• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मुलुकी देवानी संहितामा, २०७४ मा  अंशबण्डा सम्वन्धी कानूनी ब्यवस्था

सम्पत्ति आजको दुनियामा अनिवार्य आवश्यकता वन्न पुगेको छ । आदिम युगमा सम्पत्ति केवल उपभोग्य वस्तु थियो आज संचयको वस्तु वन्न पुगेको छ । समाजवादी समाजमा योग्यता अनुसारको काम आवश्यकता अनुसारको माम भन्ने चलन हुन्छ भने सम्पत्ति आवश्यकता पुर्तिको साधनका रुपमा लिईन्छ । तर पुजिवादमा सम्पत्ति आवश्यकताको सिमामा हैन चाहना र क्षमताको सिमामा विस्तारित भएको छ ।

जसको जति क्षमता छ उति संचय गर्ने जसको जति आवश्यकता र चाहना छ त्यति उपभोग गर्ने आजको नव उदारवादी समाजको विशेषता वन्न पुगेको छ । यसैका आधारमा सम्पत्तिको वाडफाड गर्ने र सो सम्वन्धि कानुनी प्रवन्ध गर्ने गरिन्छ । सो कानुनी प्रवन्ध समाजको चरित्र अनुरुप फरक फरक हुने गर्दछ । नेपालको सन्दर्भमा सम्पत्तिको कुरा गर्दा सामन्ती अर्थतन्त्रका आधारमा विकास भएको कारणले र भर्खरै मात्र पुजिवादी समाजमा संक्रमण गर्दै गरेका कारणले सम्पत्तिको चरित्र पनि त्यसैमा निर्भर गर्ने गरेको पाईन्छ ।

नेपाली समाजको चाहना उदार पुजिवादी प्रकृतिको देखिन्छ भने आधार भने सामन्ती नै छ । यसै परिवेशमा जारी भएको नयाँ संविधान र नयाँ संविधान संगसगै जसो जारी भएको मुलुकि ऐनलाई प्रतिस्थापन गर्ने देवानी संहिता निर्माण गर्दाका वखत अंशवण्डा हैन ईच्छाएको व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गर्न पाउने वील सिस्टमको व्यवस्था गर्ने वारेमा मोटामोटी सहमति पनि भैसकेको थियो तर पछिल्लो चरणमा नयाँ फड्को मार्ने आट गरेन ।

परम्परागत रुपमा प्रचलनमा रहेको अंशवण्डालाइ नै निरन्तरता दिने गरी कानुनी प्रवन्ध वन्न पुग्यो । मुलुकी ऐनलाई प्रतिस्थापन गरेर देवानी संहिता त जारी भयो तर अंशवण्डा सम्वन्धी प्राव्धानलाई प्रतिस्थापन गर्न सकेन । सामान्य रुपमा परिमार्जन गरिएको अंशवण्डा सम्वन्धी व्यवस्थाको वारेमा जानाकारी दिने उद्देश्यले यो आलेख तयार गरिएको छ । यस आलेखमा अंशवण्डा के हो अंशियार को को हुन पति पत्नीका विचमा अंशवण्डा हुने आधार के हुन र यसको हदम्याद के हो भन्ने वारेमा जानाकारीमुलक चर्चा गरिएको छ । यसकालागि देवानी संहितामा भएका व्यवस्थाहरुलाई नै आधार मानिएको छ ।

अंशबण्डा भनेको के हो ?

अंश बण्डा भन्नाले सगोलमा रहेको चल अचल सम्पत्ति समान अंशियारहरु विचमा अंशबण्डा गर्नु भन्ने बुझिन्छ । सवै समान अंशियारहरु सम्पत्तिको समान हकदार हुने हुनाले अंशबण्डा गर्दा सगोलको सम्पत्ति र ऋण घटीबढी नहुनेगरी समान अंशियारहरु विचमा अंशबण्डा गर्नु पर्दछ तर दफा २१५ बोमोजिम अंश छोडपत्र पनि गर्न सक्ने ब्यवस्था गरेको छ जसमा कुनै अंशियारले आफ्नो अंश आंशिक रुपमा वा लिई वा नलिई वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिइ अंश छोडपत्र गर्न सक्नेछ ।

अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षि तथा अंशियारहरुको सहिछाप गरी कानूनको रित पु¥याई सम्वन्धित कार्यालयबाट लिखत पारीत गराएपश्चात मात्र कानून सम्वत अंशबण्डा भएको मानिनेछ । अंशबण्डा भइसकेपछि आ–आफ्नो भागमा परेको सम्पत्ति नासीएमा विग्रीएमा वा मन नपरेको कारण देखाई आपसी सहमति बाहेकको अवस्थामा अंश सट्टापट्टा गर्न पाउने छैन । साथै अंशबण्डा गर्दा बाटो वा निकासको ब्यवस्था हुने गरी अंशबण्डा गर्नु पर्दछ । 

अशियार भनेको के हो ?

अंशियार भन्नाले अंशबण्डा प्रयोजनको लागी एकाघरको आमा, बाबु, छोरा, छोरी भन्ने बुझिन्छ र सवै अशियारहरु सागोलको सम्पत्ति प्राप्त गर्नको लागी समान हकदार रहनेछन् र यदी अंश बण्डा गर्दाको समयमा समान अंशियार कुनै महिला गर्भावती भएमा जन्मने बच्चाको हकमा समेत अंशबण्डा गर्नु पर्दछ, यदी उक्त बच्चा जिउदो नजन्मेमा त्यस्ता बच्चको लागी लागी छुट्टाइएको अंशभाग बाँकी अंशियारले समान बरावर लिन पाउनेछ । 

सगोलको सम्पत्तिको बण्डा गर्दा कस कसले को को बाट पाउन सक्छ ? 

अंशबण्डा समान अंशियारहरुले मात्र पाउनेछन् भने सागोलमा वसेका दाजुभाइका परिवार (श्रीमती, छोरा, छोरीले) आ–आफ्नो पति, बाबुले आफुले प्राप्त गरेको भागबाट मात्र प्राप्त गर्न सक्नेछ । साथै यदी कानूनले विवाह हुन नसक्ने, विवाह भएको नमानिने, बदर हुने विवाह दम्पत्तिबाट बच्चा जन्मिएमा त्यस्ता आमाबाबुबाट अंश पाउने ब्यवस्था गरेको छ । यदी बुवाको पहिचान नभएको आमाबाट जन्मिएका छोराछोरीले आमाबाट मात्र अंश पाउनेछ । 

अंशवण्डा कुन कुन अवस्थामा हुन सक्दछ ?

अंशियारहरु बिचमा आपसी सहमति भएमा निजहरु जहिलेसुकै पनि अंश लिइ भिन्न हुन सक्नेछ । सवै अंशियारहरु पति, पत्नी, बाबु आमा, छोरा, छोरीले पति, पत्नी, छोरा छोरी बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्थास्थ्य उपचार गर्नु पर्ने दायित्व पूरा नगरेमा कुनै पनि अंशियारहरु मध्यले आफ्नो अंश लिई छुट्ट भिन्न भई बस्न सक्ने छ ।

कस्तो अवस्थामा पति वा पत्नीले अंश लिई भिन्न हुन सक्छ ?

यदी पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा र पति वा पत्नीले पति वा पत्नीलाई शारिरीक वा मासिक यातना दिएमा जहिले सुकै आफ्नो अंश लिई भिन्न वस्न सक्ने छ । 

विधवाको हाकमा अंश सम्वन्धी ब्यवस्था 

विधवाले जहिले सुकै आफ्नो भागमा आउने अंश लिई भिन्न हुन सक्नेछ तर विधवाले सम्पत्ति प्राप्त गरीसके पछि अर्को विवाह गरेमा अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फको छोरा छोरी उनीहरुलाई दिनु पर्दछ यदी कोही नभएमा निज आफैले लिन पाउनेछ ।

अंशबण्डा नगरी सम्पत्ति दिन नपाउने ब्यवस्था

घरको मुख्य ब्यक्ति वा मुख्य भई काम गर्ने ब्यक्तिले सगोलको सम्पत्ति बण्डा नगरी कुनै अंशियारहरु मध्ये अंश लिइ सकेको वा लिन बाँकी अंशियारलाई सवै अंशियारहरुको मन्जुरी नलिई दिन पाउने छैन तर आफ्नो भागमा पर्ने हदसम्मको सम्पत्ति भने अन्य अंशियारको मन्जुरी नभएपनि कुनै अंशियारलाइ दिन सक्नेछ । 

अंशबण्डा गर्नु पर्ने सम्पत्ति लुकाए छिपाएमा के हुन्छ ?

संहिताको दफा २२६ मा भएको ब्यवस्था अनुसार कसैले पनि बण्डा गर्नु पर्ने सम्पत्ति लुकाउन छिपाउन पाउने छैन, अंशबण्डा हुदाको वा अदालतले सम्पत्तिको फाँटवारी मागेको बखतमा लुकाए वा छिपाएको ठहरेमा त्यस्तो सम्पत्ति लुकाउने छिपाउनेले लिन पाउने छैन बाँकी अन्य अंशियारले भाग लगाई लिन पाउने छ ।

हदम्याद सम्वन्धी ब्यवस्था

अंश बण्डा नै नभएको वा अंशबण्डा हुदा गोश्वराको लिखत भएको र लिखत नभए पनि हिसाव गरी दुवै पक्षले भोग गरेमा जहिले सुकै, अंशबण्डा गर्दा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिना भित्र र सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म, यो वाहेकको अवस्थामा त्यस्ुतो काम कारवाही भए गरेको मितिले छ महिना भित्र नालिस गर्नु पर्दछ। 

निष्कर्षः

अंशवण्डा अंशियारहरुका विचको सम्पत्तिको वाडफाँड गर्ने प्रकृया हो । यो नीजि सम्पत्तिलाई व्यवस्थापन गर्ने कानुनी प्रवन्ध पनि हो । यसका आधारमा भन्ने हो भने नेपाली समाजले आजको एक्काईशौ शताव्दीको तेश्रो दशकमा पनि पुरातनपंथी सोचको निरन्तरताका आधारमा अंशवण्डाको वन्दोवस्त कायम राखेको छ भन्न सकिन्छ । तर यसका आधारमा नेपाली समाजले कानुनी प्रवन्धमा भएको पुरातन वन्दोवस्तलाई आधुनिक प्रारुपमा ढाल्दै व्यवहार गर्ने भने गरेको पाईन्छ ।

यस आधारमा भन्ने हो भने  हाल प्रचलन रहेको अंशवण्डाको परिमार्जित प्रवन्ध र त्यसमाथि पनि भएको परिमार्जित व्यवहारले ईच्छापत्रको कानुनी वन्दोवस्तलाई निम्त्याउनेछ भन्ने आशा गर्न सकिन्छ । यसो नहुदासम्म विद्यामान कानुनी व्यवस्था वमोजिमको अंशवण्डाको व्यवस्थालाई नै प्रयोगमा ल्याउनु र पालना गर्नुको अर्को विकल्प छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर