• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कविता : हामीहरू र उनीहरू

उनीहरुको कुरा नमिलेको समाचार
राष्ट्रिय अखबारमा छापिएपछी
हामी पनि तुरुन्तै छुट्टियौ ।

फेरि अखबारले एउटा खबर छाप्यो
उनीहरु मिलेको खबर
हामी पनि न कुनै प्रश्न न कुनै सन्देह
फेरि तुरुन्तै मिल्यौ ।

उनीहरुको द्वन्द पढ्छौं
हामीहरु सडकमै झगडा गर्छौं ,
हामीहरु पनि नयाँनयाँ शव्द थुपारेर
उनीहरुलाई गाली गरिदिन्छौ ।

उनीहरु मिल्छन,
हामिहरु पनि प्रशंशाका थुङ्गाहरु जोड्दै
खुसी भएरै अङ्कमाल गरिदिन्छौ ।

यतिखेर उनीहरु , उनीहरु भएर लडिरहेका छन्
हामी, उनीहरु भएरै लडिरहेका छौं
हामी, उनीहरु भएर बाँडिएका छौं 
हामी, उनीहरु भएरै मिलिरहेका छौं ।

उनीहरु उकालो चढ्छन्
हामी पनि उकालो चढिदिन्छौ
उनिहरु ओरालो झर्छन
हामी पनि सँगसँगै ओरालो झरिदिन्छौ

उनीहरु कसैलाई गाली गर्दै कतैतिर लाग्छन्
हामी पनि सँगसँगै हिडिदिन्छौ
उनीहरु फेरि अर्कैलाई गाली गर्दैगर्दै अर्कैतिर लाग्छन्
हामी कुनै प्रश्न गर्दैनौं
सँगसँगै हिंडिदिन्छौं

उनीहरु गीत गाइदिन्छन
टेपरेकर्डले जस्तै उनीहरुकै लयमा
उनीहरु सँगसँगै हामी पनि गाइदिन्छौ ।

कवि भूपीले लेखेजस्तो
हामी क्यारेमबोर्डका गोटीमात्र पनि होइन रहेछौं
हातले समाएर हान्नै नपर्ने
उनीहरुले केही भन्नै नपर्ने
उनीहरुले ताकेको क्षितिज हेर्दै
त्यतैत्यतै हिडिदिने ।

हामी, कहिल्यै हामीहरु हुन सकेनौं
हामी पनि उनिहरुनै भयौं , मात्र उनीहरु भयौं ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर