ओली–देउवामाथि दबाबः कांग्रेस शेखर पक्षले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने

काठमाडौं । वर्तमान सरकार र आफ्नै सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट रहेको नेपाली कांग्रेस शेखर कोइराला पक्षले दबाबका नयाँ कदम अघि सार्ने भएको छ । सरकारप्रति आक्रामक देखिएको यो पक्षले दबाब सृजना गर्नका लागि आफ्नो पक्षका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
आफू पक्षीय नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षले आइतबार छुट्टै भेला गर्दै आफ्नो पक्षका मन्त्रीहरूलाई सरकारबाट राजीनामा गर्न लगाएर सभापति शेरबहादुर देउवामाथी दबाब बढाउने रणनीति लिएको छ ।
केहि दिनअघि मात्र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका नेता शेखर कोइरालाले आइतबार आफुपक्षीय नेताहरूसँग छलफल गरेर सभापति देउवाबिरूद्ध दबाब बढाउने रणनिति लिएका हुन् ।
शेखर कोइरालासँगै प्रचण्ड निवास पुगेका डा. अमरेशकुमार सिंहले कोइरालालाई प्रधानमन्त्री बनाउने गरी नयाँ समीकरण बन्ने दाबी गरेका छन् । दुई तिहाइको ओली सरकारले केही पनि काम गर्न नसकेकाले नयाँ समीकरण बनाउन विपक्षी दलहरूसँग छलफल भइरहेको सिंहले जिकिर गरे । तर सिंहले दाबी गरेजस्तै विपक्षी दलहरूसँग मिलेर कोइराला प्रधानमन्त्री बन्न सम्भव छ ?
विश्लेषक तथा प्राध्यापक लोकराज बराल कोइरालाले नयाँ गठबन्धन बनाउने सम्भावना नरहेको बताउँछन् । अर्को समीकरण बनाउन शेखरले संविधान बमोजिम कोरम पुर्याएर पार्टी विभाजन गर्नुपर्ने हुन्छ । तर त्यो सम्भव नभएको बराल बताउँछन् । देउवासँग बार्गेनिङ गर्न मात्र कोइरालाले धम्क्याएको उनको विश्लेषण छ ।
कोइरालानिकट नेताहरूले आफ्ना पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने विषयमा छलफल भएको दाबी गरेका छन् । पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने अधिकांश शेखर पक्षका सांसद तथा नेताहरूको भनाइ छ ।
बैठकमा सहभागि अर्का एक नेताले दिएको जानकारीअनुसार पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने, आफ्ना पक्षका नेतालाई गरिएको कारबाही फिर्ता नभए सरकार र सभापति देउवाका हरेक निर्णयमा असहयोग गर्ने र परिस्थिति आए विद्रोह सम्म गर्ने गरी छलफल भएको दाबी गरेका छन् ।
भेटमा सहभागी सांसद सुनिल शर्माले आफूहरूको बैठक गठबन्धन परिवर्तनका लागि नभएको बताए । उनले गठबन्धन फेर्न परे के कस्तो असर पर्छ निर्क्यौल गरेर मात्रै पाइला चाल्ने बताए । ‘आजको छलफल सत्ता गठबन्धन परिवर्तन र दलको नेता परिवर्तनको विषयमा होइन,’ डा. शर्माले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, ‘गठबन्धन अहिले नै हामीले ब्रेक गर्दा के के परिस्थिति उत्पन्न हुन्छन् । आगामी पार्टी अधिवेशन, निर्वाचनलाई कस्तो असर पर्छ त्यो विचारेर मात्रै हामी कदम चाल्छौँ । आज त्यो विषयको छलफल होइन ।’
उनले आजको छलफल अनुशासन समितिको कारबाहीसँग केन्द्रित रहेको जानकारी दिए । ‘पार्टीमा कोइरालाको लाइनलाई निर्ममतापूर्वक पेल्ने काम भइरहेको छ, त्यसविरुद्ध रणनीति बनाउन बैठक बसेका हौँ । देशैभरि सशक्त ढंगले लड्ने हाम्रो निष्कर्ष छ,’ शर्माले भने ।
प्रतिकृया दिनुहोस