• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

किन बढ्दैछ विश्वमा वृद्धवृद्धाको संख्या ?

एजेन्सी । विश्वमा बालबालिका भन्दा धेरै वृद्धवृद्धा रहेको एक तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा ६५ वर्ष भन्दा धेरै उमेरका मानिसको संख्या पाँच वर्ष भन्दा मुनिका बालबालिकाको भन्दा धेरै छ ।

यो आंकडा सन् २०१८ को हो । राष्ट्रसंघका अनुसार विश्वमा ६५ वर्षमाथिका बृद्धवृद्धाको संख्या करिब ७०.५ करोड रहेको छ । जबकी शून्य देखि चार वर्षका बच्चा करिब ६८ करोड रहेको छ ।

 यो प्रकृया जारी रहे सन् २०५० सम्म पाँच वर्ष मुनिका बालबालिका भन्दा वृद्धवृद्धाको संख्या दोब्बर हुनेछ । 

जनसांख्यिक विशेषज्ञका अनुसार मानिसको औसत आयु बढ्दै गइरहेको र मानिसहरु पहिले भन्दा धेरै बाँचिरहेका छन् त्यस अनुपातमा जन्म दर भने घट्दै गइरहेको छ । 

वाशिंटन युनिभर्सिटीमा इन्स्टीच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनका निर्देशन क्रिस्टोफर मरे भन्छन्, ‘बच्चा निकै कम हुनेछन् र ६५ वर्ष भन्दा माथिका बुढाबुढी धेरै हुनेछन्, यसले विश्व समाजको सन्तुलन कायम राख्न मुस्किल पर्नेछ ।’

उनका अनुसार विश्वमा लगभग आधा जसो देशमा जनसंख्यालाई अहिलेको आकारमा कायम राख्न पर्याप्त बच्चाहरु छैनन् । 

उनी भन्छिन्, ‘नाती नातिनी भन्दा धेरै हजुरबुवा हजुरआमा भएको समाजमा सामाजिक तथा आर्थिक परिणामको बारेमा सोचौँ त !’

विश्व बैंकका अनुसार सन् १९६० मा महिलाको औसत प्रजनन दर लगभग ५ बच्चाको थियो तर अहिले यो दर आधार भन्दा कम भइरहेको छ । त्यस्तै १९६० मा मानिसको औसत आयु ५२ वर्ष थियो । सन् २०१७ सम्म आइपुग्दा औसत आयु ७२ वर्ष पुगेको छ । मानिसको औसत आयु बढेसँगै पेन्सन, भत्ता, स्वास्थ्य सेवा लगायतको माग बढेको छ ती क्षेत्रमा दबाब बढाइरहेको छ । 

वृद्धवृद्धा मात्र धेरै हुने समस्या विकसित देशहरुमा धेरै हुने गरेको छ । कयौँ कारणले विकसित देशमा जन्मदर कम हुने गरेको छ । यो आर्थिक समृद्धिसँग जोडिएको बताइन्छ । साथै यी देशमा बाल मृत्यु–दर कम छ । जन्म नियन्त्रण सहज हुने गरेको छ भने बच्चाको पालन पोषणमा पनि कुनै कमी हुँदैन । त्यस्तै राम्रो जीवनस्तरका कारण मानिसहरु लामो समयसम्म बाँच्ने गर्छन् । 

यसको प्रमुख उदाहरण जापान हो । जहाँ मानिसको औसत आयु ८४ वर्षको छ । गएको वर्ष जापानमा ६५ वर्ष उमेर भन्दा माथिका मानिसको संख्या २७ प्रतिशत थियो । जुन विश्वको सबैभन्दा धेरै हो । राष्ट्रसंघका अनुसार जापानमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिका जम्मा ३.८५ प्रतिशत मात्र छन् । 

यस प्रकारको असन्तुलित जनसंख्या विकासशील देशका लागि पनि चुनौती हुनेछ । अर्को देश चीनमा ६५ वर्षभन्दा धेरै उमेरका मानिसको संख्या जापानमा भन्दा कम १०.६ प्रतिशत छ । त्यस्तै बच्चाहरुको संख्या ६ प्रतिशत भन्दा कम रहेको बताइएको छ । 

उच्च प्रजनन दरको मामिलामा अफ्रीकी देश अब्बल मानिन्छन् । अफ्रीकी देश नाइजरमा सन् २०१७ मा औसत प्रजनन दर ७.२ थियो । तर ती देशमा बच्चाको मृत्युदर पनि उच्च हुने गरेको छ । 

वृद्धवृद्धाको संख्या बढ्नु र बालबालिकाको संख्या घट्नुको अर्थ काम गर्नसक्ने व्यक्तिको संख्यामा कमी आउनु हो । यसले आर्थिक उत्पादकत्व घट्न सक्छ भने विकासको वाधक पनि बन्न सक्छ । गएको नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले वृद्धवृद्धाको बढ्दो जनसंख्याका कारण आगामि ४० वर्षमा जापानको अर्थव्यवस्था खुम्चिन सक्छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर