विष्णु पौडेल र पीएस गुरुङले गुट फेरेपछि विद्या रोक्ने, ओली दोहोरिने प्रस्ताव पास

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबारको सचिवालय बैठकमा गम्भीर मुद्रामा प्रस्तुत भए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो पक्षमा नभएपछि ओली गम्भीर मुद्रामा प्रस्तुत भएका हुन्। सचिवालय बैठक बसिररहेका बेला खिचिएका तस्बिरहरूमा पनि सहभागी सबै गम्भीर मुद्रामा रहेको देखिन्छ।
बैठकको सुरुवातमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने इच्छा राखेको विषयमा केही धारणा राखेका थिए। बैठकमा भण्डारीका विषयमा ओलीले भनेका थिए, ‘उहाँले पार्टी सदस्यता नवीकरण गरिसक्नु भएको छ। उहाँले सार्वजनिक रूपमा विभिन्न अभिव्यक्तिहरू दिनुभएको छ। यो विषयमा पार्टी सचिवालय बैठकमा यो छलफल गर्न मिल्ने कि नमिल्ने मिल्ने? उहाँ राजनीतिमा आउन मिल्ने हो, होइन ?’ बैठकमा अध्यक्ष ओलीले उठाएका विषयमा पालैपालो छलफल गरिएको थियो। गत असार १४ गते भण्डारीले पार्टी राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। यो विषयलाई एमाले सचिवालय बैठकमा औपचारिक रूपमा प्रवेश गराई छलफल गरिएको थियो। यो विषय पोलिटब्युरो बैठकमा पनि उठेको थियो।
एमाले राजनीतिमा भण्डारीको पुनरागमनको विषयलाई लिएर दुई धार देखिएको छ। असार १४ गते वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु अनौठो विषय नभएको अभिव्यक्ति दिएका थिए। यो विषयमा ओली जानकार थिए, छन्। वरिष्ठ उपाध्यक्ष पोखरेल भण्डारीको पक्षमा उभिएपछि ओलीले संगठनमा पकड भएका अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङको विश्वास जितेका छन्।
महासचिव शंकर पोखरेल त सुरुदेखि नै ओलीकै पक्षमा रहेका कारण त्यति समस्या छैन। उपाध्यक्ष पौडेल र गुरुङलाई आफ्नो पकडमा राख्नु ओलीका लागि आवश्यकता र बाध्यता दुवै हो।
सचिवालय बैठकमा ओलीलाई आफ्नो पक्षमा मत बलियो बनाउन उपाध्यक्ष पौडेल र गुरुङ भरोसायोग्य पात्र भएको देखाउनुपर्ने थियो।
असार २७ गते एमाले नेता खिमलाल भट्टराईले ओली र पौडेलको तस्बिर सार्वजनिक गरेपछि एमालेवृत्तमा यो कुराको करिबकरिब पुष्टि भएको थियो। ‘देशका लागि केही गरौं भन्ने ठुलो छाती भएका सफल र सक्षम मान्छेहरू,’ एमाले नेता भट्टराईको यो लेखाइले पौडेल ओलीको पक्षमा रहेको पूरै संकेत गरेको थियो।
त्यसलगत्तै खगराज अधिकारीले गुरुङको तस्बिर सार्वजनिक गरेका थिए। पार्टीमा विपरीत धारमा भए पनि यी दुई नेताबिच भेट हुनु र आत्मियता साटासाट हुनुलाई एमालेवृत्तमा कुनै नौलो मानिँदैन। गुरुङ र अधिकारीको त्यो भेट अर्थपूर्ण थियो। ‘गण्डकी प्रदेशको सवृृद्धिका सम्बन्धमा गहिरो छलफल गर्ने समय मिल्यो। हामी दुवैजनाको समान सोच रहेको छ। हाम्रो संघीय संसद् र सरकारले प्रदेशलाइ बलियो बनाउन कानुन र स्रोत परिचालनामा सकारात्मक र सार्थक प्रयत्न गर्नैपर्ने हाम्रो निष्कर्ष रह्यो,’ भन्दै अधिकारीले असार ३१ गते गुरुङसहितको तस्बिर सार्वजनिक गरेका थिए।
साउन १ गते विधान महाधिवेशनका अजेन्डामाथि छलफल गर्न बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि हुनबाट रोक्यो। पार्टीको दसौं महाधिवेशनकै प्रतिनिधिहरू नै विधान महाधिवेशनका प्रतिनिधि बन्ने भन्दै उनलाई प्रतिनिधि हुनबाट रोकिएको हो। १० घण्टा चलेको सचिवालय बैठकबाट दसौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै विधान महाधिवेशनका प्रतिनिधि बन्ने प्रस्ताव पास गरियो। एमालेको दसौं महाधिवेशन हुँदा भण्डारी राष्ट्रपति थिइन्।
सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले विधानबाट ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस गरेका थिए। बैठकमा १९ सदस्यीय पार्टी पदाधिकारी घटाएर ११ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या १९९ मा झार्नेलगायतका प्रस्ताव पौडेलले राखेको भए पनि छलफलपछि पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेमा सहमति भयो।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सबै सदस्यले धारणा राखेका थिए। सबैभन्दा धेरै समय वरिष्ठ उपाध्यक्ष पोखरेलले बोलेका थिए। उनले साढे दुई घण्टाजति राखेका धारणा अध्यक्ष ओली पानी पिउँदै सुनेका थिए। उनले भण्डारीको पार्टी राजनीतिमा प्रवेश र एमाले विधान महाधिवेशनबारे धारणा राखेका थिए। उनले ओलीलाई ‘तपाईंले अब किन नेतृत्व गर्ने’ भनेर प्रश्नसमेत गरेका थिए। त्यही क्रममा ओलील आफूले अझै एक कार्यकाल नछाड्ने बताएपछि झन् बढी भनाभन भएको थियो। पोखरेल बोलिरहेका बेला ओलीले ‘मलाई हटाउने डिजाइनमा तपाईंहरू को को हो’ भनेर प्रश्न गरेका थिए।
त्यसपछि अष्टलक्ष्मी शाक्यले आउने महाधिवेशनमा जसलाई नेतृत्वको इच्छा छ उही आउँदा हुन्छ, हामी छलफल गरौं र नेतृत्वको विकास गरांै भनेपछि छलफलमा रौनकता थपिएको थियो। बैठकमा विधानका विविध प्रावधानमा छलफल भयो। पोलिटव्युरो बैठकमा पनि यसले प्राथमिकता पायो। विधानबाट ७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्तावमा सहमति नजुटेपछि बैठक लम्बिएको थियो। पदाधिकारीबिच सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय भएको एक पदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘बहुमतका आधारमा यो निर्णय पारित भएको हो।’
७० वर्षे उमेरहद लगाउनुपर्ने विषयमा बोल्दै गरेका पोखरेललाई ओलीले ‘कसको अजेण्डा हो यो ? कर्ण थापाको’ भन्दै प्रश्न गरेपछि पोखरेल निकै तातिएका थिए। ‘एमाले अध्यक्ष ओलीले ईश्वर पोखरेललाई कर्ण थापाको प्रस्ताव सचिवालय बैठकमा छलफल हुँदैन भनेपछि भनाभन भयो,’ एक पदाधिकारीले भने, ‘भनाभन लामो समय चल्यो, एक प्रकारले सन्नाटा नै छायो।’
स्रोतका अनुसार विधानमाथि धारणा राख्ने क्रममा पोखरेलले विधान तीन पटक छापिएको भन्दै आपत्ति जनाएका थिए। उनले यो प्रसंग उठाएपछि ओलीले हस्तक्षेप गर्न खोज्दा पोखरेल निकै आक्रोसित भएका थिए। पोखरेलले ‘म आफ्ना कुरा राखिरहेको छु, तपाईंमा समस्या छ, पार्टी नेतृत्व यसरी चल्दैन’ भनेको एक पदाधिकारीले बताए।
भण्डारीलाई ११औं महाधिवेशनमा अध्यक्ष पदको दाबेदारका रूपमा हेरिएको छ। पोखरेलले जसरी पनि भण्डारीलाई पार्टी अध्यक्ष बनाउने गरी योजना अघि बढाएका छन्।
सचिवालयको बिहीबार बसेको बैठकमा केपी शर्मा ओलीको दायाँतिर महासचिव शंकर पोखरेल र बायाँतिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए। दुई पोखरेलको माझमा रहेका ओलीले एउटा पोखरेललाई समर्थन गरिरहँदा अर्का पोखरेलले विरोध गरिरहेका थिए।
बहुमत र अल्पमतमा आधारमा प्रस्ताव पारित गरिए पनि नोटअफ डिसेन्ट भने कतै लेखिएन। दसौं राष्ट्रिय महाधिवेशनयता अल्पमत बहुमतका आधारमा प्रस्ताव पारित भएको यो पहिलो घटना हो। ‘अध्यक्ष ओलीले पहिलो पटक बैठक बसेको अनुभूति गर्नुभएको छ, बैठकमा कोही समर्थन र कसैको विरोध देखियो, ओलीको खुलेर विरोध भएको बैठक नै यही हो’, एक पदाधिकारीले भने।
विगतका महाधिवेशनमा ईश्वर पोखरेल जता उभियो त्यतै संस्थापन पक्ष भएको इतिहास छ। २०६५ सालमा बुटवलमा भएको आठाैं महाधिवेशनमा पोखरेल झलनाथ खनालको प्यानलतिर लागेका थिए। खनालकै प्यानलबाट पोखरेल महासचिव निर्वाचित भए। उनले प्रदीप नेपाललाई हराएका थिए। उनी खनालतिर नलागेको भए ओलीले त्यतिबेला नै अध्यक्षमा चुनाव जित्ने थिए। त्यतिबेला खनाल र ओली अध्यक्षका प्रतिस्पर्धी थिए। त्यही कुरा बुझेर २०७१ साल असारमा सम्पन्न नवौं महाधिवेशनमा ओली पोखरेललाई साथ लिएर महाधिवेशमा उत्रिए।
त्यतिबेला पोखरेल ओलीको प्यानलबाट महासचिवको उम्मेदवार भए। पोखरेलले ओलीलाई साथ दिएपछि माधवकुमार नेपाल ४४ मतले अध्यक्षमा पराजित भए। पोखरेल झिनो मतले महासचिवमा निर्वाचित भए। नेपाल पक्षबाट महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे थिए। दसौं महाधिवेशनबाट पाण्डे उपाध्यक्षमा निर्वाचित भएका हुन्। यसरी दुईवटा महाधिवेशनलाई हेर्ने हो भने पोखरेल जता उभिएका छन् त्यतै पार्टीको संस्थापन पक्ष बनेको छ।-नागरिक दैनिकबाट
प्रतिकृया दिनुहोस