• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मोरङ क्षेत्र नं. ४ः मोदी र ढकालमा को असली कम्युनिष्ट ?

वि.सं. २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा (प्रदेशको पनि निर्वाचन हुँदैछ तर यस आलेखमा प्रदेशको चर्चा गरिएको छैन) मोरंग क्षेत्र नं. ४ मा पनि सत्ता गठबन्धन र एमाले बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । हुन त मोरंगमा ६ वटा क्षेत्र छन तर यस आलेखमा किन ४ नं. कै चर्चा गरिदैछ भन्ने जिज्ञासा लाग्न सक्छ । यो यसकारण हो कि एमालेले अन्य क्षेत्रमा जितको आशा त्यति गरेको छैन (एमाले कार्यकर्ताहरुकै मनोविज्ञानका अनुसार) । त्यसैले उसले सबै तागत ४ नं. क्षेत्रमा लगाएको छ । 

यस क्षेत्रको चुनावी दृश्यमा २ जना महत्वपूर्ण व्यक्तित्वहरु देखिन्छन, लोकतान्त्रिक बाम गठबन्धनका अमनलाल मोदी अनि एमालेका नेता विनोद ढकाल । मोदी र ढकाल दुवै कम्युनिष्ट नामका पार्टीसँग सम्बन्धित् छन् । अर्थात् प्रतिनिधि सभामा यस क्षेत्रबाट जो भएपनि एउटा कम्युनिष्ट विचारको व्यक्तिले प्रतिनिधित्व गर्ने करीब निश्चित छ । अब मतदाताले फैसला गर्नु पर्ने छ, मोदी र ढकाल मध्ये कुन कम्युनिष्टलाई छान्ने ?  

जसरी चिनी हुनका लागि त्यसको स्वाद गूलियो हुनु पर्छ, त्यसरी कसैले आफु कम्युनिष्ट भएको दाबा गर्छ भने उसमा केही विशेषताहरु हुनु पर्दछ । कम्तिमा पनि उ जनताको सेवक, नैतिक आचरणमा बसेको र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकार निशुल्क हुनुपर्ने कुराको वकालात गर्ने हुनुपर्दछ । मोरङ क्षेत्र नं. ४ मा निर्वाचन लड्दै गरेका मोदी र ढकाल मध्ये तुलनात्मक रुपमा कम्युनिष्ट चरित्र अमनलाल मोदीमा छ भन्दा कसैको विमति नहोला । विगतमा ढकालको छवि नकारात्मक देखिएको छ । जनताको सेवा गर्ने भन्दा पनि जनतालाई दुख दिने अपराधी र गुण्डाहरुको संरक्षण गरेको कुरा धेरैलाई थाहा छ ।

एमालेको सत्ता र शक्तिका आडमा कम अवधिमा अकुत अर्थोपार्जन गरेको कुरा यहाँका मानिसले देखेका छन् । महँगो शुल्क लिने नीजि स्कुल चलाएर समाजवादको खिल्ली उडाएको कुरा थाहा नपाउने को होला र ! अर्कोतिर मोदी यी कुराबाट टाढा छन् ।  बरमझियामा पेडाका धेरै पसल छन् । ति सबैले शुद्ध पेडा विक्री गर्ने दाबी गरेका हुन्छन् तर सबै शुद्ध छैनन् । मोरङ क्षेत्र नं. ४ मा पनि कम्युनिष्ट पार्टीका नाममा विनोद ढकाल र अमनलाल मोदीले भोट मागिरहेका छन् । बरमझियामा पेडा खरीद गर्ने ग्राहक अलमलिएजस्तै यहाँ पनि मतदातामा अन्यौल हुन सक्छ ।

त्यसैले धेरै अलमलमा पर्नु भन्दा तुलनात्मक रुपमा अमनलाल मोदीमा कम्युनिष्टमा हुनुपर्ने आचरण छ भनि बुझ्नु उपयुक्त हुन्छ । मोदीले चूनाब जितेर संसदमा शिक्षा र स्वास्थ्यको व्यापारीकरणको विरुद्ध नीति वा कानून बनाउन भूमिका खेल्न सक्छन् जुन ढकालबाट संभव छैन । मोदी भ्रष्टाचार विरुद्ध खरो उत्रन सक्छन तर ढकाल सक्दैनन । मोदी अहिले पनि शोषित, पीडित र निम्न वर्गका मानिससँग घुलमिल गर्छन तर ढकालको सम्बन्ध उच्च घरानियासँग मात्र छ । त्यसैले एमालेका ढकाल भन्दा मोदी नै असली कम्युनिष्ट हुन् भन्ने बुझ्दा यस क्षेत्र र समग्र देशको हीतमा छ ।  

(लेखक स्वतन्त्र बाम बुद्धिजीवी हुन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर