जलजलाः ‘युद्ध पर्यटन’को गन्तब्यका रुपमा विकसित हुँदै

काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । यसका लागि सरकारले पर्यटन सम्बद्ध विभिन्न संघ संस्थासँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि गरिरहेको छ भने प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत भइसकेको छ ।

 सरकारले भ्रमण वर्षलाई लक्षित गरी देशभरीका एक सय गन्तब्यलाई घुम्नुपर्ने ठाउँको सूचिमा राखेर समेत प्रवद्र्धतनात्मक कार्यक्रमहरु गरिरहेको छ । भ्रमण वर्षको प्रचार प्रसारका लागि मात्र सरकारले ८ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ । 

सरकारले घोषणा गरेको भ्रमण वर्ष औपचारिक रुपमा सुरु हुन अब ९ महिना भन्दा कम समय रहेको अवस्थामा सरकारका साथै पर्यटन सम्बद्ध संस्थाहरुले भ्रमण वर्षको प्रचार प्रसारलाई तिब्र बनाइरहेका छन् । यसै सन्दर्भमा काठमाडौँको लाइफ स्टाइल होलिडेजले रोल्पाको जलजला घुम्न जानको लागि आकर्षक ‘प्याकेज’ तयार पारेको छ ।

सरकारले पहिचान गरेका एक सय पर्यटकीय गन्तब्यमा परेको रोल्पाको जलजलाको पर्यटन प्रवद्र्धनका लागि होलिडेजले समृद्ध रोल्पा फाउन्डेसनसँगको समन्वयमा १५ हजार रुपैयाँमा ४ रात पाँच दिनको प्याकेज सार्वजनिक गर्दै बैशाख २ गते एक टोलीलाई त्यसतर्फ लैजान लागेको हो । पहिलो पटक पर्यटकीय भ्रमणका लागि जलजला जाने टोली विभिन्न संचार माध्यमका पत्रकार तथा फोटोग्राफर सहभागी हुनेछन् । प्याकेज अन्तर्गत पर्यटकलाई २ देखि ३ घण्टाको ट्रेकिङ, सांस्कृतिक नाचहरुको प्रदर्शनी, मनोरम ठाउँहरुको दृश्यावलोकन लगायत गराइने आयोजकले जनाएको छ । 

जलजलाको पर्यटकीय महत्व 
रोल्पा सदरमुकाम लिवाङबाट दुर्इ घण्टा सवारी साधनकाे यात्रा गरेपछि जेलवाङ पुगिन्छ । जेलवाङबाट दुर्इ घन्टाकाे पैदल यात्रामा जलजला पुगिन्छ । सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साबिक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको जलजलामा केही महिना हिउँ पर्छ  । तत्कालीन माओवादी लडाकुको ‘उद्गम’ स्थल थबाङलाई ‘युद्ध पर्यटन’को अवधारणामा पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना अनुरुप थबाङको जलजलालाई पर्यटकहरुमाझ परिचित गराउन लागिएको लाइफ स्टाइल फाउण्डेसका कार्यकारी निर्देशक सुमित शाक्य बताउँछन् । 

उक्त स्थानलाई द्वन्द्व अवधिभर तत्कालिन माओवादीले सुरक्षित तालिम केन्द्र बनाएका थिए । 

व्यवसायीक रुपमा पर्यटकी गन्तब्यको रुपमा विकास नभएपनि थबाङमा भने यसअघिनै घरबास अर्थात होमस्टे संचालनमा थिए । तर जलजलालाई पर्यटकीय गन्तब्यका रुपमा व्यवसायीक ढंगमा विकास गर्न लागिएको यो नै पहिलो पटक हो । कार्यकारी निर्देशक शाक्य अहिले लाइफस्टाइलले ल्याएको नयाँ प्याकेजले जलजलालाई व्यवसायीक पर्यटनमा प्रवेश गराउने विश्वास व्यक्त गर्छन । 

युद्धकै परिवेशले जलजलालाई परिचित गराएको भएपनि जलजलाले धार्मिक महत्व समेत बोकेको छ । 

जलजला पहाडबीच खोंचमा रहेको वराह मन्दिरमा वैशाख, जेठ र साउने पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ । जलजलाको समथर क्षेत्रमा वराह मन्दिर छ । उक्त स्थानबाट करिब ५ सय मिटर दक्षिणमा भामापुप नामको आकर्षक गुफा छ । मन्दिर र गुफामा पुगेर पूजाआजा गरे निसन्तानलाई सन्तान प्राप्त हुने विश्वास रहिआएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर