राजनीतिमा भण्डारीको सक्रियताः आज एमाले मुख्यालय च्यासल पुगिन

काठमाडौं । एक दशकपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छन् । उनी प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न एमाले मुख्यालय पुुगेकी हुुन् । अध्यक्ष ओली भने आइपुगेका छैनन् । दुई जनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ । राष्ट्रपति बनेपछि भण्डारी पार्टी कार्यालय पुगेकी छैनन् ।
अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् । भण्डारीको सदस्यताको विषय उठिरहँदा दुई जनाबीच हुन लागेको भेटलाई निकै चासोका साथ हेरिएको छ । अहिले एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भिड छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट हुन लागेको बताएका छन् । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ ।
भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए । हिजो पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेण्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए ।
सुरक्षाबाहेक सेवा सुविधा त्याग गरेर पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने तयारीमा छिन्। तर पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर एमालेले संस्थागत निर्णय नै गर्ने तयारी गरेको छ।
एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन नहुने बताइरहेका छन् भने केही नेता कार्यकर्ताहरूले भण्डारीलाई पार्टी राजनीतिमा ल्याउनुपर्ने मत राखिरहेका छन्।
च्यासलमा पार्टी कार्यालय सरेपछि भण्डारी अध्यक्ष ओलीलाई भेट्न पहिलो पटक आज कार्यालय पुगेकी हुन्। एमालेको उपाध्यक्ष छाडेर उनी दुई कार्यकाल राष्ट्रपति बनेकी थिइन्।
प्रतिकृया दिनुहोस