• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

यी हुन् माओवादीका प्रत्येक्ष उम्मेदवार, कतिले जित्लान् ?

काठमाडाैं । सत्ता गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ पाउने सिट संख्या र निर्वाचन क्षेत्र करिब टुंगो लागेसँगै माओवादी केन्द्रले उम्मेदवारबारे अनौपचारिक छलफल थालेको छ ।

माओवादीले झापा–२ बाट सुरेन्द्र कार्की वा धर्मशिला चापागाईंमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ । कार्की यसअघि ०७४ को निर्वाचनमा झापा–१ बाट निर्वाचित भएका थिए । यसपटक सो क्षेत्र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई छाड्नुपर्ने भएपछि माओवादीले क्षेत्र नम्बर–२ पाएको हो । यस्तै झापा–५ मा एमाले अध्यक्ष केपी ओलीविरुद्ध अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलाई अघि सार्ने तयारी माओवादीले गरेको छ ।

मोरङ क्षेत्र नम्बर–४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डलको उम्मेदवारी पक्काजस्तै छ । मण्डल तेश्रोपटक र मोदी दोश्रोपटक उम्मेदवार बन्न लागेका हुन् । यी दुवै क्षेत्रमा उनीहरूले अघिल्लाे चुनाव जितेका थिए । 

यस्तै उदयपुर–२ मा सुरेश राई, सिरहा–३ मा रामकुमार यादव, धनुषा–१ मा मातृकाप्रसाद यादव, महोत्तरी–१ मा गिरिराजमणि पोखरेल र सर्लाही–३ बाट नरेन्द्र साहलाई उम्मेदवार बनाउने तयारी छ । 

०७० मा तराई–मधेस सदभावना पार्टीबाट समानुपातिकतर्फबाट सभासद रहेका साह बुधबार मात्र माओवादी प्रवेश गरेका हुन् । ०७४ को निर्वाचन जितेका पूर्वमन्त्री रामेश्वर राय यादवले आफूसँगै पैसा नभएकाले उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् ।

सिन्धुलीमा हरिबोल गजुरेल वा राजन दाहालमध्ये एक जनाले टिकट पाउने छन् । हाल गजुरेल प्रतिनिधिसभा र दाहाल बागमति प्रदेशसभा सदस्य छन् । गजुरेलले यो अन्तिम पटकका लागि आफूलाई छोड्न दाहालललाई आग्रह गरेका छन् । 

नुवाकोट–१ मा हितबहादुर तामाङले टिकट पाउने निश्चित छ । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएको काठमाडौं २ समाजवादीले नछोड्ने भएको छ । घर्तीलाई माओवादी केन्द्रले उम्मेदवार बनाउन सिफारिस गरेको थियो भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आवस्यक परे तयारी गर्न भनेका थिए । काठमाण्डु–९ बाट हितमान शाक्य उम्मेदवार बन्ने करिब पक्काजस्तै छ ।

काभ्रे–१ मा सूर्यमान तामाङलाई अघि सार्ने तयारी छ । सिन्धुपाल्चोक–१ मा सभामुख अग्नि सापकोटा र उनका भतिजासमेत रहेका पोलिट्ब्युरो सदस्य युवा नेता माधव सापकोटाको दाबी छ । सभामुखसमेत भइसकेका काका प्रत्यक्ष निर्वाचन लड्न नहुने भन्दै माधवले टिकटमा दाबी गरेका छन् । 

अग्निलाई डेढ वर्षपछि हुने निर्वाचनबाट राष्ट्रियसभामा लैजाँदा राम्रो हुने विकल्पसमेत उनले प्रचण्डसहित नेताहरुलाई सुझाएका छन् । माधव सिन्धुपाल्चोकमा माओवादी इतर युवा पंक्तिबीच समेत लोकप्रिय छन् ।  

चितवन–३ मा अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने पक्काजस्तै छ । प्रचण्डले सार्वजनिक रुपमै पटकपटक आफू चितवन–३ बाटै उम्मेदवार बन्ने बताएका छन् । यअसघि उनी ०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

गठबन्धनमा भागबण्डा हुँदा पाएको गोरखा–२ मा माओवादीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हँसिया हथौडा चिन्हबाट उम्मेदवार बनाउँदैछ । चुनावपछि भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादीमा समाहित हुनेबारे सैद्धान्तिक सहमति प्रचण्ड र भट्टराईबीच भइसकेको छ ।

लमजुङ–१ मा महासचिव देव गुरुङ उठ्ने तयारी छ । कास्की–१ मा राजकाजी गुरुङ उठ्ने छन् भने बागलुङमा शिक्षामन्त्री समेत रहेका देवेन्द्र पौडेल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले दाबी गरेका छन् । दुईमध्ये एक उम्मेदवार बन्ने पक्का छ ।

कपिलवस्तु–१ मा चन्द्रप्रकाश खनाल, र रुकुम पूर्वमा गणेशमान पुन वा उनकी पत्नीसमेत रहेकी कमला रोका उम्मेदवार बन्ने छन् । रोका हाल प्रतिनिधिसभा सदस्य छिन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पूर्वअर्थ र ऊर्जामन्त्री एवं उपमहासचिव वर्षमान पुन उम्मेदवार बन्ने निश्चित छ ।

कृष्णबहादुर महराले आफ्नो नाम समानुपातिक सूचीमा राख्न लगाएपछि दाङ–२ बाट रेखा शर्मा र निर्मल आचार्यले दाबी गरेका छन् ।

बाँके–१ बाट वर्तमान खेलकुदमन्त्री महेश्वर गहतराज, बर्दिया–२ बाट सन्तकुमार थारु, प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेका जुम्लाबाट नरेश भण्डारी, कालिकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, रुकुमपश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा र हुम्लाबाट छक्कबहादुर लामा वा छिमी लामा उम्मेदवार बन्ने तयारीमा छन् ।

यसअघि ०७४ मा स्वतन्त्र उठेर छक्कबहादुर विजयी भएका थिए । तर, निर्वाचन जितेपछि उनी माओवादीमा समाहित भए । उनले पराजित गरेका छोरी ज्वाईं छिमी लामा पनि यसपटक टिकटका दाबेदार छन् । यस्तै कञ्चनपुर–१ बाट बिना मगर उम्मेदवार बन्ने पक्का छ ।

गठबन्धनबाट माओवादीले पाउने सोलुखुम्बु, अछाम–१, कैलाली–२ र ३ तथा बैतडी भने उम्मेदवार तोक्न बाँकी छ ।

गठबन्धन भित्र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले १४ सिटमा चित्त बुझाएको छैन । आवस्यक परे एक्लै चुनाव लड्न तयार रहेको बताएपछि गठबन्धनका अन्य दलले जसपाले गठबन्धन तोडेमा बाँकी १४ सिट पनि बाँडेर उम्मेदवारी उठाउने तयारी गरेको कार्यदलका एक सदस्यले समाचार दैनिकलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर