• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

टकुचामय भएकाे राजधानीमा टुकुचा र छ अर्बका कुरा

अहिले देश त नभनौं तर राजधानी भने टकुचामय भएको छ । मानिसहरुले टुकुचाको प्रशस्तीना यति धेरै गाथा गाइ सकेपछि मलाई पनि एउटा टुकुचे गफ गर्न मन लाग्यो । नेपाली इन्जिनियरहरुले नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिनको प्रयोग गरेर १२,२०० मिटर लामो सुरुङ बनाई सके ।‌

अब   भेरी नदीको ४०,००० लिटर प्रति सेकेण्ड पानी बबई नदीमा झारेको हेर्न मात्र बाँकी छ। साथै ४६ मेगावाट बिजुली समेत निकाल्ने योजना छ ‌। र यसको काम धमाधम भइरहेको छ ‌। 
भेरी-बबई मा झैं टनेल बोरिङ मसिन कै प्रयोग गरेर सुनकोशीको पानीलाई १३,००० मिटर लामो सुरुङ बनाएर सुनकोशीको ७७,००० लिटर प्रति सेकेण्ड पानी मरिण खोलामा झार्ने काम शुरु भइसकेको छ । दुवै सुरुङको व्यास पाँच मिटर भन्दा बढी छ । यी दुवै काम सम्पन्न भएपछि तराईका बर्दिया, बाँके, रौतहट, सर्लाही, धनुषा र महोत्तरी जिल्लाका १,७३,००० हेक्टर जमीनमा बाह्रै महिना सिंचाईको सुविधा पुगेर कृषिको उत्पादकत्व र उत्पादनमा वृद्धि हुनेछ ‌।

बिदेशबाट आयात हुने खाद्यान्नको आयातमा केही प्रतिस्थापन हुनेछ । यसको साथै करीब १०० मेगावाट विद्युत् समेत राष्ट्रिय प्रसारणमा जोडिने छ । तर यसको कतै कहीँ कतै चर्चा छैन ।  किनकि यी हल्लाबाजहरुले बिदेशबाट आयात गरेको 'इन्डिया गेट' प्रिमियम वासमती चामल मगाएर भात खान पाएका छन् । आयात गर्दा बिदेशी मुद्रा चाहिन्छ । बिदेशी मुद्रा कमाउन हाम्रा युवाहरुले खाडिमा पचपन्न डिग्रीको तातो बालुवामा पाइताला पोलेका छन् । 

आश्चर्यको अर्को कुरो के छ भने कुनै पनि मित्र राष्ट्रहरुले वा दातृ निकायहरुले कृषि उत्पादनसँग सम्बन्धित सिंचाइका यस्ता पूर्वाधारहरुको बिकासमा ऋण वा सहयोग प्रवाह गर्दैनन् । तर बागमती नदी सौन्दर्यीकरणको नाममा दातृ निकाय हरुले अर्बौँ को ऋण प्रवाह गरेका छन् ‌। निश्चित छ टुकुचा सौन्दर्यीकरणका नाममा सहयोग गर्न पनि कुनै न कुनै दातृ समुदाय अगाडि आउने नै छन् । किनकि उनीहरुलाई हाम्रा प्राथमिकता सँग कुनै मतलब छैन ‌। उनीहरुका आफ्नै प्रथमिकता हुन्छन् । टुकुचा सौन्दर्यीकरणमा कति खर्च लाग्ने हो भन्ने कुरो कसैलाई थाहा छैन । कोही पाँच अर्ब लाग्छ भन्दैछन्, कोही छ अर्ब लाग्छ भन्दैछन् भने कोही कोही पन्ध्र अर्ब को कुरो गर्दैछन् । 

अहिले एकथरी मानिसहरु छन् जो टुकुचाको गुणगानमा आफूलाई समर्पित गरेका छन् । यस्तो लाग्छ टुकुचामा आधा किलोमिटर ढल बनेपछि महानगरका सारा समस्या छुमन्तर भइहाल्छन् र महानगरले एकसय पचास बर्ष अघी बीर शम्शेरले गरेको शोषणबाट मुक्ति पाउँछ ।

आउनुहोस् केहि थप टुकुचे कुरा गरौं 

१) टुकुचालाई उघारे पछि त्यसै छोड्न मिल्दैन । त्यसको शुरुको प्राकृतिक बहाव क्षेत्र पुनः कायम गर्ने कुरो पनि त्यति सम्भव देखिँदैन । अब बनाउने नाला कति बर्षे संभावित बाढीको लागि भनेर डिजाइन गर्ने हो? दश बर्षमा एकपटक आउनसक्ने बाढी(Q10), सयबर्षमा एकपटक आउने बाढी(Q100) वा हजार बर्ष मा एकपटक आउन सक्ने बाढी (Q1000), कुन बाढीको बहाव क्षेत्र? जति ठूलो बाढीको लागि डिजाइन गर्ने हो त्यती नै चौडा टुकुचा चाहिन्छ । तर टुकुचाले सबै ठाउँमा आफ्नो बहाव क्षेत्र गुमाइसकेको छ । टुकुचाको शिरदेखि पुच्छर सम्म कुनै पनि ठाउँमा बाढीलाई चाहिने बहाव क्षेत्र कायम गर्न पनि सकिन्न । त्यसैले  'गिभन कन्डिसन'को आधारमा चार मिटर चौडा खुला नाला बनाउने भन्ने कुरो आएको छ । यो चाँही अड्को पड्को तेलको धुप हो । कुनै इन्जिनियरिङ समाधान होइन ।

२) ढलको दुवैतर्फ बनाउने पर्खालको जगको चौडाइ घटीमा दुइ मिटर राख्ने हो भने पनि जगको लागी दुवैतर्फ गरेर थप चार मिटर जग्गा चाहिने भयो ‌। जग बनाउन जग्गा अधिग्रहण नै गर्नु पर्ने होला । हात्तीसारको जग्गा अधिग्रहण गरेर नाला बनाउने कुरो त्यति 'इकोनोमिकल' पनि नहोला । त्यसैले अब बनाउन लागेको टुकुचाको ढल त्यही दुइ तीन मिटर भन्दा बढी चौडा नहोला ।

३) निर्माण इन्जिनियरहरुले जुन महिना देखि सेप्टेम्बर महिना सम्मलाई बर्षे मौसम भनेर मान्छन् । खासगरि नदीनालाको नजिकमा गर्नुपर्ने कामहरु यो बेलामा सकभर नगर्ने गरि कार्यक्रम बनाउँछन् । पाँचसय मिटर  टुकुचालाई कसैले लुटेर लाने थिएनन् । नभत्काइ नहुनु थियो भने सेप्टेम्बरपछि गरेको भए टेक्नीकल्ली जस्टिफाइड हुन्थ्यो । एउटा इन्जिनियरले हचुवाको भरमा निर्णय लिएको देखियो ।

४) टुकुचा भेट्टाउन भनेर एक्सकाभेटरले ठाडो कटान गरेर छोडेको छ । त्यहाँ भित्र भएको आर्च भत्काइएको छ । आर्च भत्केपछि साइड वालले मात्र पन्ध्र फिट अग्लो स्वाइल प्रेसर थेग्न सक्दैन । कटान गरेर छोडेको डिलमा न कुनै सपोर्ट दिएको छ न कुनै सेफ्टीका नियम पालन गरिएको छ । यदि डिल भत्किएर छेउछाउमा रहेका व्यक्तिगत संरचनाहरु भत्किन पुगे भने महानगरले नै जिम्मेवारी लिएर सम्बन्धित लाई क्षतिपूर्ति दिनु पर्छ ।

५) जमीनबाट सयकडौं मिटर तल रहेका भुमिगत जल भण्डार होस् वा पेट्रोलियमको खानी होस् विज्ञानको प्रयोगबाट सजिलै पत्ता लगाउन सकिने अहिलेको समयमा जाबो चार पाँच मिटर तल रहेको ढलको सुरुङ पत्ता लगाउन एक्सकाभेटर प्रयोग गरेर उधिन्ने अनि प्रचार चाँही कोलम्बसले अमेरिका पत्ता लगाएको भन्दा पनि बढी भइरहेको छ । अप्राविधिकहरु पनि प्रविधिक कुरा गर्दै हिँडेका छन् । अहिले पुरा सामाजिक संजाल नै टुकुचामय भएर गन्हाएको छ ।

६) तल फोटोमा देखाएको जापानको ओसाकामा गेट वे टावर को भित्रैबाट एउटा राजमार्ग नै छिराएर लगिएको छ । जनतासंग समन्वय गर्ने हो भने जतिसुकै अप्ठेरो काम पनि सजिलोसँग गर्न सकिन्छ भन्ने यो भन्दा राम्रो उदाहरण पाउन गाह्रो छ ।  चार मिटरको टुकुचे ढललाई घर मुनीबाट लैजान नसकिने होइन । तर यहाँ त समन्वय भन्दा पनि स्टन्ट नै चल्छ । अरुको सम्पत्ति भत्केको देखेर रमाउने परपिडक मानसिकता भएका र सरोकारै नभएका तालीपिट्ने मानिसहरू रहँदासम्म जापानको ओसाकामा जस्तो समन्वय यहाँ पाउन गाह्रो देखिन्छ ‌। त्यसैले त त्यो विकसित जापान हो र यो अविकसित नेपाल हो ।

७) टुकुचा सौन्दर्यीकरणको लागि पाँच छ अर्ब खर्च हुने कुरो छ । जनताले तिरेको करबाट गन्हाउने टुकुचाको ढललाई खोलेर देशले चाँही के पाउँछ ? न त टुकुचाको फाँटमा धानका बाला झुल्ने हुन्, न त नौका बिहार हुने हो, न त जलकपुर, ट्राउट वा शहर माछाको खेती गर्न सकिने हो, न त स्वदेशी बिदेशी पर्यटकहरु टुकुचा गन्हाएको सुँघ्न आउने हुन् । अहिले बन्द रहेको ढल खुला गर्ने बाहेक  केही पनि त हुने होइन ।

८) छ अर्ब भनेको छ सय करोड हो । हेक्का रहोस् भेरी बबइ डाइभर्सनको बाह्र किमी लामो र साढे पाँच मिटर व्यास भएको सुरुङ अत्याधुनिक टनेल बोरिङ मेसिनको प्रयोग गरेर जम्मा दश अर्बमा बनेको हो । टुकुचामा छ अर्ब बगाउनु भनेको देशलाई छिटै श्रीलंका बनाउने दौडमा भाग लिनु हो ‌। काठमाडौंका जनतासँग प्रत्यक्ष सरोकार राख्ने अन्य अनगिन्ती समस्याहरु  छन् । सार्वजनिक यातायात को सुधार गर्ने हो भने मात्र पनि काठमाडौं भित्रका र बाहिरबाट काठमाडौं घुम्न आएका लाखौं  जनतालाई सुविधा पुग्छ ‌।  तर महानगरले त्यहाँ हात हाल्न सक्दैन किनकि यातायात मजदूरहरुको संगठन यति बलियो छ कि त्यहाँ कालो चश्मा लगाएर पाँडे जीलाई पठाएर काम हुन सक्दैन । टुकुचा काठमाडौंको प्राथमिकता होइन । देशको त हुँदै होइन । अहिले देशको प्राथमिकता भनेको कृषिमा आत्मनिर्भर भइ खाद्यान्न को आयात प्रतिस्थापन नै हो ।

यो बेमौसमको टुकुचे हल्ला किन चलेको होला कुन्नी !! बुझिनसक्नु छैन त !

(अस्वीकरण: 'माथीको भनाइको तात्पर्य यो होइन कि नदीनालाको प्राकृतिक बहाव क्षेत्र मिचेर घर, सडक, पार्क आदि बनाउन पाइन्छ । एकदिन न एक दिन  नदीनालाले आफ्नो प्राकृतिक बहाव क्षेत्र आँफै खोज्दै आउँछ । 'गिभन कन्डिसन' र  प्राथमिकतालाई बिचार गरेर समन्वयमा पनि काम गर्न सकिन्छ भनेर भन्न खोजिएको हो ।' लेखक)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर