परीक्षा भएको २४ घण्टा नबित्दै काठमाडौं महानगरपालिकाले निकाल्याे छात्रवृत्तिको नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार सायन ३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए ।  जसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण  भएका छन् ।

उत्तीर्ण हुन न्यूनतम ४० अंक  आवश्यक थियो र ४० अंक नकटाउने विद्यार्थीलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घण्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताएका छन्। ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिनाभन्दा अघिदेखि निरन्तर खटिएर २४ घण्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौँ।’

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल सयवटा बहुवैकल्पिक प्रश्न समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अंकनको व्यवस्था थिएन। देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ जनाले परीक्षामा भाग लिएका थिए ।

नतिजा OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरिएको छ। यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जनाए।

नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथाentrance.kathmandu.gov.np मा प्रकाशित गरिएको छ। विद्यार्थीले आफ्नो SEE को सिम्बोल नम्बर, जन्ममिति र इमेल वा sms मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।

काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयमा चार हजारभन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर