कविताः रजस्वला
सृष्टिको आरम्भ रजस्वलाबाट हुन्छ
सभ्यताको प्रारम्भ रजस्वलाबाट हुन्छ
हरेक बिहान धर्तीमा सूर्यको रजस्वलाबाट निस्केको
अनगिन्ती रातो किरणको छिटिटाले स्पर्श गर्छ
उसै गरी आलो मलिलो माटो परिपक्व हुन्छ
धर्तीमा मूल फुट्दै रजस्वला हुन्छ अनि आँचल भर्छ
त्यही रजस्वलाबाट निष्कासित पानी सबेरै
तुलसी मोडमा छर्कँदै वरदान माग्छौ
रुखको खिललाई चोट दिएर निमोठेका फुलहरू
बोल्दै नबोल्ने अदृश्य देवी देवता भाग्छौ
महिनामा एक पटक रजस्वला हुँदा
मलाई किन छौ गोठ पटाउँछौ ?
के तिमी तिम्रो आमाको रजस्वला बिना जन्मियौ ?
यस्तो बेला पेट यसरी दुख्छ यसरी दुख्छ
यस्तो लाग्छ शरीरमा अग्नि प्रस्थान गरेको छ ।
यो कम्मर दुईवटा टुक्रामा विभाजन भएर
एउटा शिर अर्को पाउ पुगेको अनुभव हुन्छ ।
लाग्छ दिकको बातीमा बलेको आगो
टिपेर कसैले झोसिदिएको अनुभव हुन्छ ।
तिमीले गुप्ताङ्ग ढाक्न दिएको टालो
कैले काहीँ सुती नभएर कटन पर्दो रहेछ ।
त्यही खस्रो रुवाले नरम छाला पाछेर
चरचर पिडाले मरे तुल्य हुने गरी पोल्दो रहेछ ।
ओछ्याएको पराल कति वेला आफैसँग निदाउँछ थाछैन
नब्युँझने गरी ओताएको खर सेउला ओढिन्छ थाछैन
अनि प्रत्येक महिना पाँच दिन
मलाई किन छौ गोठ पटाउँछौ ?
म त तिम्रो सहयात्री हुँ पाइलामा पाइला मिलाउँछु
तिम्रो दुखहरू थोरै थोरै अञ्जलीमा भरेर सिलाउँछु
आधारातमा स्याल कराउँदा अस्ति भरखरै दिलमाया
छ गोठमै चितुवाको आहारा भएको सम्झना हुन्छ
परम्परा जोगाउन तिमीले मलाई छौ गोठ पटाउँदा
कटकट मन दुखेर मुटुले परेलीहरू छुन्छ ।
पोहोर साल स्वर्गको देवताहरू प्रसन्न भएर
सुनमाया काकी दुधे बालक सहित छोपेर गयो ।
त्यही साल स्वर्गद्वारीका लाहुरेहरू रक्सीको सुरमा
बेलमाया दिदीलाई पालैपालो मकैलाई जस्तै च्यातेर गयो ।
यो गोठमा हावा पनि दश वार सोचेर पस्छ
त्यो जुन त्यो ताराहरू डराएर परै बस्छ ।
आँसु सँगै रगत पिउँदा पसिनामा रहरहरू बगाउँदा
तिम्रो तस्बिरको देवता ढुङ्गाको मूर्ति प्रसन्न हुँदैन ।
ती कथाको देवीलाई रजस्वलाले छुँदै छुँदैन ।
रजस्वला भगवान्ले हैन प्रकृतिले दिएको वरदान हो
पाठेघर सफा गरी कोपिला फुलाउन ऋतु प्रतीक दान हो
त्यसैले तिम्रो माया समाजको सहयोग चाहिन्छ ।
हामीलाई निर्दयी छौ गोठ होइन
किनकि
सृष्टिको आरम्भ सभ्यताको प्रारम्भ रजस्वलाबाट हुन्छ ।
इलाम २०७९।०७।१४
प्रतिकृया दिनुहोस