• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ठेक्कामा बदनाम सांसद कान्छारामको धरौटी जफत हुँदै

काठमाडाैं  । ठेक्कामा बदनाम सांसद कान्छारामको धरौटी जफत हुने भएको छ ।  रामेछापको साँघुटारदेखि ओखलढुंगाको घोराखोरीसम्म सडक कालोपत्र ठेक्का पारेर ६ वर्षसम्म कुनै काम नगरेका ठेकेदार कान्छाराम तामाङले लमजुङमा पनि कालोपत्रे ठेक्का पारेर अलपत्र छाडे पछि धरौटी जफत हसने भएको हो ।

विभिन्न ठाउँमा ठेक्का पारेर काम नगरेपछि कालोसूचीमा परेका कान्छाराम भने गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रामेछापबाट कांग्रेसको टिकटबाट संघिय सांसद भएका छन् । कान्छाराम–नाना जेभीले करिब १० किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का पारेको क्व्होलासोँथार गाउँपालिका वडा नम्बर १ बागलुङपानीदेखि घलेगाउँसम्मको सडकमा कुनै काम हुन नसकेपछि स्थानीय जनप्रतिनिधिले ठेकेदारको खोजी थालेका छन् ।

२०७८ असोज ३० सम्म काम सक्ने गरी २०७६ साल असोजमा कान्छाराम–नाना जेभीले १० किलोमिटर सडक कालोपत्रेको ठेक्का पारेको थियो । करिब ३५ करोड रूपैयाँको सो ठेक्का परेपछि केही ठाउँमा पर्खाल उठाउने र केही ग्राभेल बिछ्याउनेबाहेक कुनै काम नभएको स्थानीयको भनाइ छ । पछिलो समय ठेकेदारले कुनै पनि काम नगरेको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए  ।  ठेक्का पारेर मोबिलाइजेशन रकम लिने र त्यसपछि काम नगर्ने भनेर बदनामी कमाएका ठेकेदार कान्छाराम तामाङले उल्टै स्थानीय जनता र जनप्रतिनिधिहरुलाई धम्की दिने गरेका छन् । 

यसै सातामात्र ओखलढुंगाको लिखु गाउँपालिका २ सिंहदेवीमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ठेकेदारले ६ वर्षदेखि काम नगरी विकास अलपत्र पारेको भनेर आलोचना गर्दा उल्टै कान्छारामका प्रतिनिधि ठेकेदार राजन सुवेदीले उपाध्यक्षमाथि जे पनि हुनसक्ने धम्की दिएका थिए । सो क्रममा सुवेदीले मानमर्दन हुने शब्द समेत प्रयोग गरेर उपाध्यक्ष थापालाई गालीगलौज गरेका थिए । सुवेदी नेपाली कांग्रेस ‌ओखलढुंगाका नेता समेत हुन । 

लमजुङको क्व्होलासोँथार गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम घले र वर्तमान अध्यक्ष सूर्य गुरुङले समेत पटकपटक कान्छारामलाई भेटेरै पनि सडक कालोपत्रे गर्न आग्रह गरेका थिए । तर, पछिल्लो समय ठेकेदार र उनका प्रतिनिधि नै सम्पर्कविहीन भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताएका छन् । मंसिर ४ गतेभन्दा अगाडिसम्म केही काम भएपनि त्यसपछि काम नभएको उनको भनाइ छ ।  काम पनि नगर्ने र सम्पर्कमा समेत नआउने भएपछि धरौटी जफतका लागि बैंकमा प्रक्रिया थालिएको बताइएको छ ।

कान्छारामले दाङमा पनि सडक ठेक्का लिएर मोबिलाइजेशन रकम निकालेपछि काम नगरी अलपत्र पारेको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर