‘कन्ट्री रेटिङ’ नतिजाः नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने पुष्टि भयो : अर्थमन्त्री

काठमाडौं  । अर्थमन्त्री विष्णु पौडेलले नेपालले प्राप्त गरेको ‘क्रेडिट रेटिङ’ ले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने पुष्टि भएको बताएका छन् ।

उनले नेपालले पाएको क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको बताएका छन् ।  

आज (शुक्रबार) अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ्गको नतिजाले नेपालको क्षमता (Credit Worthiness) उच्च रहेको बताउँदै वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने विषयमा लामो समयदेखि प्रश्नहरू थिए । सार्वभौम क्रेडिट रेटिङ हुनुपर्ने भन्ने कुरा  थियो ।  पहिलो पटक हामीले सार्वभौम क्रेडिट रेटिङ सम्पन्न गरेका छौं । यो सुरूवात हो,’ उनले भने, ‘अब यसलाई निरन्तरता दिन्छौं ।’ 

अर्थमन्त्री पौडेलले यसपटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपले नेपाल लगानीका लागि अनुकूल गन्तव्य हो भन्ने म्यासेज संसारभर दिएको बताए ।

यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ । उनले नेपालमा लगानी गर्न लगानीकर्तहरूलाई आग्रह समेत गरे ।

‘संसारभर रहेका लगानीकर्ताहरूलाई नेपाल लगानीका हिसाबले सुरक्षित मुलुक हो । लगानी गरेमा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने सन्देश विश्वव्यापीरुपमा प्रसारित होस भन्न चाहन्छु,’ उनले थपे, ‘नेपालमा लगानी गर्न उत्साहित हुन लगानीकर्ताहरूसँग अनुरोध गर्न चाहन्छु ।’

अर्थमन्त्री पौडेलले नेपालको सार्वभौम क्रेडिट रेटिङ्गमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने विश्वास व्यक्त  गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर