• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

‘हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छौं’ : ईश्वर पोखरेल

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राखेका हुन् । विश्वमा भएका घटना नेपालमा पनि दोहोरिन सक्ने भन्दै उनले विचारको स्पष्टतालाई नेतृत्वले विशेष महत्व दिनुपर्नेमा जोड दिए । उनले विचारमा स्पष्ट हुन नसके कम्युनिष्ट पार्टी एकताबद्ध भएर ठुलो बनेपनि निर्णायक जीत हासिल गर्न नसक्ने तर्क गरे । उनले भने– ‘संसारमा हामीले देख्यौ कम्युनिष्ट पार्टीहरु ठुला ठुला बने । राज्यसत्ता कब्जा गरे । शासन संचालन गरे । तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढले जस्तो भएर ढले । हाम्रो एकतावद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।’

आर्थिक विकास र सम्मृद्धिको कुरा गरिरहदा ठोस नीति, कार्यक्रम, योजना र आचरण स्पष्ट हुनुपर्नेमा उनले जोड दिए ।  राजनीतिक कार्यदिशाले सम्बोधन गर्ने विषय सार्थक ढंगले आउन नसके पार्टी एकढिक्का भएपनि दिशाहिन अवस्थामा पुग्ने उनको तर्क थियो । 

उनले भने–‘हाम्रो पोलिटिक्स अब आर्थिक विकास र सम्मृद्धिमा कसरी केन्द्रीत हुने हो ? यसको बारेमा छलफल हुनुपर्दछ । यदि यो छलफल भएर हामी ठिक ढंगले निष्कर्षमा पुग्न सकेनौ भने बास्तवमा हामी न हाँसको चाल न कुखुराको चाल हुन पुग्छौं । त्यो र्दुभाग्यपुर्ण स्थिति आउन दिन हुदैन ।’ विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने र अन्तत कम्युनिष्ट पार्टीले नै दुरगति भोगनुपर्ने भन्दै उहाँले त्यसतर्फ सधै चनाखो हुनुपर्ने आवश्यकता औंल्याए । 

उनले भने– ‘हाम्रो राजनीतिक कार्यदिशासंग गासिएका कुराहरुमा हाम्रो स्पष्टताको जरुरत छ । विचारको मामिलामा हामी स्पष्टताका साथ अगाडि बढ्नु पर्दछ । राजनीतिक कार्यदिशाका सन्र्दभमा पनि स्पष्टता हासिल गरेनौ भने हामी अलमलमा पर्छौ । अलमलमा परेको कम्युनिष्ट पार्टी दुरगति भोग्नु बाहेक अर्को उपलब्धि हुन सक्दैन । र हामी दुरगतिलाई स्वीकार गर्न सक्दैनौ ।’

उनले विगतको अभ्यास भन्दा फरक अभ्यास र प्रणालीबाट अघि बढ्नुपर्ने भएकाले संगठनात्मक सदृढताको खाँचो औंल्याए । उनले भने–‘श्रृंखलावद्ध कमिटी प्रणाली नहुने हो भने कम्युनिष्टहरु भीडमा शक्ति प्राप्त गर्न सक्दैनन् । संगठनमा मात्रै शक्ति प्राप्त गर्छन् । र यो संगठन भनेको श्रृंखलावद्ध कमिटी प्रणालीमा प्रकट हुन्छ । प्रकट हुनुपर्दछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर