• २०८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025

भुटानलाई नेपालले हान्यो ८ गोल, बंगलादेशसँगको अन्तिम अग्नि परिक्षा बाँकी

काठमाडौं । साफ महिला अन्डर–ट्वेन्टी च्याम्पियनसिपमा नेपालले भुटानलाई ८-० गोलले हराएको छ । ढाकाको बसुन्धारा स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालका मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गरेका थिए । दोस्रो हाफमा भुटानले पुनरागमनका सबै प्रयास असफल भएपछि नेपाल फराकिलो अन्तरले विजयी भएको हो ।

आक्रामक सुरुआत गरेको नेपालले पहिलो मिनेटमा गोल गर्‍यो । सरिता नाथको प्रयासलाई भुटानी डिफेन्डरले क्लियर गर्न गल्ती गरेपछि रिबाउन्ड बलमा मीनाले अग्लो प्रहारमार्फत गोल गरेकी हुन् । यससँगै अग्रता बनाएको नेपालले दोस्रो गोल नवौं मिनेटमा गर्‍यो । समीक्षा मगरले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा गोलकिपरलाई ठोक्किएर पुनः पोस्टभित्र पुग्यो । 

१२ औं मिनेटमै नेपालको अग्रता ३-० मा पुगेको थियो । फ्ल्यांकबाट शुक्रिया मियाँको क्रस गोलकिपरले नियन्त्रणमा लिन नसकेपछि मिनाले व्यक्तिगत दोस्रो गोल गरिन् । मिनाले २३ औं मिनेटमा निकालिदिएको क्रसमा पूर्णिमा राईले आफ्नो पहिलो गोल गरेकी हुन् ।

पहिलो हाफको इन्ज्युरी समयमा पूर्णिमाले नेपालका लागि पाँचौं गोल थपिन् । सरिताको फ्रिकिक पोस्टअघि ड्रप भएर गोलकिपर झुक्किएपछि पूर्णिमाले हेडर गोल गरेकी थिइन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा पूर्णिमाले व्यक्तिगत तेस्रो गोल गरेर हाफ टाइम ६-० को स्कोरलाइनमा समाप्त गरिन् । दोस्रो हाफमा भुटानले सम्हालिएर खेल्ने प्रयास गरिरहेको छ । 

भुटानले लगातार दबाब बनाए पनि ६३ औं मिनेटमा नेपालकी कुशुम खतिवडाले सुन्दर गोल गरेकी छन् । त्यसको अर्को मिनेटमा मीनाले गोल गरेपछि नेपालको अग्रता ८-० मा पुगेको थियो । खेलको ७२ औं मिनेटमा भुटानकी नामसेलको प्रहार क्रसबारमा लागेपछि नेपाल गोल बेहोर्नबाट बचेको थियो । त्यसैगरी, ७५ औं मिनेटमा गोलकिपर सुजता तामाङले उत्कृष्ट बचाउ गरेपछि नेपाल क्लिनसिट राख्न सफल भएको हो । पहिलो चरणमा बंगलादेशविरुद्ध निकै कमजोर देखिएको नेपाली डिफेन्स सेटअप आजको खेलमा भने केही सुधारिएको देखिएको थियो । आजको जितसँगै नेपालले पाँच खेलबाट १२ अंक बनाएको छ ।

डबल राउन्ड रोबिन फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा यी दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो चरणमा नेपालले भुटानलाई ६-१ ले हराएको थियो । त्यसपछि दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३-२ को हार बेहोरेको नेपालले श्रीलंकासँग लगातार दुई खेलमा ७-० को नतिजा निकाल्दै शानदार पुनरागमन गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर