• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दुबै गठबन्धनलाई हराउँदै पाँचौं प्रयासमा सफल भए राप्रपाका सिंह

मकवानपुर । प्रतिनिधसभा निर्वाचन अन्तर्गत मकवानपुर–१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन् । उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरेका छन् ।

सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय ३४ मत ल्याइन्। एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाएका छन् ।

सिंहले हालसम्म जनप्रतिनिधिका रुपमा कुनै पनि निर्वाचन जितेका थिएनन् । २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भए ।

त्यस्तै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए । सिंह गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए ।

पराजित भए पनि अप्रत्याशित रुपमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका सिंह पाचौं पटक निर्वाचित हुन सफल भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर