• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

व्यक्ति डायस्पोराको नजरमा 'डायस्पोराको सैद्धान्तिक स्वरुप' कृतिको सङ्क्षिप्त चर्चा

आदरणीय गुरु,वरिष्ठ समालोचक, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको भर्खरै प्रकाशित पुस्तक डायस्पाेराको सैद्धान्तिक स्वरुप  आफू व्यक्ति डायस्पाेरा बनेरै पढ्ने मौका मिल्यो।कृति पढ्दा म पाठक डायस्पाेरा त बनेँ नै लेखक पनि स्वयं डायस्पाेरा जस्तो देखिएका छन् किनकि लेखकले यस्तो किसिमको सैद्धान्तिक कृति निर्माण गर्दा पनि डायस्पाेराको वास्तविक जीवन र भोगाइ आफूले भोगेजस्तै गरी स्वाभाविक रुपमा प्रस्तुत गरेको पाइन्छ।सैद्धान्तिक कृति नयाँ विषयमा लेखिएको भएपनि वाक्यगठन,शब्दचयन र प्रयोग र भाषिक दृष्टिकोणले अत्यन्तै सरल छ।सामान्य पाठकले पनि सजिलै बुझ्ने तरिकाले लेखिएको छ।कहिँ कतै देखिएका जटिल वा आगन्तुक शब्दलाई पनि सरल तरिकाले अर्थ्याइएको पाइन्छ।

पैरवी प्रकाशनद्वारा प्रकाशित यस कृतिमा डायस्पाेराको ऐतिहासिक सन्दर्भ र अर्थ,डायस्पाेराको परिभाषा र स्वरुप, डायस्पाेराको निर्माण प्रक्रिया र विकास प्रक्रिया, डायस्पाेरा र डायस्पाेरा साहित्यकाबारे व्याप्त अन्योल र निराकरणका उपाय,डायस्पाेरा र डायस्पाेरा साहित्यका विशेषता,डायस्पाेरा र नेपाली डायस्पाेराको वर्गीकरण,आप्रवासी नेपाली साहित्यको अवस्था, नेपाल बाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रिय करण, उत्तरआधुनिकताको सैद्धान्तिक स्वरुप आदि विविध पक्षको गहन विश्लेषण गरी सिद्धान्त निरुपण गरिएको छ।अहिले नेपाली भाषासाहित्य व्यापक रुपमा विश्वव्यापीकरण भइरहेको सन्दर्भमा नेपाली भाषामा पनि डायस्पाेरिक साहित्यका बारेमा सैद्धान्तिक कृति प्रकाशित हुँदा यस कृतिको विशेष  साहित्यिक र ऐतिहासिक महत्त्व रहेको देखिन्छ।

हुनत अहिले जुन डायस्पाेराले जुन अर्थ बोकेको छ,यसको सूक्ष्म रुप  कहिँ न कतै मानव सभ्यताको सुरुवातमै देखिन्छ।मानव सभ्यताको विकाससँगै मानिसहरू आफ्नो जीविकोपार्जनको लागि घुमन्ते जीवन बिताएका थिए।वास्तवमा घुमन्ते जीवनमा नै अहिलेको डायस्पाेराले बोक्ने अर्थको बीज रहेकोे पनि देखिन्छ। सभ्यताको विकास हुँदै जाँदा मान्छेलाई समय, परिस्थिति र ठाउँले धेरै कुरा सिकाउँदै गयो र मान्छेले सिक्दै पनि गयो।मान्छे आधुनिक युगमा प्रवेश गर्‍यो।समय क्रममा विस्तारै भूगोलका सीमाहरू कोरिँदै गए।शक्ति र धर्मका आधारमा राज्य निर्माण हुँदै जाँदा द्वन्द्वहरू पनि शुरु भए।कसैले लखटे भने कोही लखेटिए।विभिन्न कारणले लामो समयसम्म जन्मिएको भूमि छोड्नु पर्यो र अर्को राज्यमा गएर शरणार्थी जीवन बिताउनु पर्यो र यही शरणार्थी जीवन नै आधुनिक डायस्पाेराको प्रारम्भिक रुप बन्न पुगेको देखिन्छ।आजको मान्छे बाध्यता वा इच्छाले डायस्पाेरा बनिरहेकै छ।अहिलेको वैज्ञानिक युगमा  मानिस जन्मेको आधारमा निश्चित भूगोल र निश्चित संस्कृतिमा मात्र सीमित नभएर विश्वका जुनसुकै भूभागमा विभिन्न कारणले बसाइँसराइ गरी डायस्पाेरिक जीवन बिताएको छ।


विश्वको प्रभाव स्वाभाविक रुपमा नेपाल र नेपालीलाई पनि पर्ने नै भयो।नेपालीहरू पनि आफ्नो समाज,देश,संस्कृति छोडेर  अर्को भिन्न  मुलुकमा गई डायस्पाेरिक जीवन बिताइरहेका छन्।यसले गर्दा आज  नेपाली भाषा,साहित्य र संस्कृति नेपाल वा भारतमा मात्र सीमित नरहेर संसारभरि फैलिएको छ।यसको विकास र विस्तार द्रुत गतिमा भएको छ।युरोप र अमेरिकाका विद्यालय र विश्वविद्यालयमा नेपाली भाषा,साहित्य र संस्कृतिको अध्ययन हुन लागेको देखिन्छ।नेपाली भाषा, संस्कृति,सभ्यता अर्को भिन्न भाषा र  सस्कृतिसँग मिश्रण हुँदा यसमा थुप्रै किसिमका स्वरुपहरू देखा परेका हुन्छन्।अहिलेको समयमा दुई भाषा वा दुई संस्कृतिको मिश्रण हुँदा त्यसमा देखिने स्वरुप वा विशेषताका  बारेमा अध्ययन अनुसन्धान भइरहेको हुनाले यो कृति त्यस किसिमको अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण सैद्धान्तिक सामग्रीको रुपमा रहेको छ।कोही देश बाहिर बस्दैमा वा देशबाहिर बसेर लेख्दैमा त्यसलाई डायस्पाेरा वा डायस्पाेरिक रचना भन्न मिल्दैन भन्ने कुरालाई यसमा स्पष्ट पारिएको छ र वास्तवमा डायस्पाेरा भनेको के हो र डायस्पाेरामा के हुन्छ भन्ने कुरालाई लेखकले यसमा बताइ दिएका छन्।नेपाली डायस्पाेरा मात्र नभएर जुनसुकै डायस्पाेरा र डायस्पाेरिक साहित्य सिर्जना र समालोचनाको लागि यो कृति अत्यन्तै  महत्त्वपूर्ण रहेको छ।

अहिलेको युग भनेको विज्ञान र प्रविधिको   युग हो।विज्ञान र प्रविधिले गर्दा भौगोलिक रुपमा विश्व जति ठूलो भएपनि एउटा डिभाइसमा अट्ने पनि भएको छ।क्षणभरमा विश्व घुम्न,हेर्न सकिन्छ।संसारका जुनसुकै मुलुकमा पुग्न सकिन्छ,संसारलाई बुझ्न सकिन्छ,अध्ययन गर्न सकिन्छ तरपनि मान्छेहरू अध्ययन, पेसा, व्यापार, व्यवसाय,रोजगार आदि कारणले आफ्नो जन्मभूमि छोडेर विदेशिएका छन्।यही विभिन्न कारणले आफ्नो देश छोडेर विदेश गएकालाई डायस्पाेरा भनिन्छ तर मान्छे देश छोड्दैमा डायस्पाेरा हुन नसक्ने र विदेश बसेर लेख्दैमा डायस्पाेरिक रचना हुन नसक्ने कुरालाई सैद्धान्तिक रुपमा लेखकले यस कृतिमा स्पष्ट पारेका छन्।लेखकका अनुसार आफ्नो राष्ट्रियता र पुर्ख्यौली पहिचानसँगै नयाँ भूमिमा बसोबास गरेका व्यक्ति वा समुदायलाई डायस्पाेरा भनिन्छ।यस कृतिमा लेखक खगेन्द्रप्रसाद  लुइटेलले इसापूर्व छैटौं शताब्दीतिरदेखि प्रयोगमा आएको डायस्पाेरा शब्द विशेषत: सन् १९९० को दशकपछि विशेष चर्चा परिचर्चा आएको भनेर विषय प्रवेश गरेका छन्।उनले यसमा डायस्पाेराको ऐतिहासिक सन्दर्भ,प्रारम्भिक अर्थ, वर्तमान अर्थ,नेपाली अर्थ भनेर विभिन्न उपशीर्षक बनाई इतिहासदेखि अहिलेसम्मका घटना र सन्दर्भलाई  प्रस्तुत गरेका छन्।एउटा भाषा,संस्कृति र समाज भएको मुलुकबाट अर्को भिन्न भाषा,संस्कृति र समाज भएको मुलुकमा हुने फैलावट र बसाइँसराइ वा पहिचानसहितको आप्रवासन नै डायस्पाेरा हो भन्ने सन्दर्भलाई अगाडि सारेर डायस्पाेराको सैद्धान्तिक स्वरुप निर्माण गरेका छन् ।लेखकले यस कृतिमा पाठकलाई सजिलो तरिकाले बुझाउन गृहदेश र पराईदेश,संस्कृति र पहिचान,समुदायको निर्माण र सञ्चालन भनेको के हो भन्ने कुरालाई स्पष्ट पारेर मात्र विभिन्न विद्वानहरूले दिएका परिभाषालाई प्रस्तुत गरेका छन्।यसबाट डायस्पाेराको अर्थ र परिभाषा बुझ्न अत्यन्तै सजिलो भएको छ।

लेखकले सुरुमा डायस्पाेराको निर्माण यहुदीहरूको बाध्यतात्मक विस्थापन वा निर्वासनबाट भएको देखिए पनि केहीपछि अफ्रिकाली, आर्मेनियाली र आइरिसहरूको विस्थापन हुँदै समयक्रममा डायस्पाेरा बन्ने आधार वा यसको निर्माण प्रक्रियामा व्यापकता आएको यसमा स्पष्ट पारेको देखिन्छ त्यस्तै यस कृतिमा डायस्पाेराको निर्माणका आधारहरूमा  विस्थापन वा निर्वासन,बसाइँ सराइ,प्रवासन र आप्रवासन,राजनैतिक शरण,दैवी एवं प्राकृतिक प्रकोप,सैन्य सेवा, श्रम वा रोजगारी, व्यापारव्यवसाय,डिभी,चिट्टा र पिआर, विवाह,अध्ययन,देखासिकी र अवसरको खोजी जस्ता विषयलाई अगाडि सारेका छन्।

यस कृतिमा लेखक डायस्पाेराको विकास प्रक्रियालाई डायस्पाेराकै अध्येता रोबिन कोहेनले गरेको कालगत विभाजनलाई खण्डन गरी प्रवृत्तिगत आधारमा वर्गीकरण गरेका छन्।रोबिन कोहेनले कालका आधारमा सन् १९६० देखि १९७० दशकलाई पहिलो चरण,सन् १९८० को दशकपछि दोस्रो चरण,सन् १९९०का दशकका मध्यदेखि तेस्रो चरण,सन् २००० पछिको वर्तमान सम्म चौथो चरण भनी कालगत वर्गीकरण गरेका छन्।यो विभाजन वस्तुगत र व्यावहारिक नभएको भन्दै डायस्पाेराको प्रवृत्तिगत चरण विभाजनलाई समय सीमामा आबद्ध नगरी डायस्पाेराको निर्माणप्रक्रिया वा डायस्पाेरा हुनुपर्ने कारण र प्रवृत्तिगत भिन्नताका आधारमा निर्वासित वा विस्थापित डायस्पाेरा र आप्रवासी वा स्थापित डायस्पाेरा भनी दुई भागमा विभाजन गरी अध्ययन र विश्लेषण गर्न सकिन्छ भनी उल्लेख गरेका छन्।

यस कृतिमा लेखकले डायस्पाेरा र डायस्पाेरा साहित्यबारे विगत केही समयदेखि व्याप्त रहेको अन्योल र त्यसका निराकरणका उपायबारे वस्तुगत र सटिक  ढंगले स्पष्ट पारेका छन्।त्यस्तै यस कृतिमा व्यक्ति डायस्पाेरा र डायस्पाेरिक साहित्यको परिचय र विशेषतालाई बुँदागत रुपमा स्पष्ट पारिएको छ।आफ्नो पुर्ख्यौली समाज, परिवार, जन्मभूमि  छोडेर नयाँ मुलुकमा बस्नु पर्दाका के कस्ता चिन्ता र पीडा मनमा उत्पन्न हुन्छन् भन्ने कुरालाई मानौँ लेखकले आफूले नै भोगेसरि तरिकाले यहाँ वर्णन गरेका छन्।वास्तवमा लेखकले भनेझैं विदेशिनेहरू अर्काको देशमा अस्तित्वहीन, परिचयविहीन र शक्तिविहीन भएर बाँच्नु पर्ने नै हुन्छ।राज्यका निकायबाट कुनै किसिमको विभेद नभए पनि आफू सुरक्षित भएको महशुस हुँदैन।भाषिक चिन्ता, नागरिकताको चिन्ता, रोजगारीको चिन्ता, एक्लोपन हुनुको चिन्ता, अपरिचयको चिन्ता लगायतका चिन्ता रहेका हुन्छन्।त्यस्तै यसमा डायस्पाेरालाई विभिन्न आधारमा वर्गीकरण गरिएको छ। विस्थापित वा निर्वासित डायस्पाेरा,पीडित वा शरणार्थी डायस्पाेरा,सैनिक डायस्पाेरा, श्रमिक डायस्पाेरा,व्यापारिक डायस्पाेरा, धार्मिक डायस्पाेरा,डिभी/ पीआर डायस्पाेरा,वैवाहिक डायस्पाेरा,अध्ययन डायस्पाेरा भनी वर्गीकरण गरिएको छ।

लेखकले यस कृतिमा नेपाली डायस्पाेराको ऐतिहासिक सन्दर्भको उल्लेख गर्दै नेपाली डायस्पाेराका प्रकारलाई पनि विस्तृत रुपमा चर्चा गरेका छन्।यसमा आप्रवासी नेपाली साहित्यको अवस्था,आप्रवासी नेपाली साहित्य बारे भ्रम,भारतवासी नेपाली प्रवासी कि आप्रवासी ?,भुटान र म्यान्मार वासी नेपाली प्रवासी कि आप्रवासी ? भन्ने जस्ता प्रश्नको उत्तर  र आप्रवासी नेपाली साहित्य बारेमा भएका महत्त्वपूर्ण कार्यहरूको सूची पनि प्रस्तुत गरिएको छ।आप्रवासी नेपाली साहित्यबारे देखिएका विकृतिलाई पनि तथ्य र प्रमाणका आधारमा खण्डन र आलोचना गरिएको पनि छ।नेपाल बाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरणमा ध्यान दिनुपर्ने कुराहरू, नेपाली जाति,नेपालीत्व र नेपाली पनको महत्त्व जस्ता परिच्छेदहरू पनि यसमा रहेका छन्।

लेखकले पछिल्लो चरणमा साहित्यको सिद्धान्त वा समालोचनामा नयाँ विषय आउँदा बित्तिकै उत्तरआधुनिकता भनी ट्याग लगाउने हुनाले डायस्पाेरा भनेको  उत्तरआधुनिक होइन भन्ने कुरा स्पष्ट पार्नका लागि पनि एउटा छुट्टै परिच्छेदमा उत्तरआधुनिकताको सैद्धान्तिक स्वरुप भनेर उत्तरआधुनिकताका प्रवृत्ति र विशेषतालाई छर्लङ्ग पारिदिएका छन्।यस्तै कृतिको अन्त्यमा पछिल्लो समयमा नेपाली भाषामा ल्याइएका समस्या र सुल्झाइएका  समाधानका बारेमा पनि चर्चा गरिएको छ।यसरी ३७५ पेजमा संरचित यो कृति नेपाली भाषामा डायस्पाेराका बारेमा अध्ययन गर्ने पाठकको लागि एउटा महत्त्वपूर्ण र उत्कृष्ट ऐतिहासिक सामग्री रुपमा रहेको छ।

(भर्जिनिया,अमेरिका) 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर