रास्वपा पनि प्रदेश राख्ने कायम राख्न तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका झाले आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको जानकारी गराएका हुन् ।
प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले बताए । पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ ।
‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ । पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन्’, उनले भने, ‘त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ ।’
रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको पनि उनले जानकारी दिएका छन् । विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए ।
‘११२ वटा आयोग, नियोग छन् । त्यो विभिन्न कालखण्डमा बनाइएका थिए’, उनले भने, ‘अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ । तर, त्यसको काम छैन । ११२ वटा आयोग बन्द गरिदिने बित्तिकै हाम्रो वार्षिक दुई÷चार अर्ब खर्च बच्नेछ ।’
सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताका आफ्ना योजना, सिद्धान्त, रणनीति केही नभएको केवल रास्वपा नेतालाई जवाफ दिएर बस्ने काम गरिरहेको आरोप समेत लगाए । सत्ता पक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्ता पक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस