रूपन्देही-३ को उपनिर्वाचनः २१ असोजमा उम्मेदवारी दर्ता

काठमाडाैं । निर्वाचन आयोगले रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आयोगले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक सूचि सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।
उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यतालिका छ।
उम्मेदवारी फिर्ताका लागि असोज २४ गते बिहान १० देखि १२ बजेको समय तोकिएको छ। आयोगले सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
सोही दिन साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ। मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
२०७९ को आम निर्वाचनमा रूपन्देही-३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए।
प्रतिकृया दिनुहोस