• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

थिमिका बासिन्दाले हर्षोल्लासका साथ मनाए सिन्दुर खेल्दै ३२ खट जात्रा

प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाईंदै

भक्तपुर । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर ३२ खट जात्रा अर्थात सुथ ः सिया जात्रा मनाएका छन् । थिमिको टोल टोलबाट बिभिन्नि देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पुजाआजाका साथ यो जात्रा मनाईएको हो । 

थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा सबै खट ल्याएर भव्य रुपमा यो जात्रा मनाईन्छ ।

आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।थिमिमा ३२ वटा खट सहभागि रथ बोकेर गराई परम्परागत रुपमा मनाउदै आएको  यो जात्रा बिभिन्न मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै सिन्दुर जात्रा मनाइन्छ । 

प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाईंदै

बिस्केट जात्रा अन्तर्गत मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाईंदै छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेका स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले आज दिउसो सातौ पटक सयौँ मानिसका अगाडि जिब्रो छेड्दै छन् ।

आज बिहानै जिब्रो छेड्ने कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्ने जात्रा गर्न तयार भएका छन् ।

दिउँसो बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाइ नायखि बाजागाजाका साथ जिब्रो छेड्ने ब्यक्तिलाई मञ्चमा राखिन्छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको  करिब १० इन्च लामो सुइरोले देवगणको पूजा एवम् प्रार्थना गरी सयाँै मानिसको अगाडि जिब्रो छेडिन्छ ।

जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेर जिब्रो छेड्ने ब्यक्तिले  पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबायाँ ठोकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर