बडा दशैको शुभकामना
संस्कृति पहिचान हो । संस्कृति सभ्यता हो । संस्कृति मानव जातिको स्थायी सम्पत्ति हो । संस्कृतिको जन्म ,विकास,विस्तार र विनास समय कालखण्डमा हुँदै आएकोछ । कुनै संस्कृति व्यक्तिबाट सुरू भयो । जसको लिखित ईतिहास छ । कुनै संस्कृति कसले सुरू गर्यो ? कहिले सुरू भयो ,त्यसको कुनै लिखित ईतिहास छैन । जुन निरन्तर संस्कारको रूपमा चल्दै आएकोछ । चाड र पर्वहरू संस्कृतिका आधार हुन् । दशैं लोक संस्कृति हो । आज आफ्नो संस्कृतिको अवहेलना गर्ने र बाह्य संस्कृतिको अन्धानुकरण गर्ने प्रवृत्ति बढ्दै गएकोछ । यसले बिस्तारै नेपाली पहिचान हराउँदै जाने देखिन्छ ।
बहुलवाद र बहुुल साँस्कृतिक परम्परा हाम्रो साझा पहिचान हो । विविधता भित्रको एकता ,सद्भाव र सहिष्णुता हाम्रो बिशेषता हो । भनिन्छ , दशैँ हिन्दुहरूको महान चाड हो ।तर होइन । दशैँ आम नेपालीहरूको महान् चाड हो । दशैँ सबै जातजातिहरूको साझा चाड हो । यसलाई मनाउने तरिका फरक हुन सक्छन् । छन् । हिन्दु र दशैँ चाड मनाउने तरिका बिच पटक्कै मेल भने छैन । यो चाड सद्भावको चाड बन्न सकेन ।
ओंकारमूल( मन्त्राढ्यः पुनर्जन्म दृढासयस्र
गोभक्तो भारत ( गुरूर्हिन्दु हिंसन दूषतस् रर (माधव दिगविजय ) ओमकारको मूल मन्त्र जप्ने ,पूनर्जन्ममा विश्वास राख्ने ,गाईको भक्त , भारतीय प्रवर्तक भएको , हिंसालाई निन्दा गर्ने मात्र हिन्दू हुन् । यसरी हेर्दा हिन्दूको छुट्टै पहिचान छ । हिन्दू हुनुमा गर्व हुन्छ तर दशैंमा देवीदेवताको नाममा शक्ति पीठहरूमा गरिने वली पूजाले दशैं चाड हिन्दूहरूको महान चाड हो भन्न पनि लाजमर्दो भएकोछ । रावण, महिषासुर राक्षस , शुम्भ र निशुम्भले गरेका निर्मम अत्याचारको अन्त्यको खुशियालीमा दशैं मनाउने गर्छौं भने अर्कोतर्फ निर्दोष प्राणीको हिंसा गर्ने शुम्भनिशुम्भ प्रवृत्तिलाई बढवा दिइरहेका छौं । यसले हिन्दू संस्कारलाई नै बद्नाम गराएकोछ ।
तराईमा दशैंलाई दशहरा भनिन्छ । दशैंको सामाजिक, साँस्कृतिक र पौराणिक महत्व भिन्न छ । दशैंको सुरूवातका सम्बन्धमा केही पौराणिक कथाहरू पढ्न र सुन्न पाइन्छ । यो चाड भगवान् रामले रावणलाई मार्न देवीको आराधना गरेको हुनाले तिनै देवीको सन्मानमा दशैंको सुरूवात भएको विश्वास छ । त्यस्तै भवानी दुर्गाले महिषासुर नामको राक्षसलाई मारेको उत्सवको सम्झनामा दशैं चाडको सुरू भएको अर्को किंवदन्ति छ । शुम्भ निशुम्भको बदसँग पनि जोडएकोछ ।
द्वापर युगको अठ्ठाइसौं सय वर्षबाँकी छँदा देव र असुरहरूको युद्ध हिमालयको काखमा भयो। असेरियनमुलका दुई दाजुभाइ शुम्भ निशुम्भले जताततै लुटपाट र आतङ्क मच्चाउने ,देवमुलका मानिसहरूलाई कठोर यातना दिने , हत्या गर्ने , नारीहरूलाई दास बनाउने , नरवली दिने कार्य गरे । त्यसबेला हिमालयको काखमा स–साना जनपद थिए र तिनको प्रमुख नारीहरू हुन्थे । शुम्भ र निशुम्भबाट राज्यको सुरक्षाको लागि काश्मीरदेखि किराँतसम्मका सातवटी मातृप्रधानले एउटा संघ गठन गरे । जसको प्रमुखमा दुर्गालाई रोजियो । त्यसवेला किराँत राज्यलाई दुर्गला भनिन्थ्यो ।
दुर्गाको नेतृत्वमा युद्ध भयो । युद्धमा किराँत ,खस ,गन्दर्व र भोक्तकगणहरू लडे । चण्डमुण्ड र शुम्भनिशुम्भ मारिए । युद्धको बेला असुर पक्षहरूले धेरै अन्न जलाए । पशुप्रति दुव्र्यवहार गरे । त्यसैले अन्न र पशु प्रतिको सम्मान स्वरूप दही र चामल मुछेको टीका लगाउने चलन चलाए । त्यसैबेलादेखि दुर्गाले उनलाई भेट्न आउनेलाई स्वागत गर्दा अक्षताको टीका लगाइदिने चलन चलाइन् । तिब्बतिहरूमा भने चामलको अभावमा गहुँको पिठो कुमकुममा चढाउने र घिउमा मुछी टाउकोमा लगाइदिने चलन आज पनि छ । ९संस्कृति विशेषाङ्क पेज नं ८८२०। वास्तवमा यो चाड अन्याय बिरूद्ध लड्ने सबै जात जातिहरूको साझा चाड हो । यो कुनै जाति र धर्म विशेषको चाड नभई सबै जातजातिको साझा चाडको रूपमा सुरू भएको देखिन्छ । दशैंले असत्यमाथि सत्यको विजयको सन्देश दिएकोछ । अस्त्यमाथि सत्यको विजय हुनु भन्ने कुरा कुनै जातिविशेषको हुनै सक्दैन ।
दशैंको दशमीको दिनको भने विशेष महत्त्व छ । यस दिन दुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट ू आयुद्रोण नसुते ‘।।कृतिश्च नारायणेू को मन्त्रोच्चारण सहित अक्षता र जमरा ग्रहण गर्ने र आशिष थाप्ने चलन छ ।
विजया दशमीको अवसरमा एक आपसमा उन्नति ,प्रगति एवं सुस्वास्थ्यको शुभकामना आदान प्रदान गर्ने चलन छ । विजय दशमीको दिन भवानी दुर्गाको प्रसादलाई मन्त्रोच्चारण सहित आशिष दिने र लिने गरिन्छ । दशैंको शुभकामना र आशिष भने देशको नयाँ बुर्जुवा वर्ग , केही भ्रष्ट नेता तथा कर्मचारी र तिनका आसेपासेलाई भने लागेकोछ । जे चितायो त्यही पुगेको छ । सम्पन्न धनधान्यपूर्ण भएका छन् । किसान र मजदुरलाई जति धुते पनि जति लुटेपनि माथिको आशिष र वरदान पाए पछि ठूला बन्दारहेछन् । रामायणमा भनेझैँ कलि युगमा आशिष र त्यसको फलिफाप नैतिक भ्रष्टलाई लाग्छ । त्यस्तै भएकोछ यहाँ । तिनलाई नै द्रोणको जस्तो आयु , दशरथको जस्तो श्री , राघवको जस्तो शत्रुक्षय गर्ने शक्ति , नउस राजाको जस्तो प्रताप ,हावाको जस्तो गति , दुर्योधनको जस्तो मान ,प्राप्त भएकोछ । दुर्गा भवानी पनि तिनैको पछि लागिन् । बलेको आगो सबैले तात्छन् भनेझैं भएकोछ । आज दुर्गा भवानीले शुम्भनिशुम्भको वद गरि जनपदको रक्षा गरेको पौराणिक ईतिहास कथामात्र बनेकोछ ।
किसान र मजदुर वर्गलाई भने कहिल्यै दशैंको आशिष लागेन । दुर्गा भवानीको आशिष किसान र मजदुर वर्गका लागि फलिफाप भएन । किसान र मजदुरहरूले दुर्गा भवानीलाई खुशी पार्ने मन्त्र शुद्धसँग पढ्न जानेनन् वा फलफूल ,नैवेद्य र भेटी सही तरिकाले चढाउन जानेनन् । त्यसैले होला दुर्गा भवानीको आशिष नलागेको ,धनधान्य पूर्ण नभएको । सँधैं उस्तै । आजपनि गाउँ र सहरमा चण्डमुण्ड र शुम्भनिशुम्भको ज्यादति व्याप्त छ । भनिन्छ, आशिष दिने र लिने मिल्नु पर्छ । नत्र आशिष लाग्दैन । त्यसैले होला किसान र मजदुरलाई कहिल्यै आशिष लागेन ।
मजदुर र किसानको झुप्रोमा दशैंले छोएको पनि छैन । झुप्रो सँधैं अँध्यारो छ । पेट भोको छ । एउटा झुम्रोले वर्षदिन कट्छ । दशैं खर्चको लागि किसान र मजदुरले साहूसँग ऋण काढ्नुपर्छ । सरकारले विदेशी ऋण लिएर झन ऋणमाथि ऋणको भार बोकाएकोछ । बोकाउँदैछ । किसान र मजदुरले ऋण विनाको दशैं कहिले मनाउन पाउलान् ।
अन्त्यमा दुर्गाभवानीको प्रसादले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा अन्याय विरूद्ध , मौलाएको भ्रष्टचार विरूद्ध,लुटतन्त्र र अधिनायन शासन विरूद्ध लड्नसक्ने उर्जा प्रदान गरोस्, साथै यस पावन अवसरमा देशमा सुशासन कायम होस् यही मेरो पनि शुभकामना ।
नेपालहिरुको महान पर्व विजयादशमी तथा शुभदिपावली र छठपर्वको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा हार्दीक मंगलमय शुभकामना सहित अध्यक्ष माध्यमिक शिक्षक युनियन नेपाल
प्रतिकृया दिनुहोस