मधेशवादी दलको पसल बन्द हुन लागेको छ : सिके राउत
जनकपुरधाम । जनमत पार्टीको पहिलो जनसभामा पार्टीका अध्यक्ष सिके राउत मधेशवादी दल तथा प्रदेश सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेशवादी दलले मधेशी जनतालाई भ्रममा पार्ने बाहेक अन्य कुनै काम नगरेको आरोप लगाएका छन् । उनले मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउने काम शुरु गरेको बताए ।
सिरहाको मिर्चैयामा आयोजित पार्टीको प्रथम जनसभामा अध्यक्ष राउतले मधेसवादी नेताले फैलाइरहेको भ्रममा नपर्न मधेसी जनतासँग अपिल समेत गरे । उनले भने, ‘कसैको पसल त कसैको ठेकेदारी बन्द हुन लागेको छ , त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।’
राउतले सरकारसँग गरेको सम्झौता बारे सोधखबर लिने औकात मधेशवादी दलमा नभएको बताए ।
उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको दावी गरे । उनले मधेसी जनताको अधिकारका लागि आफ्ना कार्यकर्ता ज्यान दिन तयार रहेको बताए ।
उनले सप्तरीको मलेठ घटनाको बेला मधेसवादी दल पनि सरकारमा रहेको र ५ मधेसीको हत्या हुँदा पनि सरकार नछोडेको स्मरण गराए ।
उनले मधेसी दल जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट नलुकेको बताए ।
सभामा राउतलाई माला लगाएर स्वागत गर्नुका साथै मिथिलाको लोकगीत झिझिया नृत्यबाट स्वागत गरिएको थियो ।
प्रतिकृया दिनुहोस