सकुम्बासीको घर भत्काएपछि दिन भर थुनिए वडाध्यक्ष

विराटनगर । वैकल्पिक व्यवस्था नगरी बस्दै आएको घर भत्काइदिएको विरोधमा स्थानीयवासिन्दाले विराटगनरको ६ नम्वर वडाका अध्यक्षसहित दुई जना जनप्रतिनिधिलाई दिनभर कार्यालयमा थुनिदिएका छन् । धुधुवा पैनीको डिलमा घर बनाएर दुःखसुख बस्दै आएका आठ परिवारको घर विराटनगर महानगरपालिकाले बिहीबार भत्काइदिएको थियो ।

सुकुम्बासीको घर भत्काउन भूमिका खेलेको आरोप लगाउँदै उनीहरुले वडा समितिको कार्यालयमा शुक्रबार तालाबन्दी पनि गरेका छन् । स्थानीय बिरु सहनी, शम्भू सहनी, नन्दकिशोर साह, दुखना कामत, शोभा गिरी लगायतको घर महानगरपालिकाका प्रमुख भीम पराजुलीको ठाडो निर्देशनमा भत्काएको वडा अध्यक्ष बिजय कामतले बताए ।

महानगरपालिकाले वडा समितिसँग कुनै समन्वय नगरी सुकुम्बासीको घर घत्काएको भन्दै अध्यक्ष कामतले भने, ‘समस्या समाधानकालागि वार्ड समितिसँग समन्वय गर्नुपथ्र्यो त्यो नगरी पञ्चायतीशैलीबाट जनताको घर भत्काउने कार्य गलत छ त्यसमा मेरोसमेत समर्थन छैन ।’
सुकुम्बासीको घर भत्काएको विरोधमा वडाका सुकुम्बासीहरुले कार्यालय घेराउ गरे । कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गर्दै भत्काएको घरको क्षतिपुर्ती दिनुपर्ने र वैकल्पिक व्यवस्था नभएसम्म बस्दै आएको ठाउँमा बस्न पाउनुपर्ने माग गरे । दुई जना जनप्रतिनिधि थुनेर स्थानीयले विरोध गरेको जानकारी अध्यक्ष कामतले महानगरपालिकामा गरेपनि प्रमुख र उपप्रमुखले कुनै सुनुवाई नगरेकोमा अध्यक्ष कामतले दुःख व्यक्त गरेका छन् ।

स्थानीय सुकुम्बासीहरुको नेतृत्व गर्दै तालाबन्दी गर्न पुगेका दिनेशकुमार कामतले संविधानले सुरक्षीत आवासको अधिकार सुनिश्चित गरेको भएपनि महानगरले जनताको घर घत्काउँदै हिडेकोमा आक्रोश व्यक्त गरे ।
स्थानीयले शुक्रबार बिहान लगाएको ताला कार्यालय समय सकिएपछि दिउँसो ३ बजे खोलिदिएका थिए ।

विराटनगरमा झण्डै चार हजार घर परिवार सुकुम्बासी छन् । उनीहरु खोलाको डिल, सरकारी जमिन, नहरको डिल र यस्तै पैनी र बस्ताको किनारमा टहरा बनाएर बस्दै आएका छन् । त्यति धेरै संख्यामा सुकुम्बासी हुँदा पनि धुधुवा पैनीको डिलमा बनेको घर मात्र भत्काउनु राजनीतिक प्रतिशोध भएको पीडितहरुले बताएका छन् । धुधुवा पैनीमा बनेका अरु २० घर भने भत्काइएको छैन ।

विराटनगर महानगरपालिकाले भने दुई महिना अघि मात्र घर बनाएर जमिन अतिक्रमण गरेका कारण हटाएको बताएको छ । पूर्व सूचना नदिई घर भत्काउने कार्यको विरोध भइरहेको भएपनि नगरपालिकाले विरोधको अर्थ नभएको र जमिन अतिक्रमण गर्न नदिने अडान राखिरहेको छ ।

उता वडा अध्यक्ष बिजय कामतले घर भत्काएपछि जनताले विरोध गरेको र काममा निरन्तर अवरोध गर्ने संकेत पाएको भन्दै समस्या समाधानकालागि छलफल अघि बढाउन महानगरपालिकाका प्रमुखसँग आग्रह गरेका छन् । उनले आइतवारपनि समस्या समाधानको पहल नभए वार्ड समितिले आफ्नै अधिकार प्रयोग गरेर वर्डा भित्रको खालिपर्ती जमिनको प्रयोग गर्ने विषयमा निर्णय लिने बताए । उनले पीडित पक्षसँग समझदारी गरेर अर्को व्यवस्था नभएसम्मकालागि सोही ठाउँमा बसोबास गर्न वार्डले नै अनुमति दिनसक्ने पनि बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर