अब खाने तेलको मूल्य ७ प्रतिशतले घट्ने

काठमाडौं । नेपालीको ठूलो चाडपर्वको रुपमा रहेका दशैं तिहारको मुखमा सरकारले सर्वसाधारणलाई राहत पुग्नेगरी नीतिगत निर्णय गरेको छ । खाने तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर सरकारले उपभोक्तालाई परोक्ष रुपमा फाइँदा पुग्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको लागि बजेटमार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दरहरु अहिले कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले एउटा समिति गठन गरी सोही समितिको सिफारिसका आधारमा करका दरहरु परिवर्तन गरेको हो ।

वनस्पति घ्यू तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था अनुसार कच्चा भटमासको तेल, पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा मूल्यको १० प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा अब मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्छ । 

यस्तै, सूर्यमुखीको गेडा आयात गर्दा लाग्ने भन्सार महसुल ५० प्रतिशतबाट बढाएर ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । भटमासको गेडा आयातमा पनि ९० प्रतिशत नै भन्सार महसुल छुट दिइएको छ भने तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा भन्सार महसुल ९० प्रतिशत हुने भनिएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा अबदेखि मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्नेछ । सरकारले करका दरहरु परिवर्तन गर्नुअघि गेडाको आयातमा मूल्यको ५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो ।

सरकारले कच्चा तेल र गेडाको आयातमा भन्सार महसुल घटाएर १ प्रतिशत मात्रै बनाएपछि त्यसको परोक्ष फाइदा उपभोक्तालाई हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बताए । उनका अनुसार अब खाने तेलको मूल्य कम्तिमा पनि ७ प्रतिशतले सस्तो हुनेछ । ‘पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य घटेकोले खाने तेलको मूल्य ४० प्रतिशत जति घटिसकेको थियो, अहिले सरकारले भन्सार महसुल घटाउने निर्णय गरेको छ, कच्चा तेलको आयातमा ९ प्रतिशत कम गरिएको छ, सरकारको यस्तो व्यवस्थाले खाने तेलको मूल्य कम्तिमा ७ प्रतिशतले कम हुने अनुमान छ,’ पूर्व अध्यक्ष मुरारकाले भने ।

यस्तै, अन्तराष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घटेमा नेपालमा पनि यसको असर देखिने र मूल्य अझ कम हुने उद्योगी मुरारकाको भनाई छ । भारत सरकारले पनि खाने तेलको कच्चा पदार्थको आधारमा भन्सार नलाग्ने नीतिगत व्यवस्था गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर