• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संसदमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व न्यून

काठमाडौं । आम निर्वाचन २०७९ मा प्रतिनिधि सभामा प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार खडा गर्न नै कन्जुस्याइँ गरे । दलहरुले महिला उम्मेदवार उठाउन कन्जुस्याइँ गरेर उठाएका थोरै महिला उम्मेदवारमा पनि अधिकांश पराजित भएका छन् । 

निकै कम मात्र महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाइएकोमा जितको प्रतिशत पनि न्यून  रहेको छ । शुक्रबारसम्म प्रत्यक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका सात जना निर्वाचित भएका छन् । कांग्रेसबाट अहिलेसम्म एक जना पनि महिला उम्मेदवार निर्वाचित भएका छैनन् । एकीकृत समाजवादी र राप्रपाका महिला उम्मेदवार पनि जितविहीन भएका छन् । कांग्रेसका दुई महिला उम्मेदवार भने अहिले पनि प्रतिस्पर्धामै  रहेका छन् ।

निर्वाचित महिला उम्मेदवारमा एमालेबाट विद्या भट्टराई, ज्वालाकुमारी साह, जुलीकुमारी महतो छन् । एमालेबाट उम्मेदवार बनेकामध्ये पद्मा अर्यालको क्षेत्र स्याङ्जामा मतगणना सुरु भएको छैन । भगवती चौधरीको सुनसरी ३ र मञ्जु चौधरीको उदयपुर १ मा अन्तिम परिणाम आइसकेको छैन । नेकपा (एमाले)का ११ महिला उम्मेदवारमध्ये अन्य पराजित भइसकेका छन् । 

कांग्रेसले प्रतिनिधि सभामा पाँच जनालाई मात्र उम्मेदवार बनाएको थियो । जसमध्ये दुई जना अझै प्रतिस्पर्धामै छन् भने अन्य उम्मेदवार पराजित भइसकेका छन् । चित्रलेखा यादव र सीता गुरुङको क्षेत्रमा अन्तिम परिणाम आइसकेको छैन । 

यस्तै आठ जनालाई उम्मेदवार बनाएको माओवादी केन्द्रबाट हालसम्म रेखा शर्माले मात्र जित हासिल गरेकी छन्  पूर्वसभामुख ओनसरी घर्ती, बहालवाला मन्त्री पम्फा भुसाललगायत पराजित भइसकेका छन् । एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा एक मात्र महिला उम्मेदवार रामकुमारी झाँक्री पराजित भइसकेकी छन् । गुल्मी २ बाट उम्मेदवार बनेकी झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भउकी  हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिलेसम्म दुई जना निर्वाचित भएका छन् । ललितपुर ३ बाट डा. तोसिमा कार्की र काठमाडौँ २ बाट सोविता गौतम निर्वाचित भएका हुन् । स्वतन्त्र पार्टीबाट सुनसरी १ मा गोमा तामाङले अग्रता कायमै राखेकी छन् । स्वतन्त्र पार्टीले १२ महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको थियो। 

आठ जनालाई प्रत्यक्षमा उम्मेदवार बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना पनि महिला उम्मेदवार विजयी हुन सकेनन् । काठमाडौँ २ मा कुन्ती पोखरेलबाहेकका अन्य उम्मेदवार प्रतिस्पर्धामा पनि आउन सकेनन् । नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठले जित निकालेकी छन् । कैलाली १ बाट उनी निर्वाचित भएकी हुन् । 

कसरी पूर्ति हुन्छ ?
प्रत्यक्षमा प्रतिनिधित्व घटेपछि दलहरूलाई कानुनी व्यवस्थाअनुसारको ३३ प्रतिशत महिला प्रतिनिधित्व पु(याउन अब समानुपातिकमा भर हुनेछ । समानुपातिकतर्फ दलले प्राप्त गरेको मतअनुसार अब दलहरूले महिला, आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएको क्षेत्रलगायतका समूहबाट प्रतिनिधित्व गराउनुपर्ने छ । जसका लागि यसअघि निर्वाचन आयोगमा पेस गरेको बन्दसूचीको क्रमअनुसार पूर्ति हुनेछ । 

निर्वाचन आयोगमा कांग्रेसले बुझाएको बन्दसूचीमा खसआर्य महिलाको सूचीमा क्रमशः अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला, कान्तिका सेजुवाललगायतको नाम छ । यस्तै थारू समूहतर्फ महिलामा कल्पना चौधरी, बिनाकुमारी थनेत, जीवन रानाथारू, सुशीला चौधरीको नाम छ । दलित महिलातर्फ शान्ति विक, रूपा विक, सीता मिजारको नाम क्रमशः समावेश छ । मधेशीतर्फ महिलामा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डललगायतको नाम छ। मुस्लिमतर्फ महिलामा जावेदा खातुन, देवकला सुवेदी (कमाल), नजबुल खानको नाम क्रमशः छ । 

यस्तै एमालेबाट आदिवासी जनजाति महिलामा नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे र ईश्वरी घर्तीको नाम क्रमशः सूचीमा छ । खसआर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइरालालगायतको नाम छ। यस्तै थारू महिलामा आष्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी दगौराको नाम क्रमशः सूचीमा छ । 

दलित महिलामा रुक्मिनी राना बराइली, हर्कमाया विश्वकर्मालगायतको नाम छ। मधेशी महिलामा बिना देवी, अमृतादेवी अग्रहरि, प्रतीक्षा तिवारी मुखिया, यशोदा कुमारीको नाम क्रमशः सूचीमा छ। मुस्लिम महिलामा रुही नाज, साजिदा खातुन सिद्दिकी र सैहरा खातुनको नाम क्रमशः सूचीमा छ । 

यस्तै माओवादी केन्द्रको आदिवासी जनजाति सूचीतर्फका महिलामा क्रमशः दुर्गा राई, मीना तामाङलगायतको नाम छ । यस्तै खसआर्य महिलामा ज्ञानु बस्नेत, विमला सुवेदी, नारायणी शर्मालगायतको नाम छ। थारू समूहबाट महिलामा क्रमशः रूपा चौधरी, गायत्री चौधरी, सुशीला चौधरीलगायतको नाम छ । 

दलित महिलामा क्रमशः सुशीला श्रीपाली, पार्वती विक, गीता गहतराजको नाम छ। मधेशी महिलातर्फ मीना यादव, अमरावतीदेवी यादव, शिवादेवी यादवलगायतको नाम क्रमशः छ । यस्तै मुस्लिम महिलातर्फ कल्पना मियाँ, जरिना बेगम र जावेदा खातुनको नाम सूचीमा छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजातिको समावेशी महिलातर्फको सूचीमा क्रमशः इन्दिरा रानामगर, सुमना श्रेष्ठ तथा विन्दवासिनी कंसाकारको नाम छ । यस्तै खसआर्य महिलाको सूचीमा डा. चन्दा कार्की, निशा डाँगी तथा चन्द्रा ऐरको नाम क्रमशः छ। यस्तै थारू महिलाबाट सविना महतो, पुष्पाकुमारी चौधरी र लक्ष्मीकुमारी चौधरीको नाम क्रमशः छ। यस्तै दलित महिलातर्फ क्रमशः कल्पना रोका, रूपा शङ्कर र सविना विश्वकर्माको नाम छ। मधेशी महिलामा लक्ष्मी तिवारी, निशा मेहतालगायतको नाम क्रमशः छ । मुस्लिम महिलातर्फ समिना मियाँ, समिउन निसा र रजिया खातुनको नाम क्रमशः छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर