• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने...

झापा । सहकार्य अर्थात सहकारिताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो ।

पछिल्ला दिनहरुमा सहकारीका माध्यमबाट स्वावलम्बि बन्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । झापा गौरादहका बाघविर राईले गौरादहकै एक सहकारीबाट केहि कर्जा लिए र उनले तालिम समेत पाए । उनले सहकारीबाट लिएको कर्जालाई कृषि क्षेत्रमा लगाए र राम्रो प्रतिफल पनि पाए । उनले आफ्ना छोराछोरी पढाउन शैक्षिक कर्जा पनि लिए । उनले आफ्नो छोरीलाई सहकारीबाटै शैक्षिक कर्जा लिएर बिएस्सी नर्सिङ्ग पढाए । उनले क्रमश गरेर ऋण चुक्ता गरे ।

बाघबिर राईजस्तै गौरादहकै जयप्रसाद चुडालले पनि एक सहकारीबाट कर्जा लिएर कृषि र पशुपालन क्षेत्रमा लगानी गरे । जहाबाट उनले राम्रै प्रतिफल पाएको उनी सुनाउँछन् । पहिला आफ्नो जग्गा अर्कैलाई ठेक्कामा दिएका उनले पछि त्यो जग्गामा पशुपालन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेर आफू सफलतामा पुगेको अनुभव उनले समाचार दैनिकलाई सुनाए । 

उल्लेखित पात्रहरु उदाहरणका पात्र मात्र  हुन् । यसरी सहकारीको माध्यमबाट नै आफ्नो जीवनस्तर उक्सिएका धेरै नागरिक छन् । उनीहरु भन्छन्–‘सहकारी संस्था भनेको ‘‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’’ भनेजस्तै हो ।’

सहकारी सहकार्यात्मक कार्य सस्ंकृतिको आधार हो । व्यक्तिहरूका साझा लक्ष्य भेटाउने बाटो वा गोरेटो हो । समुदायका व्यक्तिका आकांक्षा र आवश्यकता मेटाउने साधन हो । पारस्परिक रूपमा हित प्रवद्र्धनका लागि एक आपसमा जुट्ने माध्यम हो । सहकारीको सिद्धान्त अनुसार पूँजी लगानी गर्ने सबै सदस्यहरू मालिक हुन पाउने संयन्त्र हो ।

सहकारीमा आवद्ध सबै सदस्यहरूको सामूहिक लाभका लागि सदस्यहरूमार्फत रचनात्मक र सिर्जनात्मक कार्य गराउने मेलो हो । सीमित तथा न्यून पूँजी हुने व्यक्तिहरूलाई पनि केही न केही नविन कार्य गर्न उत्प्रेरित गर्ने उत्प्रेरक थलो हो । सदस्यहरूको अग्रसरता र स्वामित्वमा स्थापना हुने सदस्यहरूकै रेखदेखमा सञ्चालन हुने तथा आर्जित लाभको उपभोग पनि सदस्यहरूले नै सदस्य केन्द्रित एवम् प्रजातान्त्रिक कार्य संस्कार सहितको संरचना हो ।

तर, पछिल्ला दिनहरुमा च्याउसरी उम्रिएका सहकारी सेवामुखी भन्दापनि नाफामुखी बन्न थालेपछि वास्तबिक केहि गरौं भनेर लागिपरेका सहकारीहरुलाई समेत अफ्ठ्यारो परेको दमक ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालको बुझाइ छ ।

सहकारी संस्थाहरु गरिबी निवारणको सारथी बनिरहेका समयमा कतै सहकारीले आफ्ना सदस्यबाट करोडौं रकम उठाएर भागेका घटनाले अन्य सहकारीहरु मकैमा घुन पिसिएझै पिसिनुपरेको गौरादह १ मा रहेको शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष फणिन्द्रराज दाहाल बताउँछन् ।

सबै तस्बिरहरू ः सुदिप अधिकारी/ झापा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर