• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अन्तरजातीय विवाहले तनाव : पानिको स्रोत नै बन्द, छोरी बेचेको आरोप ! [भिडियो]

विराटनगर । मोरङ बुढिगंगा गाउँपालिका २ सख्मा टोलका ऋषिदेव परिवार पिउने पानीको लागि गुहार माग्दै हिँडिरहेका छन् । पानीको लागि जीवनमा यतिधेरै गुहार माग्नु परेको पहिलो अनुभव हो उनीहरुको । 

धेरै वर्ष पहिले वडा समितिले दिएको ट्युवेलबाट उनीहरुले पानी पिउँथे । बाटोमा गाडिएको ट्युबेल सार्वजनिक थियो । मुसहर बस्तीका सबैले त्यहि ट्युबेल प्रयोग गर्थे । त्यो ट्युबेल २० दिनदेखि त्यहाँ छैन । स्थानीय थापा परिवारहरुको निजी जमिनमा सो ऋषिदेव बस्ती छ । ऋषिदेव परिवारका लागि त्यो जमिन पुख्र्यौली जस्तै हो । उनीहरुका थुप्रै पुस्ता त्यहीँ हुर्किए र देहत्याग पनि गरे । 

थापा परिवार र ऋषिदेव परिवारबीचको सम्बन्ध सुमधुर नै थियो । तर, पछिल्लो एउटा घटनाले दुई परिवारबीच समस्या पैदा भयो ।  जसले थापा परिवार मुसहर परिवारका लागि पिउने पानीको मुहान बन्द गरिदिने र उनीहरुलाई विस्थापन नै गर्ने योजनामा अघि बढ्यो । त्यही योजना अनुसार थापा परिवार र अरु सहयोगी समेत भएर ऋषिदेव बस्तीको ट्युबेल हटाइदिए । उनीहरुले त्यसको उजुरी प्रहरीमा दर्ता गरे अनि अर्को ट्युवेल किनेर राखे । थापा परिवारका केही सदस्यहरुले त्यो ट्युवेल पनि हटाइदिए । त्यसपछि ऋषिदेव परिवार छेउको ऋषिदेव बस्तीको ट्युवेलबाट गुजारा चलाउन थाल्यो । अहिले त्यो ट्युवेल पनि बिग्रियो । उनीहरुले पानीको लागि धेरै दुःख पाइरहेका छन् । 

ऋषिदेव परिवारमध्येकी खकरी ऋषिदेवले पानी खान पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । उनीहरुले गाउँपालिकामा पनि उजुरी गरे । वडा अध्यक्षसँग पनि गुनासो गरे । वडा अध्यक्ष रेवती नारायण चौधरीले कानूनको शासनले चलेको देशमा पानीको मुहान बन्द गर्ने अधिकार कसैलाई छैन भन्दै मुसहर समुदायको पक्षमा सहयोग गरे । तर थापा परिवारका अगाडी उनको पनि जोड चलेको छैन । 

थापा परिवारले मुसहर परिवारको पानीको मुहान बन्द गरिदिने घटनाको पछाडी अन्तरजातीय विवाह मुख्य कारणको रुपमा देखिएको छ । यो वर्षको एसइई परिक्षा सकिएको अन्तिमदिन चैत १८ गते स्थानीय सनी ऋषिदेव र सिर्जना थापा मगर दुवै हराए । उनीहरुबीच प्रेम सम्वन्ध रहेको गाँईगँुई हल्ला पहिलेदेखिनै गाउँमा चलेको थियो । विगतमा ठाकुर ऋषिदेव र रामु थापाबीच सुमधुर सम्बन्ध पनि थियो । ठाकुरका छोराले रामुको छोरी भगाएर लगेपछि भने उनीहरुबीचको सम्बन्ध शत्रुवत हुनपुग्यो । 

सुरुवाती दिनबाटै थापा परिवारले ऋषिदेव परिवारलाई छोरा खोजेर ल्याउन विभिन्न दवाव दिदैं आएको थियो । सनी ऋषिदेवका मामा दिपनारायण ऋषिदेव भन्छन्– ‘दुई जना भागेपछि धेरै दवाव दिए, कतिपटक आक्रमण पनि गरेँ । अहिले त पानी पिउनै नदिएर ठुलो अन्याय गरिरहेका छन् ।’

वडा अध्यक्ष चौधरीले पनि मुसहर समुदायमाथि पटक पटक कुटपिट भएको बताए । सानो जातको केटाले मगरकी छोरी भगायो भन्ने अभियोगमा भएको कुटपिट र पानीको स्रोत नै बन्द गरिदिनेसम्मका घटना मानवअधिकार विपरित भएको भन्दै आफ्नै पहलमा प्रहरीमा छलफल बोलाएको चौधरीले बताए ।


 
यतिबेला सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेव त्यहाँबाट विस्थापित भएका छन् । पटक पटक कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि छोरा खोज्न भनेर हिँडेका उनीहरु घर फर्किएका छैनन् । ठाकुरको घर यतिबेला खाली छ । तीन साता अघि गाउँमा ठूलै झडप भयो । घटनामा दश जनाजति घाइते भए । थापा परिवारका घाइते छ जनाजति थिए, ऋषिदेव परिवारका पाँच । थापा परिवारको प्रभावमा रहेको सो गाउँमा एक दिन राती छलफल बोलाइयो र धम्की दिइयो । त्यसपछि सबै थापा परिवारको उपचार खर्च मुसहर परिवारले नै ब्यहोरे । घाइते भएका मुसहर परिवार प्राकृतिकरुपमै निको भए । त्यहाँ आक्रमण गर्न थापा परिवार नै गएका थिए उनीहरुले प्रतिकार मात्र गरेका थिए तर रकम मुसहर समुदायलाई नै तिराइयो । त्यतिबेला करिव १३ हजार रुपिँया तिर्नुपरेको थियो । 

सिर्जना थापा मगरका बाबु रामु थापाले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताउँछन् । ‘हामीबीच दाजुभाईको सम्बन्ध थियो, दुवै घरमा आउनेजाने थियो,’ रामुले भने– ‘मेरो छोरी भगाएर लगेपछि खोजेर ल्याउन भन्यौं तर यिनीहरु मान्दैनन् ।’ 

थापा परिवारले ऋषिदेव परिवारलाई छोरी बेचिदिएको आरोप लगाएर तनाव दिने गरेको छ । सोही आरोप लगाएर उनीहरुले खानेपानीको ट्युवेल भत्काइदिएका हुन् । ‘हाम्री भाञ्जीलाई भारतमा लगेर बेचिदिएको आशंका छ तर त्यसै कारणले हामीले पानी पिउन नदिएको भने होइनौं,’ सिर्जनाका मामा पर्ने धिरेन्द्र थापाले भने– ‘हामीलाई ट्युवेल हटाएको आरोप लागेको छ त्यसमा सत्यता छैन ।’ उनले सो जमिनमा उद्योग स्थापना गर्न लागेकोले बस्ती र ट्युवेल हटाउनै पर्ने अवस्था रहेको बताए । 

इलाका प्रहरी कार्यालय नेमुवामा सो विषयमा सोमबार छलफल भएको छ । अबेरसम्म छलफल निष्कर्शमा पुगेको छैन । दिनभरीको छलफल पानी पिउन पाउनु पर्छ भन्नेमै केन्द्रीत थियो । इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जिल्ला प्रहरी कार्यालयले घटना छानविन गरिरहको र आफुले छलफलको समन्वयमात्र गरिदिएको भन्दै प्रतिकृया दिएनन् । प्रहरीले सुरक्षा नदिएको र समयमा उजुरी नसुनेको गुनासोको विषयमा पनि जवाफ नदिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर