• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

गाउँघरबाट किन लोप हुँदै गए लिङ्गे र रोटे पिङ ?

काठमाडौं ।  दशैं–तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको  हो ।

केही वर्षअघिसम्म  गाउँगाउँमा दशैं–तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो । केही वर्षयता भने बिरलै मात्र पिङ देखिन थालेको छ ।  गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने गरेको कतिपयकाे अनुभव छ ।

पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका भए पनि अहिले रोटेपिङ र लिङ्गेपिङ लगाए पनि खेल्न जाने मानिसको अभाव हुने गरेको  छ ।

बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको धनकुटाको सिधुँवाका ज्ञानेन्द्र कार्कीले बताए । कुनै बेला शुभकामना साटसाट गर्ने स्थल पिङ हुने गरेको भए पनि   अहिले हरेकका हातमा स्मार्ट मोवाइल तथा घरघरमा टिभी भएका कारण पनि गाउँमा बाहीर हिँडडुल गर्ने मान्छे  नै देखीन छाडेको ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ९ का टोकल श्रेष्ढले बताए ।

उनका अनुसार केही वर्ष पहिलासम्म जिल्लाका धेरै गाउँका मुख्य स्थल पिङमय हुने गरेको भए पनि पछिल्लो समय त्यो प्रचलन लोप हुँदै गएको छ । जाँतेपिङ लोप भएको छ भने लिङ्गेपिङ र रोटेपिङ पनि हराउँदै गएका छन् ।

सानै उमेरदेखि दशैंमा पिङ खेल्ने गरेको बताउने अनिश बस्नेत यस वर्ष कतै पिङ नथापिएकाले दशैं खल्लो झै भएको बताउँछन् । पहिले टोलटोलमा पिङ लगाउने प्रतिस्पर्धा हुने गरेको भए पनि अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका बृद्धबृद्धाहरु बताउँछन् । 

संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्ने र  केही सीप नलागेको खण्डमा सथानीय सरकारले पनि आफ्नो संस्कृती जोगाउन लाग्नु पर्ने सोही स्थानका स्थानीय तथा पूर्व वडा अध्यक्ष दानबहादुर बानीयाँको भनाइ छ ।  नयाँ पुस्ताले जाँतेपिङ र रोटेपिङको नामसम्म सुन्न नपाएको उनले बताए ।

कसरी बनाइन्छ पिङ

सामान्यतया लिङ्गेपिङ बाँसका लिंगो गाडेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ । विभिन्न ठाउँमा बाबियोको डोरी बाट्ने सीप भएका मानिस पाउन छाडिएको छ । बाबियो घाँससमेत गाउँघरमा पाइँदैन ।

परम्परागत नेपाली रोटेपिङमा चारवटा काठका पिर्का हुन्छन् । रोटेपिङमा चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन् । दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ। पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ ।  जाँतेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक(एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ। जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ ।

दसंै र तिहार मान्न नेपालीहरु हुरुक्क हुने धेरै कारणहरु छन् । तीमध्ये अत्यन्तै महत्त्वपूर्ण मानिने पिङ पनि हो । पिङ खेल्नकै लागि गाउँघरका मानिसहरु दशैं र तिहार कुरेर बस्थे ।   तर, दशैं तिहारमा मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुन थालेकाले पिङप्रतिको मोह घट्दै गएको हो । 

वर्षमा एक पटक भुइँ छाड्नुपर्ने भन्ने पहिलो चलन थियो । तर, नयाँ पुस्ताले त्यो भनाइ बिर्सेपछि पिङको अस्तित्वमा नै लोप हुने लागेकामा ज्येष्ठ नागरिकहरु चिन्तित छन् । एक दुईजनाको प्रयासले मात्र पिङ राख्न सकिँदैन । गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि पिङ राख्न गाह्रो पर्दैै गएको हो । भावी पुस्ताले दशैं–तिहारमा पिङ राख्ने चलनललाई तस्बिरमा मात्र देख्ने दिन आउने अघिल्लो पुस्ताले बताउँदै आएको छ ।

सिप पुस्ताहन्तरण नहुँदा समस्या

पहाडमा परम्परागत रुपमा भीरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गरिने गरेको थियो । तर, अहिले यो पाइन छाडेको छ । कतिपय ठाउँहरूमा तराइबाट जुटको डोरी समेत ल्याएर परम्परा धन्ने गरीएको छ । पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु र त्यसका लागि चाहिने बाबियो घाँससमेत गाउँघरमा पाइन छोडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न मुस्किल परेको स्थानीय बताउँछन् ।

तराइमा भने जुटको डोरी र शहरमा प्लास्टिकको डोरी प्रयोग हुने गरेको छ । पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ। युवापुस्ता दशैं मनाउन घर आए पनि फूलपातीदेखि टीकाको दिनसम्म घरमा बस्ने भएकाले पनि पिङ हाल्न छाडेका हुन् । अर्कोतिर प्रबिधि र इन्टरनेटको पहुँच सबैतिर पुगेकोले युवा पुस्ताले अधिकांश समय त्यसमै विताउने गरेको छ ।

पाैराणिक कथा

पौराणिक कथाअनुसार भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको हो । पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ ।धार्मिक ग्रन्थका अनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् । कृष्ण–राधा दिनभर पिङ मच्चाउँथे ।  बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने मान्यता छ । पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले यसको महत्त्व दर्शाउन ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित भनाइ पनि रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर