• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

‘सलहेस फूलबारी’मा वैशाख १ गते मात्र फूल्ने फूल :  प्रकृतिको शुभकामना !

जनकपुरधाम । एउटा यस्तो फूल जो वर्षको एक दिन मात्रै फूल्ने गर्छ । त्यो पनि वैशाख १ गते मात्रै । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचिन राजा सलहेशको फूलबारीमा यस्तै फूल देख्न पाइन्छ ।

आजका दिन देश विदेशमा रहेका नेपालीहरु एकअर्कालाई शुभकामना आदान प्रदान गर्नमा व्यस्त छन् । यी सबकाबीच प्रकृतिले पनि एक प्रकारको रहस्यमय फूलको माध्यमले हामी सबै नेपालीलाई शुभकामना दिने गर्छ । 

‘सलहेस फूलबारी’को नाामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख आफै मौलाएर जान्छ ।

सो रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखमा वर्षको एकदिन एका बिहानै फूल फुल्नु र साँझपख मौलाएर जानु आजसम्म रहस्य नै बनेको छ ।

माला आकारको सेतो फूलको थुङ्गा जस्तो देखिन्छ र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख यति प्राचीन भएपनि कसरी बाँचेको छ त्यो पनि खोजको विषय रहेको छ । वनस्पतिविद्हरूका अनुसार त्यो रुख छैठौँ वा सातौँ शताब्दी तिरको हो । 

सलहेस र मालिनीको प्रेमको प्रतिक 

राजा सलहेस मिथिलाको दुसाध जातीको लोकदेवता हुन् । राजा सलहेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटकमात्र फुल्ने फूलसंग सम्बन्ध रहेको किम्बदन्ती रहेको पाइन्छ । 

छैठौँ शताब्दीतिर त्यसबेला मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो । त्यो ठाउँ अहिले सिरहा नगरपालिकामा पर्दछ । त्यसबेला त्यहाँका भूपाल सोनम र मन्दोदरीको गर्भबाट एउटा जयवर्द्धन  (सलहेस) को जन्म भएको थियो । सानैदेखि प्रखर वुद्धिका धनी र शौर्यशाली थिए सलहेस ।

सलहेसको समयमा कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरमा किराँत तिब्बत र भुटानतिरबाट आर्यवर्तमा अन्नबाली पशु लुटेर लान बारम्बार आक्रमण हुने गर्दथ्यो । बारम्बार हुने भोट र किराँतको आक्रमणलाई रोक्न सलहेसका बुबा भूपाल सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किलोमिटर उत्तर तर्फ) का राजा हिन्दुपति शम्सेर भण्डारीलाई सहयोग गर्नका लागि पुगे ।

भोट र किराँतसँग भएको युद्धमा भूपाल सोमनदेव सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेस महिसोथा गढको गदपति बने । सलहेस गढपति भएपछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो शैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए ।

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेस समातिएपछि मालिनी भन्ने सुन्दरीले सहयोग गर्दा सलहेस र मालिनीबीच प्रेम भएको भन्ने किम्वदन्ती रहि आएको छ । मालिनी सलहेसकै प्रतिक्षामा प्रत्येक फूल टिप्नका लागि सो फूलबारी आउने गर्थिन् । मालिनी नै सलहेशको यादमा आज पनि सो फूलबारी आउँछिन् जनविश्वास रहेको छ । त्यसैले फूलबारीलाई राजा सलहेस र मालिनी बिचको प्रेमको प्रतिकको रुपमा लिइने गरिन्छ । राजा सलहेस दलितमध्ये दुसाध जातिका भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको गहवर बनाई देउताको रुपमा पूजा गर्ने परम्परा रहि आएको छ ।

लहान नगरपालिकादेखि चार किलोमिटर पश्चिम दक्षिणमा १२ बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारनको रुखमा वैशाख १ गतेका दिन मात्र सोनाखरी फूलमाला देखा पर्छ र दिन ढल्दै जाँदा उक्त माला विस्तारै मौलाउँदै जान्छ । अचम्मको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य श्रद्धालु आउने र मेला भर्ने गर्दछन् ।

किम्वदन्तीअनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतिक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । साँचो मनले जसले भाकल गर्छ उसको मनोकामना पूरा हुने जन विश्वास छ । मेलाको दिन दर्जनौं युवायुवतीको जोडी आएर ती फूललाई साक्षी मानी प्रेम विवाह गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर