विदेशमा सिकेको सीपले जन्मभूमीमै १० जनालाई रोजगारी

माेरङ । पारिवारिक सुखका लागि  सन् २००६ मा  खाडी देशमा रोजगारीका लागि होमिएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाए । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किएका उनले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै उपयोगमा ल्याउन सदाका लागि वैदेशिक रोजगारी त्यग्ने सोच बनाए  ।

वैदेशिक रोजगारीमा सङ्गालेको अनुभवलाई समेटेर निरौलाले रु  ५० लाखको लगानीमा उर्लाबारी–५ स्थित सिर्जना चोकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गरे । विदेशमा कमाएको सबै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उनले   लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरे पनि निरन्तर उद्योग सञ्चालनमा लागिरहँदा आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रूपमा स्थापित भइएको बताए ।

उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भयो । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको बताउँदै निरौलाले  यस उद्योगबाट बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भइरहेका उनले बताए । हाल बजारमा डुनोट, ब्रेड र केकको बढी माग हुने गरेको उनको भनाइ छ  ।  आफ्नो उद्योगमा दैनिक १० जनाले निरन्तर काम गरिरहेका भए पनि बजारको माग धान्न मुस्किल   रहेको उनले बताए । 

नोभा बेकरीका उत्पादन पूर्वी मोरङका मुख्य सहर उर्लाबारी, पथरी, बेलबारी, विराटचोक,  झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो माग भएपछि आधिकारिक बिक्री काउन्टर खोल्ने सोचमा उनी पुगेका छन् ।  हालसम्म उद्योगबाटै उत्पादित वस्तुलाई बजारसम्म लाने गरिएको र अब उर्लाबारी चोकको पश्चिमतर्फ रोड हाउस क्याफेसँगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यवसायलाई विस्तार गर्ने सोचमा आफु भएको उनको भनाइ छ । 

उद्योग सञ्चालनमा आएको सात वर्ष नबित्दै नोभाका उत्पादनको व्यापार फस्टाउँदै गएको छ । उनीसँगै परिवारका सदस्य र कामदारलाई बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैँ हतारो हुने गरेको उक्त व्यापारलाई  नजिकबाट नियाल्नेहरुले बताए । गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाइँ बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराईले उल्लेख गरे  ।

होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका र  चाडपर्वमा बढी उत्पादन र बिक्री हुने उनले बताए । आफूले नोभाकै बिस्कुट र पाउरोटीहरु बिक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेसनमा रहेको श्रेष्ठ होटलका सञ्चालक राम श्रेष्ठको भनाइ थियो । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनुभएका निरौलाले होटल, पार्टी प्यालेस  र व्यक्तिगत माग पनि धान्दै आएका छन्  ।

स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सपरिवार लागिपरेका  उनले बताए । बजारमा आफ्नो उत्पादन नयाँ नै भएको र आफुहरु सिकिरहेकाले फड्को मारेको भन्न नमिल्ने उनको भनाइ छ ।  उनको  सबै खर्च कटाएर मासिक एक लाख ५० हजारको हाराहारीम बचत हुने गरेको छ  । तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप हासिल गर्न  आफु बढी केन्द्रीत रहेको र आफ्नो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर