• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जोगी कसरी भोगी भए ?

एकजना जोगी थिए । बनको बीचमा रुखको हाँगामा चमेरो झुण्डिँदा झैँ उल्टो झुण्डिएर बस्थे । केही नखाई, केही नपिई दशौं बर्ष देखि यसरी नै झुण्डिएका छन् भन्ने हल्ला थियो । भक्तजनहरुले थरी थरीको खाने कुरा लिएर जान्थे तर उनले कहिल्यै पनि खाएनन् । खाना नखाइ बाँच्ने यस्तो कुरा कसरी सम्भव भयो रु भनेर भक्तजनहरु अचम्भित थिए ।

भक्तजनहरुमध्ये एकजना सुन्दरी युवती थिइन् । उनलाई जोगीको यो रहस्य बुझ्न मन लाग्यो । राती सबै भक्तजनहरु आआफ्नो घर गए । युवती नजिकैको झाडीमा लुकेर बसीन । उनले अचम्म देखिन । सबैजना गएपछि रातीको बाह्र बजे तीर जोगी चाँही डोरीमा मच्चिँदा रहेछन् । जोडले मच्चेर रुखको फेदसम्म पुग्दा रहेछन्स रुखको बोक्रो क्वाप्प टोक्दा रहेछन् अनि चमेरो झुण्डिँदा झैँ पुनः डोरीमा झुण्डिँदा रहेछन् । बोक्राको पौष्टिकताले प्रशस्त क्यालोरी पुग्दो रहेछ । ती जोगी यसरी नै बाँचेका रहेछन् ।

जोगीको रहस्य थाहा पाएपछि युवतीले एउटा जुक्ती निकालिछन् । भोलीपल्ट देखि जोगीले थाहा नपाउने गरि जोगीले बोक्रो टोक्ने ठाउँमा मीठो खीर टाँसेर राखिदिइछन । सधैँ झै रातीको बाह्र बजे जोगी मच्चीए । आज उनको मुखभरी मीठो खीर लाग्यो । जोगीलाई आश्चर्य लाग्यो । तर मीठो मानेर खीर खाए । त्यसको भोलीपल्ट युवतीले झन् मीठो खीर ल्याएर राखिन । जोगीले झन् मीठो मानेर खाए । यसप्रकार कैयौं रात खीर खाएपछि जोगीलाई खीरको लत लागिसकेको थियो तर युवतीको यो क्रियाकलाप देखि योगी अनभिज्ञ थिए ।

सधैँ झैं एकरात युवती मीठो खीर लिएर जोगीलाई भेट्न गइन । त्यस रात पनि जोगी मच्चीएर खीर खान गए तर त्यहाँ खीर थिएन । जोगीलाई छटपटी भयो । यतिकैमा युवती प्रकट भइन । आज उनले जोगीलाई आफ्नै हातले खीर ख्वाइन् । जोगीले मीठो मानेर खाए ।

भोलीपल्टदेखी जोगीलाई मच्चीन परेन । सबै भक्तजनहरु गएपछि युवतीले खीर लिएर आउँथिन, जोगीलाई आफ्नो हातले खीर ख्वाउँथिन्, जोगिले झुण्डिएरै खीर खान्थे, युवती आफ्नो घर जान्थीन् । एवं रितले महिनौं बीते तर जोगीले झुण्डिन भने छोडेका थिएनन् ।

एक रात को कुरो हो । युवतीले मीठो खीर पकाइन, सोह्र सिङ्गारमा सजिइन् र जोगीलाई भेट्न गइन । आज उनले जोगीलाई तल ‌ओर्लेर खीर खान अनुरोध गरिन । जोगीले युवतीको अनुरोधलाई अस्वीकार गर्न सकेनन् । आफ्नो लामो तपस्या भंग गर्दै जोगी डोरी खोलेर तल ओर्लिए । युवतीले थालमा खीर पस्केर दिइन् । दुवैजना सँगै बसेर खीर खाए ।

युवतीले प्रेम प्रस्ताव राखिन् । जोगी त पहिल्यै देखि नै युवतीको रुपमा मोहित भइसकेका थिए । तुरुन्तै स्वीकार गरे । दुवैको विवाह भयो । बच्चा बच्ची भए । अहिले ती जोगी नामी भोगी भएका छन् भन्ने सुनिन्छ । काठमाण्डौँमा एउटा भब्य महल बनाएर युवतीका साथ घरजम गरेर सुखपूर्वक बसेका छन् भन्ने सुनिन्छ ।

उपसंहारः

जोगीबाट भोगी हुने कुरो रासायनीक परिवर्तन हो । दुधबाट दही बन्न सक्छ तर दहीबाट पुनः दुध बन्न सक्दैन । दाउरा बाट खरानी बन्न सक्छ तर खरानीबाट दाउरा बन्न सक्दैन । जोगीबाट भोगी हुन सकिन्छ तर भोगीबाट पुनः जोगी हुन सकिन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर