• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कविता : अक्षरहरू हो अक्षरहरू !

‘क’बाट अव कलम नबनाऊ
वरु कमल बनाऊ
शासकलाई अचेल
कलम मन पर्दैन कमल मन पर्छ
अक्षरहरू हो अक्षरहरू,
तिमीहरू मिलेर यस्तो शव्द नबनाऊ
जुन शब्दले
शासकको निद्रा खल्वलियोस !

‘घ’बाट घडी नबनाऊ 
शासकहरू समयसँग पनि डराउँछन
वरु घबाट घडेरी बनाऊ
शासकहरूलाई घडेरी मन पर्छ !

अव कहिलै पनि
व’बाट नबनाउँनु
वन्दुक, वम या वारुद 
यदि त्यस्तो गर्यौ भने
वर्णमालाबाटै गायव पारिने छ( व !

अक्षरहरू हो अक्षरहरू !
’क’ बाट कलम नबनाऊ 
कविता त झनै नबनाऊ 
शासकहरू 
कलम भन्दा बन्दूक सुन्छन
कविता भन्दा खोली सुन्छन 
कलम खोलेर कागजमा
कविता लेख्दै छ भने कोही 
शासकको समझमा
ऊ राज्य विरुध्दको अपराधी हो !

अक्षरहरू हो अक्षरहरू 
तिमीहरू शान्तसँग सुत एक्ला एक्लै
तिमीहरू जुट्यौ भने शब्द बन्छ
शब्दहरू जुटे भने
कविता बन्छ र नारा वन्छ
जिन्दावाद बन्छर मूर्दावाद बन्छ
तिमीहरू शान्त बस
एक्ला एक्लै बस 
चकचक गर्न थाल्यौ भने तिमीहरू
तिमीहरूको अस्तित्वमाथि पनि
वारेन्ट जारी हुन सक्छ !

अक्षरहरू हो अक्षरहरू 
शासकहरूको मर्जी त बुझिहाल्यौ होला
वाँकि तिमीहरूको मर्जी !
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर