दुई मोटरसाइकल जुध्दा तीन युवकको मृत्यु
मोरङ । मोरङमा दुई मोटरसाइकल आसपमा जुध्दा तीन युवाको मृत्यु भएको छ । घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले जानकारी दिए ।
‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो,’ डीएसपी जोशीले सुनाए, ‘दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि चिन्ताजनक छ ।’
धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका दुवै मोटरसाइकल कसले चलाएको थियो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । मृतक दीपक र विष्णु नातेदार भएका बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताएका छन् ।
प्रतिकृया दिनुहोस