• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वर्षौदेखि तुइनकै भरमा, झुन्डिदा बाँचिन्छ, कि बाँचिदैन भन्ने डर

जाजरकोट । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।

नलगाड नगरपालिका १ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जाने गरेकी छिन् । तुइनमा झुण्डिएर जाँदा बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन् ।

ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नै पर्ने बाध्यता छ । उनीहरु मात्र हैन । वर्षौंदेखि सयौँ स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, ‘ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ’ ।

त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुण्डिएर १०० मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ ।

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ ।

भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरे पनि राजनीतिक पहँुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरवासीको गुनासो छ । उता नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए । वडा नम्वर १ को ठूलाबगर र वडा नम्वर ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन् ।

पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर