• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रदेश १ मा थोरै संख्यामा मात्र बुझाइए हतियार

विराटनगर । गृहमन्त्रालयले ३५ दिन भित्र इजाजत नलिएका, नविकरण नगरेका र हकवालाको नामसारी नभएका हतियार बुझाउन आग्रह गरेको भएपनि प्रदेश १ मा न्युन संख्यामा मात्र हतियार बुझाइएको छ । यस अवधिमा प्रदेश १ मा ९५ थान हतियार प्राप्त भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 
प्रदेशका १४ जिल्लामै अभियानको रुपमा हतियार बुझाउने सन्देश लिएर प्रहरी परिचालन भएको थियो । अनुकुलताका आधारमा प्रहरी चौकी वा जिल्ला तथा इलाका प्रशासन कार्यालयमा हतियार बुझाउन सक्ने भएपनि थोरैले मात्र हतियार बुझाए । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इजाजत लिएर राखेको ७१ र इजाजत नभएका २४ थान हतियार सरकारलाई बुझाइएको छ ।

स्थानीय तहका तल्ला इकाइसम्म युनिट भएको प्रहरी कार्यालयहरु सरकारको यस अभियानमा सहभागि थिए । तर प्रदेश प्रहरी कार्यालयसँग प्रदेश भर कति हतियारकालागि इजाजत दिइएका छन् भन्ने कुनै तथ्यांक छैन । तथ्यांक बिना अभियानमा गएका कारण प्रभावकारी बन्न नसकेको देखिएको हो । इजाजत दिएको हतियारको विवरण नभएकै कारण कति हतियारको नविकरण भएको छ र कति संख्यामा हकवालाको नामसारी गरिएको छैन भन्ने बारेमा प्रहरी अनविज्ञ छ । जसले गर्दा अभियान प्रभावकारी नभएको हो । 

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)  केदार रिजालले इजाजत प्राप्त हतियारको विवरण आफुसंग नभएको बताए । उनले भने, ‘हतियारको विवरण जिल्ला प्रशासन कार्यालयहरुसंग छ, हामिसंग छैन ।’ सरकारले नियमित प्रकृयाको रुपमा हतियार बुझाउन आग्रह गरेको भन्दै उहाले अब इजाजत नलिएको वा नविकरण नगरी राखेको हतियार भेटिए सरकारले कानूनी कारवाही गर्ने पनि जानकारी दिए । 

मोरङमा इजाजात लिएर ७ सय २७ हतियार व्यक्तिहरुले राखेका छन् । नविकरण गराउनेको संख्या भने न्युन रहेको छ । जिल्ला प्रशासन कायार्यलयका अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा १ सय ७८ वटा र २०७४÷०७५ मा १ सय ४४ वटा मात्र हतियार नविकरण भएको छ ।

 सरकारले नविकरण नगरेका हतियार पनि बुझाउन निर्देशन दिएको थियो । नविकरण नगरेको हतियार यहि अवधिमा बुझाउनु पर्ने थियो अब नविकरण नगरेका ती हतियार अवैध भएका छन् । मोरङमा जम्मा १७ थान हतियार बुझाइएको छ । सुनसरीमा भने कसैले पनि हतियार नबुझाएको प्रहरीले जनाएको छ । 

मोरङमा एक नाले १२ बोर बन्दुक  २ सय ७२ थान,  २ नाले १२ बोर बन्दुक १ सय ४४ थान, २२ बोर राइफल ४३ थान, हवाई बन्दुक १५ थान, २५ बोर पेस्तोल २१ थान,  ३२ बोर रिभल्भर ५ थान र ३२ बोर पेस्तोल ७ थानको इजाजत दिएको भएपनि न्युन संख्यामा मात्र नविकरण गरिएको छ । 
अवैध हतियार राख्नेलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय वा ६० हजारदेखि १ लाखसम्म जरिवान वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर