• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 07:40 pm

कथा : बोक्सी

गाँउमा सबैभन्दा पहिला, छयालीस सालतिर राँको बल्दा म सानै थिएँ । राति राँकेजुलुस हिँड्या’थ्यो पाखाभरि । सानामा आमाले राँकेभूतका कथा सुनाउनुहुन्थ्यो । सुरुमा म त त्यही राँकेभूत आयो भन्दै, डराउँदै घरभित्र छिर्थें र एकै सासमा आमाको काखमा पुग्थें ।

आमा ! राँकेभूत, पारि डाँडामा... भन्दै आमाको काखमा लुट्पुटिँदै कराएकोे मलाई मिरमिर सम्झना छ । आमाले खोई... भन्दै बाहिर निस्कन खोज्दा आमाको फरियाको फेर समातेर मैले नै ननिस्कनू, भूतले खान्छ भन्दै रोकिरहेको अझै याद आउँछ । 

राँकेजुलुस निस्केको केही  दिनमै देसाँ बहुदल आयो भन्थे । गाँउमा लाहुरे काकाको घरमा मात्र रेडियो थियो । मान्छेहरू साँझ लाहुरे काकाकोमा रेडियो सुन्न भेला हुन्थे ।एक प्रकारले लाहुरे काकाकोमा हरेक साँझ मेला नै लाग्थ्यो । कहिलेकहीं आरनमा ‘विष्ट’ हरूको काम नहुँदा बा पनि लाहुरेकाकाको घरमा रेडियो सुन्न जानुहुन्थ्यो । म  पनि बासँगै जान्थें ।  

लाहुरे बा फलैंचामा बस्थे । रेडियो पिँढिमाथिको पालीमा झुन्डाइएको हुन्थ्यो । गाउँका अन्य मान्छेहरूपिँढीमा र फलैंचामा बस्थे । पिँढीमा र फलैंचामा राडी र गुन्द्री ओछ्याइएको हुन्थ्यो । हाम्रा बा भने आँगनको एउटा कुनामा टुक्रुक्क बस्नुहुन्थ्यो । 

लाहुरीनी काकीले सबैलाई चिया खुवाउँथिन् । तर, मेरा बालाई चैं भन्थिन्– ‘पख् हे काले, कालो चिया बसालेकी छु उम्लेसी दिम्ला । के गर्छस्, दूध हालेको चिया दिऊँ भने फेरि भोलि गाईले रुख चढेर मर्छ भन्छन् । 

सबैलाई दूध भएको चिया दिईसकेसी लाहुुरीनीले बालाई कालो चिया दिन्थिन् । लाहुरे काकाकी नातिनी र मेरो उमेर उस्तै थियो । उनी मलाई खेल्न बोलाउँथिन् तर बाले न जा भन्नुहुन्थ्यो । ‘विष्ट’ हरूलाई छोइएला, गाली खाइन्च न जा भन्नुहुन्थ्यो । मन हुँदाहुँदै म खेल्न जाँदिनथें। चिया खाएको गिलास बा आफैं माझनुहुन्थ्यो,‘विष्टिनी’ ले अलग्गै पानी हालिदिन्थिन् । बा गफ सुन्न लाहुरे बाकोमा जान औधी मन गर्नुहुन्थ्यो, मलाई चैं बा नगए हुन्थ्यो भन्ने लाग्थ्यो अरुकालागि ‘काले कामी’ भएपनि मेरा लागि मेरा बा नायक नै थिए ।

बालाईअरुले हेलाँ गरेको मलाई नमिठो लाग्थ्यो तैपनि बहुदलको रसले हो कि गफको नसाले– बा बेलुका फुसर्द भएसी रेडियो सुन्न लाहुरे बाकहाँ गइहाल्थे ।

मान्छेहरू धेरै थरी कुरा गर्थे– कोही अब राजा वीरेन्द्र ‘खोपीका देउता’भए भन्थे, कोही बहुदल आएको फाप्दैन भन्थे, कोही अब जातजाति मासिन्छ र भेदभाव हुँदैन भन्थे, कोही अब छुवाछुत गर्न पाइँदैन भन्थे। मान्छेहरूका धेरै कुरा सुनिरहदा मेरो मनमा अनेक कुरा खेलिरहन्थे । 

एक दिन रेडियो सुनेर फर्कंदा मैले बालाई सोधें पनि । तर, चितबुझ्दो जवाफ पाइनँ  । बा ! त्यो, त्यति सानो रेडियोमा मान्छे कसरी भित्र बसेर बोलेका हुन् ? बाले ‘थाहा छैन’ भन्नुभयो । अर्काे कुरा पनि मैले बालाई सोधें– बा ! बहुदल आएसी हामी र ‘विष्ट’ सबै बराबर हुन्छौं, हो ? फेरि बाले ‘खै कुन्नि, रेडियोले त सबै बराबर हुन्छन् भन्थ्यो, होला नि त’  भने।

बहुदल आएसी चुनाव आयो । गाउँमा सभाहरू, जुलुसहरू भए । म पनि बासँगै सभा हेर्न गएँ । त्यो सभामा  एउटा अलि मसिनो काँटीको लोग्ने मान्छेले धेरै राम्रो भाषण ग¥यो ।उसले भन्दै थियो–‘गरिब–गुरुबालाई पनि धनीमानीको जतिकै अधिकार हुनुपर्छ । ‘तल्लो जाति’ लाई हेप्न पाइँदैन र ‘तल्लो जाति’ भन्न पाइँदैन, सबैलाई घर, जागिर, कपासको व्यवस्था सरकारले गरिदिनुपर्छ । मान्छेले मान्छेलाई गरिब, निम्छरो र तल्लो जातको भनेर हेप्न पाइँदैन ।’

उसको कुरो गाम्लेलाई खुब मन प¥यो ।मलाई पनि मन प¥यो । गाउँलेहरूले सल्लाह गरे– त्यही लिखुरेको पार्टीलाई भोट दिएर जिताऊँ । चुनावमा उसकै पार्टीले जित्यो पनि । गा“उमा अबीरजात्रा भयो । म भने अब ‘विष्ट’ लाई  छोइछिटो नलाग्ने भयो भनेर मख्ख भएँ । 

समय फेरियो । व्यवस्था पनि फेरियो । तर, हामीहरूको नियति फेरिएन । म छोइछिटो हट्यो भनेर मख्ख परेको थिएँ तर मेरो खुशी कृत्रिम रहेछ, म भ्रममा रहेछु । 

एक दिन हाम्रो गाउँमा नघटनुपर्ने घटना घट्यो । हाम्रा ठूलाबा बिते । ठूलीआमा कल्लीकुमारी, स–साना बहिनीहरूसहित गाउँमै बस्थिन् । ठूलाबा बितेपछि आरनमा घन पिट्ने मान्छे भएनन् । खेतीपाती गरिखान पुग्दैन्थ्यो ।

एक हल गोरु लाग्नेभन्दा बढी पाखोबारी थिएन । चार जनाको परिवार, त्यस पाखाको उब्जाउले पुग्दैनथ्यो । ठूलाबा बितेपछि‘विष्ट’ हरूठूलाबाको आरनमा आउनै छाडे । बाली उठाउने ठाउँ पनि भएन । मेलापात गरेर ठूलीआमाले आफू र आफनो परिवार जेनतेन पालिरहेकी थिइन् । 

एक दिन ठूलीआमा मेला जाने क्रममा पल्लाघरे पण्डितनी पनि सोही बाटो कतै जाँदै रहिछन् । साँघुरो बाटोमा बाटो छोड्दाछोड्दै ठूलीआमासँगछुन पुगिछन् पण्डितनी। पण्डितनीको रिसको पारो चढ्यो । ‘किन छोइस् कमिनी ?मेरा तेत्रा खेतालालाई पकाएको खाजा सबै खत्तम भयो’ भन्दै उनले ठूलीआमालाई भुत्ल्याउन थालिछन् ।

ठूलीआमाको रुवाइ र पण्डितनी बज्यैको चिच्याइ सुनेर मान्छेहरू जम्मा भए । म पुग्दा पण्डितनीले मुठीभरि कपाल आउने गरी ठूलीआमालाईभुत्ल्याइरहेकै थिइन्। 
‘छोरी ! मलाई मार्ने भए, तेरा बालाई बोला... मेरो कुनै दोष छैन । मैले बाटो छाडेकै थिएँ, जानीजानी छोएको हैन ।’

मेरी ठूलीआमा मसँग हात जोडेर प्राणको भिख मागिरहेकी थिइन् । तर, म एउटी १२ वर्षकी फूच्चीले के गर्न सक्थें र ! ‘मेरी ठूलीआमालाई नमार’भन्दै मैले ठूलीआमालाई गर्लम्मै अँगालो हालें । 

‘यो पोइटोकुवा बोक्सी हो, यल्लाइ मार्नैपर्छ’–भिडबाट कसैले भन्यो । 

‘तल्लो जातकी भएर पण्डितनीलाई छुने ?यस्को यत्रो हिम्मत ! तँलाई...’ भन्दै भिडबाट कसैले ठूलीआमालाई कोदालै कोदालोले हान्न थाल्यो । 

म छेक्न खोज्दै थिएँ, अर्को कसैले मेरो कपाल समातेर तल्लो पाटोमा पुग्नेगरी मिल्काइदियो । म दौडेर बालाई बोलाउन गएँ । बा आरनमै थिए । बा घन बोकेर दौडिए, म पनि बाको पछि–पछि दौडिएँ । 

हामी पुग्दा त गाउँका ‘भद्रभलाद्मी’ सबै मिलेर ठूलीआमालाई मान्छेको दिसा कोच्याइरहेका रहेछन् । ‘मेरी भाउजूलाई कसले के गरेको ? अब म कसैलाई छाड्दिनँ...’ भनेर बाले घन घुमाएसी मान्छे अलि पछि सरे ।ठूलीआमा बोल्न सक्ने अवस्थामै थिइनन् । 

‘के खोज्छस् ए डाङ्ग्रा ! सानो जाति भएर ठूलो कुरा गर्ने ? तेरी भाउजूले किन पण्डितनीलाई  छोएकी त? हाम्रा बालीमै बाँचेको तैंले हामीलाई थर्काउने ?’ भिडबाट कसैले भन्यो । 

बाले पनि भने–‘सित्तैंमा कसैको खाको छैन । घन ठोकेर पसिना बगाएर खाको हो । तिमीहरू कसैको सित्तैंमा खाएको छैन । दाइ मरे भन्दैमा भाउजूलाई हेप्ने ? यस्तो अमानवीय व्यवहार गर्ने ? म पनि पुलिसकोमा जान्छु । अब त बहुदल आको छ...’

बा र गाउँलेको विवाद चल्दै थियो, फिस्टे नेता पनि आइपुग्यो । उसले के भन्छ भनेर सबैजना उसैको मुहार हेर्दै थिए । छुवाछात गर्नुहुँदैन भन्ने नेता आएकाले उसले हाम्रै पक्षमा बोल्छ भन्नेमा म थिएँ । 

‘छुवाछुत मान्नु वा नमान्नु व्यक्तिको स्वतन्त्रताको कुरा हो, कल्लीले पण्डितनीको इच्छाबेगर उसलाई छुनु पहिलो गल्ती हो अनि कल्लीलाई दिशा खुवाउनु पनि गल्ती नै हो,’तर, नेताले त बोली फे¥यो– ‘दुवैले गल्ती  गरेकाले गाउँको कुरा गाउँमै मिलाऊँ, पुलिसकोमा गएर गाउँको शान्ति बिगार्नु हुँदैन ।’

‘कल्लीले पनि अब आइन्दा पण्डितनीलाई नछुने र पण्डितनीले पनि कल्लीकुमारीलाई अब आइन्द यसरी नपिट्ने मेरो फैसला यही हो’– फिस्टे नेताले फैसला सुनाए । नेताको ‘फैसला’ पछि गाउँले तितरबितर भए । 

बा र मैले ठूलीआमालाई बोकेर घर ल्याउन थाल्दा नेताले खल्तीबाट पाँच सय रूपैयाँको नोट निकालेर बालाई दिन खोज्दै भन्यो–‘ला कान्छा, गल्ती उनीहरूकै हो तैपनि सबैको भोट चाहिने हुनाले मैले यस्तो निर्णय गर्नप¥यो । के गर्नु ! मन नभएपनि भोटकैलागि  कसैलाई चिढ्याउनु भएन । भाउजूको उपचार गरेस् ।’

बाले कडकेर  भने–‘तिम्रो भाषण र निसाफ दुवै सुनियो, तिम्रो पैसा तिमी नै राख ।’

ठूलीआमालाई घरमा ल्याएपछि आमा र हामी मिलेर नुहाइदियौं । बा औषधि लिएर आए । घाउमा औषधि लगाइदियौं ।छोरीहरू च्यापेर एकसरो आँशुको वलिन्द्र धारा झारीरहिन ठूलीआमाले। ठूलीआमाको मुखबाट एक वचन पनि फुटेन । 

औषधि लगइसकेपछि गहभरि आँशु झर्दै बाले भने–‘नरोऊ भाउजू, म छु । मैले आमा रोएको त देखेथें तर पहिलो पल्ट बा रोएको देखेकाले होला, कस्तो–कस्तो अप्ठयारो लाग्यो ।’

त्यो रात हामी सँगै बस्यौं । ठूलीआमाले केही पनि खाइनन् । केही बोलिनन् पनि ।भोलिपल्ट बिहानै ‘देवर ! उठ्नू त...’ भन्दै ठूलीआमाले बोलाएसी हामी उठ्यौं । 

पोका–पुन्तुरा र तीन वटी छोरी च्यापेर ठूलीआमा हिँड्न आँटेकी रहिछन्, बाले सोधे– ‘के गर्न आँटेकी भाउजू?’ 

‘म यो यस्तो ठा“उमा बस्दिनँ  बाबु । गोठाँ भका गाईवस्तु र घरबारी सम्माल्नुहोला ।’ ठूलीआमाले बलिन्द्रधारा आँशु झार्दै भनिन् । 

‘यो के गर्न आँट्या तिमीले ?बस, म छु । कहाँ गएर के गछेऊ? बर्मा गएनि कर्म सँगै भन्छन् ।’ 

बाले सम्झाउन खोजे पनि ठूलीआमा बस्न तयार भइनन् । बाले फेरि थपे–‘बा–आमाले छाडेर गैसके । बाउपछिका बा, दाइले पनि छोडे, अब तिमीले के गर्न आँटेकी भाउजू ?’

तर पनि ठूलीआमा रोकिइनन् ।ठूलीआमा जाने नै भएपछि बाले आफूसँग भएभरको पैसा, त्यही ४–५ सयजति हुँदो हो,सिरानीबाट निकालेर ठूलीआमाको हातमा राखीदिँदै भने–‘नानीहरू र ज्यानको ख्याला गर्नू... के गर्छ्यौ, धेरै कुरा बदलियो, हाम्रो नियति बदलिएन... ।’बा सुकसुकाउन लागे । आमा र म त पहिलेदेखिनै रुँदै थियौं । 

ठूलीआमाका छोरीहरू भए पनि तिनै जना मेरा बहिनीहरूथिए ।उनीहरू त झन् डाँको छाडेर रुँदै थिए । ‘बस है कान्छी !’ भन्दै ठूलीआमा आमाको छेउमा आइपुगेपछि आमाले अँगालो मार्दै–‘नजाऊ न दिदी...’ भन्दै बिन्ती गरिन् । 

तर पनि ठूलीआमा रोकिइनन् र हिँडिन् । ठूलीआमा आँगनमा पुगेपछि आमा दौडेर गइन् र आफूले लगाएको तिलहरी फुकालेर ठूलीआमाको हातमा राखीदिँदै भनिन्–‘छोरीहरूलाई पापा खुवाउनू, आधी तोलाको छ, अलिअलि भएपनि पैसा आउँछ ।’

बहिनीहरू पछि लगाउँदै मिरमिरे उज्यालोमाठूलीआमा हिँडिन् ।हिँड्न त हिँडिन्, तर कहाँ ? हामीले आँगनको डिलमा उभिएर देखेसम्म हेरिरह्यौं... ।               

केही दिन पछि गाउँमा हल्ला आयो–तीन वटी छोरीसहित कल्लीकुमारी कोशीमा हामफालेर मरी । चित्त दुखाउने हामीबाहेक कोही थिएन । ‘ठीक भएछ, बोक्सी मरिछ...’ गाउँलेले भने । 

लास नभेटिएकाले ‘भाउजू मरेकी छैनन्’ भन्थे बाले । ‘कुनै दिन आउँछिन् हाम्री भाउजू, दिलमा तोड परेर हिँडेकी हुन्, तोड कम भएसी आउँछिन्’ भनीरहन्थे बा । 

तर, सालहरू फेरिए, ठूलीआमा आइनन्। सधैं साँझ–बिहान म आँगनको डिलमा उभिएर हेर्थें,बहिनीहरू लिएरठूलीआमा आउँछिन् कि भनेर । मेरा आँखा टट्याए तर पनि कल्लीकुमारी आइनन् ।
१८ असार, २०७४, सल्लाघारी, भक्तपुर

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनि

  • ९ असार, २०७६

काठमाडौै । कलाको सुन्दरतम् विधा चित्रकलामा यतिखेर शहरका तिनै पुस्ता झुम्मिएका छन् । ३ असार बाट आर्ट काउन्सिलमा चलिरहेको चित्रकलाकला प्रर्दशनिमा

कविता : ऐना

  • ७ असार, २०७६

हिजोआज मैले हेर्ने ऐनामा  अर्कै मान्छेको अनुहार देखिन्छ । जीवनभर जसलाई गाली गर्दागर्दा थाकेको थिएँ , र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना, ४४ जनाको मृत्यु

  • ६ असार, २०७६

भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लामा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३) eGbf al9 जना घाइते भएका छन् । पहाडी क्षेत्रको सडकमा