• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संसदमा 'डेब्यू'को तयारीमा माओवादीका २१ युवा नेता

काठमाडौं । प्रदेश तथा संघीय संसदको चुनावको तयारी चलिरहेका बेला संसद भवन छिर्ने नयाँ नयाँ युवा नेताहरुको चर्चा पनि चल्न थालेको छ । स्थानीय तहको चुनावमा जवरजस्त स्थापित भएको ‘राजनीतिमा युवा’ भन्ने नारा यसपाली प्रदेश र संघको चुनावमा अझ प्रखर हुने संभावना छ । 

सोही कुरालाई मध्यनजर गर्दै हरेक राजनीतिक दलहरुले चुनावमा युवाहरुको उपश्थितिलाई बढोत्तरी दिने देखिएको छ । युवाहरुलाई देशको ‘भविश्वको कर्णधार मात्र हैन वर्तमानको हिस्सेदार’ पनि हो भन्ने मान्यतामा सत्तारुढ दल माओवादी केन्द्र नीतिगत हिसावले अगाडी देखिएको छ । माओवादीले अहिलेसम्म चुनावै नलडेका, हारेका, प्रदेशमा लडेका तथा समानुपातिकमा रहेका नेताहरुलाई यसपाली प्रत्येक्ष चुनावमा  उठाउने तयारी गरेको छ ।

पार्टीको केन्द्रीय समितिमा नै २० प्रतिशत युवाहरुको उपश्थिति सुनिश्चित गरेको माओवादीले यसपाली प्रदेश र संघको चुनावमा पनि युवाहरुको जवरजस्त उपश्थितिमा जोड दिन लागेको नेताहरु बताउँछन् । माओवादी केन्द्रका आधार दर्जन युवा नेताहरुसँग कुराकानी गरेर हामीले यसपाली संघीय संसद भवन डेब्युको तयारीमा रहेका युवा नेताहरुबारे खोजविन गरेका छौं ।

५ दलीय गठबन्धनका कारण टिकट बाँडफाँडमा पर्ने असर, माओवादी केन्द्रले पाउने निश्चि सिट संख्या र त्यसमा चर्चामा रहेका युवा नेताहरुको भौगोलिक अवस्थितिका कारण सवै युवा नेताहरुको संसद भवन प्रवेश गर्न पाउने अवस्था सृजना नहुन पनि सक्छ । तर पनि हामीले चर्चामा रहेका केही अनुहारहरु यहाँ पस्किएका छौं ।

१. लेखनाथ न्यौपाने– लेखनाथ न्यौपाने माओवादी केन्द्रका ऊर्जावान बैचारिक युवा नेता हुन् । नीति, विधि, सिद्धान्त र सिद्धान्त अनुसारको व्यवहारका कम्युनिष्टहरु खरो उत्रनुपर्दछ भन्ने कुराको सधैं ओकालत गरिरहने न्यौपाने माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य रहिसकेका नेता हुन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षसमेत भएका न्यौपानेले अहिले सम्म स्थानीय तह, प्रदेश तथा संघमासमेत चुनावी प्रतिस्पर्धा गरेका छैनन् । आफ्ना विचारहरु पुस्तक, स्तम्भहरु मार्फत सार्वजनिक गरिरहने न्यौपाने यसपाली गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन् । 

२. राम प्रसाद सापकोटा– सापकोटा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी माओवादी युवा संगठन वाईसिएलका इन्चार्ज तथा निवर्तमान अध्यक्ष पनि हुन् । जनयुद्धमा जनसेनाको फर्मेशनमा रहेर समेत काम गरिसकेका सापकोटा साहित्य कलामा समेत रुची राख्दछन् । तार्किक नेता सापकोटा यसपालीको संघीय संसदको चुनावमा भक्तपुर २ बाट चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा जुटिसकेका छन् । 

३. हिमाल शर्मा – शर्मा यस अघि पनि काठमाडौं ६ बाट संघीय संसदको उम्मेदवार बनिसकेका नेता हुन् । भलै उनले विजयी हाँसिल गर्न सकेनन् । माओवादी केन्द्रीय सदस्य रहेका शर्मा अखिल क्रान्तिकारीको अध्यक्ष रहिसकेका छन् । गठबन्धन सरकारको सिट बाँडफाँडमा शर्माले काठमडौं ६ बाट दावी प्रस्तुत गरिरहेका छन् । गठबन्धनले उनलाई साझा उम्मेदवार बनाएमा संघीय संसदमा डेब्यु गर्ने उनको बाटो खुल्नेछ ।

४. महेश्वर दाहाल– महेश्वर दाहाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । माओवादी निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टरका इन्चार्ज दाहालले लामो समयदेखि प्रेस सेन्टरको मूल नेतृत्वको भूमिका निभाए । शहिद कृष्णसेन इच्छुकसँग सहकार्य गरेर जनादेश साप्ताहिक, जनदिशा जस्ता पत्रिका प्रकाशनको नेतृत्व गरेका दाहाल सिन्धुलीबासी हुन् । उनलाई पनि माओवादीले सिन्धुलीबाट चुनावी मैदानमा उतार्ने संभावना रहेको नेताहरुको भनाई छ ।

५. रमेश मल्ल – मल्ला हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको भूमिकामा क्रियाशिल छन् । अखिल क्रान्तिकारीको अध्यक्ष बनिसकेका मल्ल सल्यानका स्थिायी बासिन्दा हुन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी यसपालीको चुनावमा सल्यानबाट उम्मेदवारी दिने तरखरमा छन् । सल्यान माओवादीको राम्रो आधार भएको जिल्ला हो । सो जिल्लाबाट यस अघि लगातार ३ कार्यकाल टेकबहादुर बस्नेतले बिजय हाँसिल गरेका थिए । यसपटकको चुनावमा टिकट पाएमा आफु तयार रहेको मल्लले बताएका छन् ।

६. रामदीप आचार्य – आचार्य अनेरास्ववियू क्रान्तिकारीका तत्कालिन उपाध्यक्ष हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा आचार्य प्रचण्डको जनसम्पर्क सल्लाहाकार बनेका थिए । बैचारिक, सैद्धान्तिक तर्क बहसमा रुची राख्ने आचार्यले मजदुर संगठनको समेत नेतृत्व गरिसकेका छन् । जाजरकोटका स्थायी बासिन्दा आचार्य माओवादीका युवा नेताहरुको लस्करमा लामबद्ध उदाउँदो नेता हुन् । जाजरकोटमा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले सोही जिल्लाबाट शक्तिबहादुर बस्नेत यस अघिका विजयी नेता हुन् । नेतृत्वले उम्मेदवारीको तालमेल मिलाएमा आचार्य यसपाली जाजरकोटबाटै उम्मेदवार बन्ने तरखरमा छन् ।

७. सरल सहयात्री पौडेल– पौडेल अहिले माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का बासिन्दा पौडेलले अखिल नेपाल जनसाँस्कृतिक महासंघको पनि अध्यक्ष भएर भूमिका निभाईसकेका छन् । माओवादी युवाहरुका माझ तार्किक तथा सैद्धान्तिक नेताको छवी बनाएका उनी पार्टीले टिकट दिएमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संघीय चुनाव लडेर संसद भवनमा डेब्यु गर्ने तयारीमा छन् । सभामुख अग्नि सापकोटा, काँग्रेस नेता मोहन बहादुर बस्नेत, माओवादीकै युवा नेता माधव सापकोटा र नेकपा एकीकृत समाजवादीको समेत निशानामा परेको सिन्धुपाल्चोक १ मा टिकट पाउनु फलामको च्यूरा चपाउनु सरह नै हो । तै पनि जिम्मेवारी पाएमा पार्टीलाई जिताएर संसद भवनमा डेब्यू गर्ने साहित्कार समेत रहेका पौडेलको तयारी छ ।

८. युवराज चौलागाँई – चौलागाँई  रामेछाप जिल्लाका स्थिायी बासिन्दा हुन् । अनेरास्ववियू क्रान्तिकारीको उपाध्यक्ष तथा माओवादी अन्तराष्ट्रिय विभागका सहसंयोजक बनिसकेका चौलागाँई हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् । यस अघिको चुनावमा पनि रामेछापबाट उम्मेदवारी दिने तयारी गरेका उनले टिकट नपाएका कारण पछि हट्नु परेको थियो । सो जिल्लाबाट माओवादीका युवा नेता श्याम श्रेष्ठले चुनाव जितेर संघीय सांसद बने । यसपाली पार्टीले टिकट दिलाएमा संसद भवनमा डेब्यु गर्ने युवा नेतामा उनको पनि नाम थपिनेछ ।

९. माधव सापकोटा– सिन्धुपाल्चोक जिल्लाका युवा नेता हुन सापकोटा । माओवादीको युवा पिँडीमा लोकप्रिय सापकोटा तार्किक तथा संगठकको रुपमा चिनिन्छिन् । माओवादी केन्द्रीय सदस्य समेत रहेका उनको रुची सिन्धुपाल्चोक १ बाट संघीय चुनाव लडेर संसद भवन प्रवेश गर्नु हो । सभामुख अग्नि सापकोटा अहिले सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । आफ्नै काका नाता पर्ने सापकोटाले युवा नेता माधवलाई साथ दिएमा सिन्धुपाल्चोकबाट संसद भवन छिर्ने नयाँ पिँढीको नेतृत्व सापकोटाले गर्नेछन् । 

१०. युवराज दुलाल– दुलाल पनि सिन्धुपाल्चोककै युवा नेता हुन् । जनमुक्ति सेनाको पृष्ठभूमिबाट आएका उनी बागमती प्रदेशको मन्त्री बनिसकेका छन् ।  यसपाली टिकट पाएमा उनले सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दिएर प्रदेशको राजधानी हेटौंडा हैन देशकै राजधानी काठमाडौंको संसद भवन प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

११. रञ्जित तामाङ – तामाङ अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष हुन् । युवा पिँढीमा लोकप्रिय तामाङ राम्रो वाकपटुता भएका सिमित नेतामा गनिन्छन् । देशभर युवा नेताहरुको राजनीतिमा रुझान देखिरहेका बेला तामाङले झापा ५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । सत्तारुढ गठबन्धकै तर्फबाट एमाले अध्यक्ष केपी ओलीका विरुद्ध तामाङ साझा उम्मेदवार बन्ने प्रवल संभावना रहेको माओवादीका एक नेताले समाचार दैनिकलाई बताए । यस अघिको चुनावमा फराकिलो मत अन्तरले विजयी भएका ओलीलाई हराउन त्यति सजिलो काम भने होईन । तर गठबन्धनका रहेका ५ दल र स्थायनीय तहको चुनावमा झापा दमक नगरपालिकामा तालमेल गरेको राप्रपाको समेत साथ पाएमा युवा नेता तामाङले एमाले अध्यक्ष ओलीलाई हराउन पनि सक्ने स्थानीय नेताहरुको तर्क छ ।

१२. अनिल शर्मा – शर्मा काठमाडौं १ मा यसअघि पनि उम्मेदवार बनिसकेका नेता हुन् । नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी हुँदा रविन्द्र मिश्र दोस्रो भएका थिए । वर्तमान अर्थमन्त्री जनार्दन शर्माका आफ्नै भाई अनिल एमालेसँग मिल्दा पनि तेस्रो भएका थिए । तर यसपाली सत्ता गठबन्धनले युवा नेतालाई प्राथामिकतामा राखेमा काठमाडौं १ बाट गठबन्धनकै भोटले चुनाव जितेर संसद भवन बानेश्वर छिर्ने शर्माको तयारी छ । 

१३. दिपेन्द्र रोकाया – माओवादी केन्द्र निकट पत्रकारहरु मध्य रोकाया पुराना पत्रकार हुन् । कृष्ण सेन इच्छुकहरुसँगै जनादेश साप्ताहिक प्रकाशन गरेका रोकाया जनयुद्ध कालमा पूर्व नेपालमा जनपक्षीय पत्रकारिताको अभ्यासमा व्यस्त थिए । कर्णाली प्रदेशको योजना आयोगको सदस्य समेत रहिसकेका रोकाया यसपाली संघीय संसदको चुनावमा हुम्लाबाट उम्मेदवार बनेर संसद भवनमा डेब्यु गर्ने तयारीमा छन् ।

१४. ओमविक्रम भाट – भाट माओवादी केन्द्रका युवा नेता हुन् । सुदुरपश्चिम प्रदेशको स्थानीय राजनीतिकमा कतिपय बेला निर्णायक बन्ने गरेका भाट संगठक हुन् । कन्चनपुर जिल्लाका स्थायी बासिन्दा उनी पार्टीले जिम्मेवारी दिएको खण्डमा संघीय चुनाव नै लड्ने तयारीमा छन् ।्

१५. कन्चन खनाल – खनाल चितवनको स्थायी बासिन्दा हुन् । हाल बागमती प्रदेश सभामा सदस्य रहेकी उनी पार्टीले जिम्मा दिएको खण्डमा संघीय संसदमा चितवनबाट प्रतिनिधित्व गर्दै प्रवेश गर्ने तयारीमा छन् । माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुको बाक्लो उपश्थिति रहेको चितवनबाट टिकट पाएमा उनको संघीय संसद डेब्युको यात्रा सहज हुनेछ । उनी माओवादी केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीको पूर्व उपाध्यक्ष हुन् । 

१६. दिपक देवकोटा – देवकोटा विद्यार्थी राजनीतिबाट भर्खरै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । यस अघिको अखिल क्रान्तिकारीको उनी उपाध्यक्ष थिए । लामो समय जेल जिवन विताएका रसुवाका स्थायी बासिन्दा देवकोटा जिम्मा पाएमा रसुवाबाट संघीय संसदको उम्मेदवार बन्ने दाउमा छन् ।

१७. राजन दाहाल – सिन्धुली १ का दाहाल माओवादीको पार्टी राजनीतिका हिसावले नयाँ नाम होईन । तर संसदीय राजनीतिमा उनले प्रवेशै पाएका छैनन् । हरिबोल गजुरेलको जिल्ला सिन्धुलीबाट टिकट पाएमा उनी पनि यसपाली संघीय संसद भवनको डेब्यु गर्ने मुडमा छन् ।

१८. रहवर अन्सारी– अन्सारी माओवादी भित्र मात्र हैन बाहिरको युवा पिँढीमा समेत चर्चित अनुहार हो । बिरगन्जको मेयरको उम्मेदवार बन्दै गर्दा उनको चर्चा चुलिएको थियो । माओवादीको मुस्लिम समुदायका उदाउँदो युवा नेता अन्सारीले टिकट पाएमा पर्साबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

२९. विजय गौतम– गौतम मकवानपुरका बासिन्दा हुन् । अखिल क्रान्तिकारीको यस अघिको केन्द्रीय उपाध्क्ष रहेका गौतम यसैपटक देखि पार्टीको केन्द्रीय सदस्यसहित पार्टी राजनीतिमा होमिएका छन् । संघीय संसदका लागि पार्टीले निर्णय गरेमा मकवानपुर वा जहाँबाट पनि चुनाव लड्न तयार रहेको उनले बताएका छन् ।  

२०. बुद्धि जिसी – गुल्मीका स्थायी बासिन्दा जिसी यसपाली संघीय संसद भवन छिर्ने तयारीमा छन् । गुल्मी तम्घासका उनी माओवादी केन्द्रका तर्फबाट सो जिल्लाका बलियो दाबेदार हन् । गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवारमा गुल्मीमा एक सिट पाएमा जिसी चुनाव लडेर संसद भवन छिर्ने तरखरमा छन् ।

२१. गायत्री गुरुङ–  गुरुङ नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्ष हुन् । गण्डकी प्रदेशसभा सांसद पनि रहेकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सचिव हुन्।

अबको संघीय चुनावमा १ सय ६५ मध्य माओवादी केन्द्रले ६० सिट दाबी गर्ने तयारी गरिरहेको छ। यो ६० सिट मध्य पार्टीले लिएको सिद्धान्त अनुसार युवाहरुको समानुपातिक उपश्थिति गराउने एक नेताले बताए । 

माओवादीका युवा नेताहरुको डेब्युको कुरा गर्दा अधिकाँश युवा तथा ब्राम्हण क्षेत्री समुदायका देखिएका छन् । संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी सिद्धान्तलाई पालना गराउने क्रममा अहिलेका पुरुष युवा नेताकै हाराहारीका महिला नेताहरु संसद भवन प्रवेश गरिसकेको देखिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर