• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

काबुलको सूचना मन्त्रालयमा भएको आक्रमणमा ७ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा चार सर्वसाधारण र तीन प्रहरी अधिकारी रहेका छन् । आठजना सर्वसाधारण घाइते भएका छन् । शनिवार बिहान ११ : ४० बजे त्यहाँ विस्फोटन भएको सुनिएको थियो । त्यसपछि दिउँसो अबेरसम्म फाट्टफुट्ट गोली चलेको सुनियो । सरकारी पक्षले छ घण्टापछि घटना नियन्त्रणमा आएको घोषणा गर्यो । 

मन्त्रालय स्रोतका अनुसार तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए । तीनमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको उनले बताए । उनका अनुसार दोस्रो व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीले गोली हानेको थियो ।

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो । राजधानीको व्यस्त क्षेत्रमा भएको आक्रमणपछि सयौँ सर्वसाधारणलाई उद्धार गरिएको मन्त्रालयले बताएको छ । आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थान नजिकै भएको हो ।

उक्त क्षेत्रमा सेरेना होटल रहेको छ र त्यसलाई अतिसुरक्षित क्षेत्र मानिन्छ । उक्त होटलमा धेरै विदेशीहरू बस्ने गर्छन् । आक्रमणपछि सो भवनमा झन्डै दुई हजार मानिसहरू घण्टौँसम्म अलपत्र परेको र पछि उनीहरूलाई बाहिर निकालिएको बताइएको छ । 

एएफपी समाचारसंस्थाका अनुसार स्थानीय टीभीहरूले देखाएको दृश्यमा एउटा सानो धुवाँको मुस्लो निस्केको र तल्लो तहको झ्यालबाट मानिसहरू बाहिर निस्कन लागेको देखिएको थियो । त्यस क्षेत्रलाई सुरक्षाकर्मीले घेरेर राखेका थिए । घटनाको अहिले सम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर