• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रश्नपत्र आउट प्रकरण : प्रदेश सरकारको कुनै दोष छैन, चाँडै दोषी पत्ता लगाउछौ– निर्देशक शर्मा

जनकपुर । परिक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि सरकारले प्रदेश दुईको बाँकी सबै परीक्षा स्थगित गरिसकेको छ । परिक्षा स्थगित भईसके पछि प्रदेश दुईका विद्यार्थीहरु आक्रोशित छन् । सामाजिक संजालहरुमा सबै विषयको प्रश्नपत्र आउट भईसकेको कुराहरु समेत भाइरल भईरहेको छ । यी सबका बिच प्रदेश सरकारले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानविन गर्नका लागि प्रदेश शिक्षा निर्देशनालयको निर्देशक रामाकान्त शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिले कसरी आफ्नो अनुसन्धानको काम अघि बढाइरहेको छ , यसै बिषयमा केन्द्रित रहेर समाचारदैनिकका जनकपुर सहकर्मी जयन्त ठाकुरले निर्देशक शर्मासंग गरेको कुराकानीको सम्पादीत अंश-


समितिले प्रश्नपत्र बाहिरिएको सम्बन्धमा अनुसन्धान प्रकृया कसरी अगाडी बढाईरहेको छ ?

अहिलेसम्म खासै हामीले अनुसन्धान अगाडी बढाउन सकेका छैनौँ । विभिन्न जिल्लामा सोधपुछ भएको छ । केन्द्रबाट टोली आउन बाँकी नै छ । अहिले अनलाइन बाटै उनीहरुले अनुसन्धान प्रकृया अगाडी बढाएका छन् । शिक्षा समन्वय इकाईसंग कुरा भएको छ त्यसका साथै हामीले सुरक्षा निकायका पदाधिकारीहरु संग समेत कुराकानी गरेका छौँ । 


प्रदेश सरकारले प्रदेश भित्रबाट प्रश्नपत्र बाहिरिएको छैन भनेर दावी गरिरहेको छ, अहिलेसम्मको अनुसन्धानमा तपाईहरुले के पाउनु भएको छ ?

प्रदेश भित्र वा बाहिरबाट प्रश्नपत्र बाहिरियो भन्ने कुरो अनुसन्धानभन्दा पहिले नै भन्न मिल्दैन । यो त सही हो यसमा प्रदेश सरकारको कुनै भूमिका छैन । हामी चाँडै दोषीलाई पत्ता लगाउँछौँ । 

धनुषाको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृतको संयोजकत्वमा समेत स्थलगत अनुसन्धान टोली बनाइएको छ उहाँहरु संग कुराकानी भएको छ कि छैन ?

अहिले सम्म भएको छैन । उहाँहरुले पनि आफ्नो ढंगले अनुसन्धान प्रकृया अगाडी बढाउँछन् । हामीले पनि प्रश्नपत्र राखिने ठाउँहरुमा पुगेर अनुसन्धान गर्छौँ । अहिलेसम्म त्यो टोलीसंग कुरा भएको छैन चाँडै हामीले उनीहरुसंग पनि छलफल थाल्छौँ । 

सबै विषयको प्रश्नपत्र बाहिरिएको हल्ला छ नि ?

यो सब निराधार हल्ला मात्रै छ । हल्लाको पछाडी नलाग्न हामी सबैसंग अपिल गर्छौँ । 


अनुसन्धान प्रकृया कसरी अगाडी बढाउने तपाईहरुले योजना बनाउनु भएको छ ?

प्रश्न पत्र आउट गर्ने व्यक्ति वा समूहलाई पत्ता लगाउनु नै हाम्रो लक्ष्य रहेको छ । हामी जतिसक्दो चाँडो त्यो व्यक्ति वा समूहलाई पत्ता लगाएर कारबाहीका लागि सिफारिश गर्छौँ । 

प्रदेश भित्रको परीक्षा स्थगित भईसकेपछि पनि विद्यार्थीहरुको आक्रोश शान्त भएको छैन, विद्यार्थीहरुलाई शान्त पार्न कुनै योजना छ ?

प्रदेश भित्र परीक्षालाई लिएर माहौल बिग्रियो त्यसपछि केन्द्रबाट माहौललाई शान्त बनाउनका लागि परीक्षा स्थगित गरियो । फेरी पूर्ववत रुपमै चैत २२ गतेदेखि परीक्षाहरु संचालनमा आउने छन् । यसमा विद्यार्थीहरुको कुनै दोष छैन त्यसैले उनीहरुलाई आत्तिनु पर्ने कुनै आवश्यक्ता छैन । 

फेरी २२ गतेदेखि परीक्षा हुँदैछ, त्यस्ता कुनै घटना दोहरिन नदिनका लागि कुनै योजना बनाउनु भएको छ कि ?

२२ गतेबाट हुने परीक्षाका लागि नयाँ प्रश्नपत्रहरु अझै परिमार्जित गरेर आउने छन् । यसअघिका घटनाहरु नदोहरिन दिनका लागि हामी अझै संयमता अपनाउने छौँ । सुरक्षा व्यवस्था अझै चुस्त दुरुस्त पारिने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर