• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुडानमा सेना र विपक्षीबीच सहमति, तीन वर्षभित्र नागरिक हातमा सत्ता

Photo : Web

खार्तुम । सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।

सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो । तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद गठन गरी सरकार सञ्चालन गरिरहेका छन् ।
 
दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । साथै वार्तामा पनि गतिरोध आएको थियो ।

करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले सङ्क्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् । 

सैनिक परिषदका एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको सङ्क्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिए । 

जनरल आताले शक्ति बाँडफाँडको विषय सहित आगामी सरकार गठन गर्ने बारे एक दुईदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताए ।

प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे । तर उनले सैनिक परिषदसँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिए ।
 
सैनिक परिषदले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रहरु जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर