रालयको निर्णयलाई पटकपटक उल्टाउन सफल कार्कीले चौथो पटक सरुवा स्थगन गर्न लगाएका हुन् । यसअघि २ पटकसम्म जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा भएका कार्कीलाई पछिल्लो पटक गत साउन ११ गते संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । यसबीचमा एकपटक कार्कीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पनि सरुवा भएको थियो ।

मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटिनु भन्दा पनि राजनीतिक शक्ति प्रयोग गरेर पटकपटक निर्णयनै उल्टाएपछि निजगढका स्थानीयसमेत अचम्मित बनेका छन् । नियमित सरुवालाई रोकेर कार्की पटकपटक निजगढ फर्कन चाहेको विषयलाई समेत स्थानीय स्तरमा चासोका साथ हेरिएको छ ।

‘उनिसंग ठुलै शक्ति रहेछ, त्यसैले प्रत्येक पटकको निर्णय रोक्दै आएका छन’, स्थानीय श्याम तामाङले भने ‘तर पटकपटक निजगढ फर्केर आउनुपर्ने कारण चै के रहेछ हामीले बुझेनौ ।’ कार्कीमा देखिएको निजगढ मोहका विषयमा स्थानीय र कर्मचारीसमेत अन्यौलमा छन् ।

मन्त्रालयको निर्णयअनुसार केही दिनअघि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका पुरीसंग परिचयात्मक कार्यक्रमसहित स्वागत गरेका कर्मचारी पुनः कार्कीनै फर्कने सूचना पाएपछि अलमल्लमा छन् । ‘छिनछिनमै कार्यालय प्रमुख फेरिनु राम्रो विषय त होईन् । तर,कर्मचारी खटनपटन गर्ने निकायले नै गरेपछि हामीले केही भन्न मिल्दैन्’ एक कर्मचारीले भने ।

नियमित र कानुनी तरिकाबाट कार्यालय प्रमुख फेर्ने मन्त्रालयको सचिवस्तरीय निर्णय उल्टिनु दुःखद रहेको जनप्रतिनिधिको भनाई छ । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले स्थानीय तहलाई अल्मल्याउने, विवाद उत्पन्न गराउने काम मन्त्रालयबाटै भएको भन्दै पुरानै निर्णय कार्यान्यवनमा ल्याउनुपर्ने बताए ।

‘नियमित हिसाबले कार्यालय प्रमुखको सरुवा गरियो, अर्को प्रमुख आएर काम सुरु गर्नुभयो’, नगर प्रमुख पुरीले भने ‘तर फेरी केही दिनमै कार्यालय प्रमुख सरुवाको निर्णय स्थगन गर्ने अनि कार्यालयमा काम थालेका कर्मचारीलाई फिर्ता पठाउनेजस्ता कार्य अत्यन्तै अपरिपक्क निर्णय हो । हामी यसको विरोधमा छौ ।’

‘निर्वाचित भएर आएदेखि नै नगरपालिकाको कामकाजमा असहयोग गरेका अधिकृत कार्कीको नियमित सरुवा मन्त्रालयले गरेको थियो’, नगरप्रमुख पुरीले भने, ’फेरि थमौति गरिएको भन्ने खबर सुनिएको छ, तर उनलाई कार्यालय हाजिर गराएर काम गर्न दिदैनौं ।’ उनले जनप्रतिनिधिहरुलाई असहयोग गर्ने हाकिमलाई राखेर काम गर्न नसकिने पनि उनको भनाइ छ ।

मन्त्रालयले कार्कीको स्थानमा निजगढमा आएका मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गत शुक्रवार कार्यालयमा आएर हाजिर समेत गरिसकेका छन ।

नगरपालिकालाई मन्त्रालयले असहयोग गर्ने काम गरेको र अल्मल्याउन खोजेको भन्दै नगर प्रमुख पुरीले कार्यालय प्रमुख सरुवा गर्ने निर्णय स्थगन नगरी कार्यान्यवनमा ल्याउन माग गरेका छन् । नगर प्रमुख पुरीले भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिर भईसकेको हुँदा कार्कीले हाजिर गर्न सक्ने अवस्था नरहेको बताए । मन्त्रालयलाई समेत यस विषयमा जानकारी गराइएको नगर प्रमुख पुरीले बताए ।

कार्कीलाई फेरि निजगढ पठाएपछि पुरीलाई भने अब मन्त्रालयमा नै जगेडामा राखिने मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर