• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

भक्तपुर-२ मा महेश बस्नेतलाई टक्कर दिँदै माओवादी केन्द्रका पोलीटब्यूरो सदस्य दिपशिखा

काठमाडौं । सरकारले मंसिर ४ मा घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच गणितीय जोडघटाउ सुरू भएको छ । यतिबेला चुनावी सरगर्मी बढेसँगै राजनीतिक दलहरू उम्मेदवार छनोट गर्ने, सिट बाँडफाँट, घोषणापत्र तयार गर्नेदेखि चुनावी एजेण्डा बनाउनेमा व्यस्त छन् ।

योपटक देशभर गठबन्धन र एमालेबीच रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो पटक एमाले र माओवादीबीच वाम गठबन्धन बनाएर मैदानमा होमिएका थिए । अहिले माओवादी र कांग्रेससहित पाँचदलीय गठबन्धनले एमालेलाई चुनौती दिने भएका छन्।

एमालेका लागि अघिल्लो विरासत कायमै राख्नु बाध्यता छ भने गठबन्धनका लागि एमालेको विरासत भत्काउनै पर्ने बाध्यता छ । योपटक स्वतन्त्रबाट उम्मेदवारी दिनेको उत्साहले बैग्लै रहको छ । यतिबेला देशभर चुनावी रौनकता छाएको छ । राजनीतिक दलहरूप्रति बढ्दो अविश्वासका कारण आगामी निर्वाचनमा शीर्ष नेताहरू नै जोखिममा पर्न सक्ने धेरैको अनुमान छ । परम्परागत राजनीतिक दलका प्रभावशाली युवा नेताहरूको चुनावी प्रतिस्पर्धा पनि योपटक निकै रोमाञ्चक हुने देखिएकाे छ ।

राजनीतिको केन्द्रविन्दूमा रहेको भक्तपुर २ मा आगामी प्रतिनिधिसभा निर्वाचनमा दुई वामपन्थी दल एमाले र माओवादीका युवा नेताबीच रोचक भिडन्त हुने देखिएको छ । पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत आगामी निर्वाचनमा भक्तपुर २ बाट नै दोहोरिन चाहेका छन् भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखा पनि यही क्षेत्रमा निर्वाचनमा होमीने भएका छन्   । बस्नेत २०७४ मा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । योपटक पनि बस्नेतले नै टिकट पाउने लागभग निश्चित छ ।

उनलाई योपटक माओवादी केन्द्रका दीपशिखाले चुनौती दिन लागेका हुन् । उम्मेदवारी दिने विषयमा उनी अहिले आन्तरिक छलफलमा व्यस्त छन् । टिकट पाएको खण्डमा भक्तपुर २ बाट डेब्यू गर्ने तयारीमा रहेका सापकाेटा  अन्तरमुखी स्वभावका र विपक्षीमाथि भने खरोरुपमा उत्रने युवा नेताका रुपमा परिचीत रहेका छन् ।

यहि क्षेत्रमा माओवादीका अर्का नेता भिष्म प्रजापति पनि दाबेदारका रूपमा छन् । उनी आफैले कुन क्षेत्रबाट उठ्ने भनेर घोषणा गरिसकेका छैनन । तर योपटक आफ्नो दाबी नछोडने पक्षमा उनी रहेका छन । 

बिहीबार दीपशिखाले सामाजिक सञ्जाल फेसबुकमा योपटक डेब्यू हुन्छ । नत्र बुढो भइन्छु भन्ने स्टाटस लेखेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने सन्देश दिएका थिए । त्यस्तै माओवादीको भातृसंगठन वाइसिएलका इन्चार्जसमेत रहेका दीपशिखा राजकीय पदमा अहिलेसम्म पुगेका छैनन् ।  प्रचण्डका विश्वासिला र भरपर्दो नेताका रुपमा रहेका उनले यस  क्षेत्रबाट टिकट पाएमा दुई वामपन्थी युवा नेताबीचको चुनावी भिडन्त थप रोचक हुनेछ ।

ओलीकोसमेत गृह क्षेत्र रहेको भक्तपुर-२ मा एमालेको प्रभाव राम्रैै छ । एकातिर पार्टी विभाजनको पीडा र अर्कोतर्फ गठबन्धनको चुनौती एक्लै सामना गर्न लागेको एमालेका लागि विरासत जोगाउन निकै मुस्किल देखिन्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर