• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

उपराष्ट्रपतिसँग कान्सु प्रान्तका गभर्नरको भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गरेका छन् । बुधबार (आज) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग कान्सुका गभर्नर रेन्जियानले शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताए । उनले दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको बताए । उनले नेपाल चीनबीचको सम्बन्ध घनिष्ठ रहेको र जनस्तरसम्म फैलिएको बताए ।

भेटमा उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताए । उनले नेपालको विकास र समृद्धिको यात्रामा असल छिमेकी भएको नाताले चीनको सदैव साथ सहयोग रहने अपेक्षा व्यक्त गरे । उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण विकासको प्राथमिकतामा रहेको बताए । 

‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ’, उपराष्ट्रपतिले भने, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।’

उपराष्ट्रपतिले गभर्नरसँगको भेटमा केहीं समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण अत्यन्त सफल भएको बताए । उनले नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट बढी लाभ लिन खोजेको बताए । उपराष्ट्रपतिले नेपालबाट चीनको उच्चस्तरीय भ्रमण भइरहेको बताउनुहुँदै दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनुपर्ने बताए । उनले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको उल्लेख गर्नुहुँदै चिनियाँ नागरिकहरुलाई भ्रमणका लागि आमन्त्रण गरे ।

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पूरानो भएको बताए । उनले चीन र नेपालले विकासका लागि सहकार्य गर्नुपर्ने बताए । 

गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताए । उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए । उनले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताए ।

कान्सुका गर्भनर रेन्जियानले नेपालको कृषि व्यवसायलाई आधुनिकीकरणका लागि नमूना उत्पादनमा सहयोग गर्ने बताए । ‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ । त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ । कान्सुको कृषि प्रविधि अति उच्च छ । हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ,’ उनले भने, ‘केही महिनामा हामीले कृषिमा मोडन उत्पादन गर्न सक्छौँ ।’ 

उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर रेन्जियानसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर